|

मुगु : जिल्लाको उत्तरी सोरु गाउँपालिका-५ जिमामा सोरु तातोपानी छ। यहाँ स्नान गर्दा विभिन्‍न रोग निको हुने  विश्वासले विभिन्न जिल्लादेखि मानिसहरू यहाँसम्म आउने गर्दछन्।

यहाँ स्नान गरे बाथ रोग, छाला चिलाउने, अनुहारको चाया पोतो पेटसम्बन्धी रोग निको हुने जनविश्वास छ।

सामान्य बिरामी, शरीर दुख्ने, टाउको दुख्ने शरीरका गाँठागुठी दुख्ने बिराम लागे सोरु तातोपानी कुण्डमा स्नान गरेमा निको हुने स्थानीय बताउँछन्।

सोरु तातोपानी कुण्ड जुम्ला तातोपानीभन्दा राम्रो भएको जानकारहरू बताउँछन्। स्नानका लागि यहाँ जिल्लाभित्र मात्र नभई जिल्ला बाहिर, जुम्ला, हुम्ला, बाजुरा कालीकोट, दैलेख लगायतका पर्यटक आउने गरेका स्थानीय हर्क जैशीले बताए। विशेषगरी बुढापाकाहरूलाई तातोपानीले धेरै फाइदा गरेको जैसीको भनाइ छ।

यहाँ तल कर्णालीको छालनजिकै तातोपानीको पोखरी छ भने त्यसमाथि दुईवटा धारा निर्माण गरिएका छन्। तर, तातोपानी कुवा र बनाइएका धारा व्यवस्थित छैनन्।

पोखरी पनि ठूलो हुनुपर्ने र धारा पनि महिला पुरुष फरक हुनुपर्ने तातोपानी स्नान गर्न गएका अजबहादुर शाहीले बताए। पोखरी पनि व्‍यवस्थित नभएको र एउटा धारामा पानी नआउने भएकाले सबैले यस्ता पर्यटकीय क्षेत्रको संरक्षण गर्नुपर्ने शाहीले बताए।

यो तातोपानी कुण्ड प्रमुख पर्यटकीयस्थल भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा छ। मुगुमा रारा मात्रै हैन सोरु तातोपानी कुण्ड पनि छ। सोरु तातोपानीमा पर्यटक भित्र्याउन सोरु गाउँपालिकाले  खासै चासो देखाएको पाइँदैन।

यसैबीच अर्को रोचक कुरा सोरु तातोपानीमा विभिन्न समयको पूर्णिमाको अवसर पारेर तातोपानीमा मेला लाग्ने गर्दछ। विशेष गरी भलो पूर्णिमामा विशेष मेला लाग्ने र देउडा लगायतका कार्यक्रम गरी रमाइलो गर्ने गरिन्छ  तातोपानीमा, वैशाख पूर्णिमा, साउन पूर्णिमा र भैलो पूर्णिमालगायत समयमा मेला लाग्ने गर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.