काठमाडौं : भारतको सिरम इन्स्टिच्युटबाट उत्पादित कोभिड-१९ विरुद्धको खोप नेपाल सरकारले लगाउन अनुमति दिएसँगै अन्य दुई कम्पनीलाई प्रयोगको अनुमति दिनलाई क्लिनिकल ट्रायल र आपतकालीन प्रयोगको कागजात माग गरेको छ।
चिनियाँ कम्पनी सिनोफार्म र भारत बायोनेटेक कम्पनीले खोप प्रयोगको लागि अनुमति माग गरेको हो। भारतीय कम्पनी सिरम इन्स्टिच्युटसँगै ती कम्पनीले अनुमतिको लागि कागजात पेश गरे पनि आधिकारिक माग गरेबमोजिम कागजात नपुगेकोले अनुमति दिनको लागि ढिलाई भइरहेको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले जानकारीले दिए।
उनका अनुसार दुवै कम्पनीले आपतकालीन अपुष्ट कागजात पेश गरेका छन्। प्रवक्ता केसीले भने,'क्लिनिकल ट्रायलको लागि कागजात पेश गरेका छैनन्। सम्बन्धित मुलुकले आपतकालीन प्रयोगका लागि खोपलाई अनुमति दिएको हुनुपर्छ।'
विभागले दुवै कम्पनीलाई कागजात अपुग भएको जानकारी गराइसकेको छ। थाहाखबरसँग टेलिफोनमा कुरा गर्दै प्रवक्ता केसीले भने,' चाँडै कागजात पेश गरेमा उनीहरुले प्रयोगको अनुमति पाउँछन्। कति खोपको संख्या प्रयोग गर्ने भनेर उल्लेख गरेका छैनन्।'
नेपालले हालसम्म सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित 'कोभिशिल्ड' खोपलाई मात्र आपत्कालीन उपयोगको सशर्त अनुमति प्रदान गरेको छ। भारत सरकारले अनुदानस्वरूप १० लाख डोज खोप प्राप्त गरिसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।