निर्वाचनकै पक्षमा राप्रपा

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्रको विवाद थेग्न नसकेपछि पुस ५ गते प्रतिनिधिसभा भंग गरे। नेकपाभित्र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफूविरुद्ध मोर्चाबन्दी गरेर आफूलाई काम गर्न नदिएको प्रधानमन्त्री ओलीले बताउँदै आएका छन्। 

प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक ठहर गर्दै प्रचण्ड–माधव समूहको नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्टिय प्रजातन्त्र पार्टी राप्रपालगायत सबै साना दलले विरोध गरिरहेका छन्। संसद् पुनःस्थापना गराउनुपर्ने मागसहितको मुद्‍दामा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ। 

तर, संसद विघटनपछि प्रधानमन्त्री ओली पक्षको नेकपा निर्वाचन हुने दाबीसहित तल्लो तहसम्म निर्वाचनको तयारीमा जुटेको छ। यता, प्रचण्ड–माधव समूहको नेकपा संसद् पुनःस्थापना गराउनका लागि दबाव स्वरूप सडक आन्दोलनमा उत्रिएका छन्। 

 प्रचण्ड–माधव समूहले शनिबार पनि व्यापक रूपमा काठमाडौंमा जनप्रदर्शन गरेको छ। प्रदर्शनको क्रममा अध्यक्षद्‍वय प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री ओलीले तानाशाही भएकाले ओलीविरुद्ध सडक आन्दोलनमा जान बाध्य भएको बताए। 

‘ओली र उनीनिकट मान्छेले सेटिङको कुरा गरिरहेका छन्। तर, हामीले जनताको बलबाट सेटिङ भत्काउन आवश्यक छ। षड्यन्त्रकारी सेटिङ भत्काएर जनताको सेटिङ स्थापित गर्न चाहन्छौँ। हामीले अदालत र निर्वाचन आयोगमा गएर पनि भनिसकेका छौँ’ अध्यक्ष दाहालले शनिबारको भेलालाई सम्बोधन गर्दै भने, हामीले पूर्णरूपमा विश्वास गरेका छौँ। जनताको जित सुनिश्चित गरेका छौँ। ओलीलाई सुधार्न नसकेपछि हामीले जनतालाई गुहारेका छौँ।’

‘केपी र उनको गुटलाई चुनौती दिन्छु एउटालाई छोएर देखाऊ, गणतन्त्रको आन्दोलनमा जसरी साथ दिनुभयो। अहिले पनि लाग्नुहोस्। भोलि पनि जनताको सरकार आउनेछ। त्यो सरकारले ओलीलाई र त्यसको पक्षलाई गर्नेछ’  अर्का अध्यक्ष नेपालले भने। 

अर्थपूर्ण भेटवार्ता 

प्रधानमन्त्री ओलीले संसद् भंग गरेपछि तरंगित भएको नेपाली राजनीतिमा अर्को अर्थपूर्ण भेटवार्ता भएको छ। शुक्रबार प्रचण्ड–माधव पक्षको व्यापक जन प्रदर्शनपछि उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा अध्यक्ष प्रचण्ड र जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच अर्थपूर्ण भेटवार्ता भएको हो। 

भृकुटीमण्डपमा शुक्रबार भएको विरोध सभा लगत्तै प्रचण्ड र भट्टराई उपराष्ट्रपति निवास पुगेका थिए। उपराष्ट्रपति निवास लैनचौरमा तीन जना बीच आधा घण्टाभन्दा बढी भेट भयो। 

ओली प्रतिगमनविरुद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप अध्यक्षद्धय प्रचण्ड, नेपाल, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतको नेताहरुसँग भेटवार्ता गरेको जसपाको संघीय परिषद् अध्यक्ष भट्टराईले बताएका छन्।

अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने बेला आएको समेत उनले बताएका छन्। अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने बेला आएको छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसै क्रममा मैले ओली प्रतिगमनविरुद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप पूर्व-प्रम र दलका नेताहरू शेरबहादुर देउवा, माधव नेपाल, प्रचण्डलगायत अन्य नेताहरूसँग भेटघाट गरेको हुँ। गर्दै रहनेछु।’

संयुक्त आन्दोलनबारे छलफल तीव्र 

प्रतिनिधिसभा विघटनविरुद्धको संयुक्त आन्दोलनको विषयमा छलफल जारी रहेको स्थायी कमिटी सदस्य रघुजी पन्त बताउँछन्। ‘हामीले एक्लै आन्दोलन गरिरहेका छौँ। प्रभावकारी बन्दै गइरहेको छ’ उनले भने, ‘संयुक्त आन्दोलन चलाउन विषयमा सबै दलसँग छलफल चलिरहेको छ।’

संयुक्त आन्दोलनमा जानको लागि कांग्रेस अझै तयार नभएको उनले बताए। ‘हामी आन्दोलनलाई प्रभावकारी रूपमा चलाइरहेका छौँ। सबैले आआफ्नो ढंगबाट चलाइरहेका नै छन्। हामीले संयुक्त रूपमा जाऔँ भन्न खोजेको हौँ’ उनले थपे, ‘छलफल जारी नै छ। र, हाम्रो आन्दोलन पनि।’ 

कांग्रेसमा स्पष्ट दुई धार

प्रतिनिधिसभा विघटन भएपछि नेपाली कांग्रेसमा पनि स्पष्ट रूपमा दुई धार देखिएको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फरक मत देखिएको छ। 

सभापति देउवा अदालतमा पुगेको विषयमा दबाब दिन नमिल्ने भन्दै आफू निकटका कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिइरहेका छन्। तर, वरिष्ठ नेता पौडेल भने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको दाबी गर्दै सडक आन्दोलनलाई बलियो बनाउनुपर्ने पक्षमा अडिग छन्। 

संसद् पुनःस्थापना भए पनि या नभए पनि कांग्रेसलाई स्पष्ट रुपमा नेकपा विभाजनको फाइदा पुग्ने देखिन्छ। त्यसैले देउवाले संसद् पुनःस्थापनाभन्दा निर्वाचन नै रुचाएका उनीनिकट स्रोतका नेता बताउँछन्। 

नेकपा अझै औपचारिक रूपमा विभाजन भइनसकेको हुनाले संयुक्त आन्दोलनको सम्भावना नरहेको नेपाली कांग्रेसको सहमहामन्त्री प्रकाश शरण महत बताउँछन्।

‘अहिले उनीहरुले पनि आफ्नो ढंगले आन्दोलन गरिराख्नुभएको छ। हामीले पनि गरिरहेका छौँ। अब सर्वोच्च अदालतको हातमा निर्णय पुगेको छ’ उनले भने, ‘त्यसैले नेकपाभित्रको विवादमा हामी अहिले जाँदैनौँ। हामी आफ्नै ढंगले आन्दोलनलाई जारी राख्छौँ।’ 

जसपामा पनि दुई मत 

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि जनता समाजवादी पार्टी जसपामा पनि दुई धार देखिएको छ। संसद पुनःस्थापनाको पक्षमा लाग्ने वा निर्वाचनको पक्षमा जाने भन्ने विषयमा जसपामा दुई धार देखिएको हो। 

संसद् पुनःस्थापनाको पक्षमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष भट्टराई पक्षका नेताहरू छन्। तर, पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षका नेताहरू सर्वोच्चको विचाराधीन मुद्दा भएकाले निर्वाचनको तयारी थाल्नुपर्ने पक्षमा देखिएका छन्। 

ओली प्रतिगमनविरुद्ध नेपाली कांग्रेस, प्रचण्ड–माधव नेकपा र जसपाका एक्लाएक्लै जनप्रदर्शन राम्रै देखिएको अध्यक्ष भट्टराईले बताइरहेका छन्।  आन्दोलन प्रभावकारी बन्दै गइरहेको भएपछि आ-आफ्ना ऐनामा हेरेर मक्ख पर्न नहुने तर्क गरिरहेका छन्। 

‘ओली प्रतिगमनविरुद्ध नेका, प्रचण्ड–माधव नेकपा र जसपाका एक्लाएक्लै जनप्रदर्शन राम्रै देखिएका छन्। तर, आआफ्ना ऐनामा हेरेर मक्ख नपरौँ!’ उनले भनेका छन्, ‘आम जनताको वितृष्णा, भूराजनीतिक जटिलता र प्रतिगमनको भित्री बाहिरी सेटिंगलाई कम नआँकौं। एक्लाएक्लै खाल्डोमा जाकिने कि संयुक्त संघर्षको ढुंगा चड्ने? सोचौं!’​

निर्वाचनकै पक्षमा राप्रपा 

प्रतिनिधिसभा विघटनविरुद्ध चौतर्फी रूपमा आन्दोलन भइरहेका बेलामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भने निर्वाचनको पक्षमा देखिएको छ। नेकपाले दुईतिहाइ बहुमत पाउँदासमेत जनताको पक्षमा काम गर्न नसकेपछि अहिलेको परिस्थिति देखा परेको राप्रपाको प्रवक्ता मोहन श्रेष्ठ बताउँछन्। 

'नेकपाले दुईतिहाइ बहुमत पाउँदासमेत जनताको पक्षमा काम गर्न सकेन। त्यसैले अहिलेको परिस्थिति आयो' उनले भने, 'अब हामी संसद् पुनःस्थापना भन्दा पनि नयाँ जनादेशमा जाने निर्णयको पक्षमा छौँ।'

सर्वोच्च अदालतमा रहेको विषयमा बाहिरबाट कुनै दबाब दिनु नहुने उनले बताए। 'संसद् पुनःस्थापना हुने नहुने सर्वोच्चको हातमा छ। हामीले त्यसलाई दबाब दिन मिल्दैन' उनले भने,' हामीले हिन्दु राष्ट्र पक्षमा पहिलो चरणको आन्दोलन चाँहि गरेको हौँ। अब छिट्टै दोस्रो चरणको आन्दोलन तोक्छौँ।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.