|

भद्रपुर (झापा) : झापामा मध्यावधि निर्वाचनको तयारी थालिएको छ। जिल्ला निर्वाचन कार्यालय र मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति झापाले मध्यावधि निर्वाचनको तयारी थालेको हो।

सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मिति तोकेसँगै निर्वाचन आयोगले जिल्ला कार्यालयहरूलाई पुस १६ देखि नै कार्य तालिकासहित तयारीमा जुट्न पत्राचार गरिसकेको छ।

सोही पत्राचार बमोजिम झापामा मध्यावधि निर्वाचनको तयारी थालिएको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए। त्यसै बमोजिम शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालय झापामा बसेको मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले विभिन्न निर्णय गरेको छ।

२०७४ सालको निर्वाचनपछि जिल्लामा देखिएका जटिल मतदान स्थलहरूलाई संशोधन गर्ने बैठकले निर्णय समेत गरेको छ। झापाका १५ वटा स्थानीय तहमध्ये चारवटा स्थानीय तह बाह्रदशी गाउँपालिका, कमल गाउँपालिका, अर्जुनधारा नगरपालिका र शिवसताक्षी नगरपालिकामा मतदान स्थल थप गर्ने निर्णय गरिएको कार्यालय प्रमुख नेपालले बताए। चारवटा मतदान स्थल थप्ने र एउटालाई समायोजन गर्ने निर्णय भएको उनले बताए।

उनका अनुसार बैठकले बाह्रदशी गाउँपालिका–७ स्थित डाँगीबारीमा रहेको संयुक्त वडा कार्यालयलाई गौरीशङ्कर मावि कायम गर्ने र सोही वडाको बिरिङ नदी पश्चिमतर्फका मतदाताका लागि पशुपति आधारभूत विद्यालयलाई मतदान स्थल कायम गर्ने निर्णय गरिएको छ।

शिवसताक्षी–१० को कनकाई नदी पूर्व ट्याक्क्रा मतदान स्थललाई सोही स्थानमा रहेको दीपेन्द्र आधारभूत विद्यालयलाई कायम गर्ने र कमल गाउँपालिका–५ सिम्लेका मतदातालाई छुट्टै मतदान स्थल तय गरिने निर्णय गरेको छ।

त्यस्तै, अर्जुनधारा नगरपालिका–४ स्थित दहीझोडाका मतदाताका लागि लक्ष्मी आधारभूत विद्यालय, मेचीनगर नगरपालिका–१० को पुरानो मतदान स्थल कृषि विकास बैंकको साटो सोही स्थानमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ मतदान स्थल कायम गर्ने निर्णय गरिएको छ। 

बैठकमा निर्णय गरिएका मतदान स्थलहरूलाई प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको संयोजकत्वमा रहेको मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले निर्वाचन आयोगलाई सिफारिस गर्ने जनाइएको छ।

जिल्लाका अन्य मतदान स्थललाई यथावतै राख्ने सर्वसम्मत निर्णय गरिएको छ। साथै, माघ १५ देखि २१ सम्म मतदाता नामावली अद्यावधिक गर्ने समेत बैठकले निर्णय गरेको छ। उक्त सात दिनभित्र झापाका १५ वटै स्थानीय तहमा मतदाता नामावलीमाथि दाबी विरोध गर्ने कार्य तालिका रहेको बताउँदै कार्यालय प्रमुख नेपालले बताए। उनले भने, ‘दाबी विरोधपश्चात् फागुन २१ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने छौं।’

२०७४ सालको निर्वाचनमा झापामा २८३ वटा मतदान स्थल र ६९२ वटा मतदान केन्द्र राखिएको थियो। जिल्लामा २०७४ भदौ २० गते ५ लाख ८५ हजार २३६ जना मतदाता रहेकोमा २०७७ पुस ५ सम्म ६ लाख १३ हजार ३१२ जना मतदाता रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी प्रकाश न्यौपानेले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.