|

काठमाडौं : सुदूरपश्चिम प्रदेश काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ।

शनिबार मूलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेशसँग ६ विकेटले पराजित हुँदै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको हो। लगातार तेस्रो हार व्‍यहोर्दै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको हो। सुदूरपश्चिमले दिएको ६३ रनको सामान्य लक्ष्य लुम्बिनीले १४।४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।

उसका लागि कप्तान कृष्ण कार्कीले १५ रन बनाउँदा सौरभ खनाल १८ र प्रकाश केसी १७ रनमा अविजित रहे। बलिङमा सुदूरपश्चिमका शेर मल्लले २ विकेट लिँदा विनोद लामाको नाममा एक विकेट रह्यो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २७ ओभर ४ बलमा अलआउट हुँदै ६२ रन बनाएको थियो।

सुदूरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक १७ रनको योगदान दिए। कप्तान सन्तोष भट्टले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। सुदूरपश्चिमका तीन खेलाडी शून्यमा आउट भए।

सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका कप्तान कृष्ण कार्कीले ४ विकेट लिए। यस्तै अनिल खरेल र विक्रम भुसालले २–२ विकेट लिँदा सन्दीप सुनार र दीपेन्द्र रावतको नाममा एक–एक विकेट रह्यो। जितसँगै समूह ‘बी’ को लुम्बिनीले दोस्रो स्थानमा उक्लिएको छ। उसले ३ खेलमा ४ अंक जोडेको छ।

प्रतियोगितामा अंकविहीन सुदूरपश्चिम पहिलो खेलमा बागमती प्रदेशसँग १८० रनले पराजित भएको थियो भने दोस्रोमा पुलिससँग ९ विकेटले हारेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.