|

काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमनविरुद्ध संयुक्त जनआन्दोलन निर्माणको प्रयास गरिरहेको बताएका छन्।

पछिल्लोपटक गरिरहेको राजनीतिक भेटघाटबारे ट्विटरमार्फत् प्रट्याउँदै भट्टराईले प्रतिगमनविरुद्ध संयुक्त जनआन्दोलन निर्माणका लागि प्रयास थालेको बताएका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आफूले पूर्वप्रधानमन्त्री तथा दलका नेताहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतसँग भेट गरेको जानकारी दिएका छन्। साथै, उनले यस प्रकारको भेट गरिरहने पनि उल्लेख गरेका छन्।

‘अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने बेला आएको छ,’ ट्वीटमा उनले लेखेका छन्, ‘यसै क्रममा मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयास स्वरूप पूर्व प्रम र दलका नेताहरू शेरबहादुर देउवा, माधव नेपाल, प्रचण्डलगायत अन्य नेताहरूसँग भेटघाट गरेको हुँ। गर्दै रहनेछु।’

भट्टराईले प्रतिगमनविरूद्ध नेपाली कांग्रेस‚ प्रचण्ड(नेपाल समूह र जनता समाजवादी पार्टीको एक्लाएक्लै विरोध प्रदर्शनमा जनसहभागिता राम्रै भए पनि जनताको वितृष्णा, भूराजनीतिक जटिलता र प्रतिगमनकारीको भित्री बाहिरी सेटिङलाई कम नआँक्न आग्रह गरेका छन्।

‘ओलीप्रतिगमन विरूद्ध नेका,प्रचण्ड–माधव नेकपा र जसपाका एक्लाएक्लै जनप्रदर्शन राम्रै देखिएका छन्,’ उनले ट्विटमा लेखेका छन्, ‘तर आ–आफ्ना ऐनामा हेरेर मक्ख नपरौं। आम जनताको वितृष्णा, भूराजनीतिक जटिलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिङलाई कम नआँकौं। एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चड्ने? सोचौं।’

भट्टराईले शुक्रबार नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा समसामयिक विषयमा छलफल भएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.