काभ्रेमा बिस्फोट, मकवानपुरमा पिकअप भ्‍यानमा आगजनी

|

काठमाडौं : प्रतिबन्धित नेत्र विक्रम चन्द्र ‘विप्लव’ समूहको नेपाल कम्युनिस्ट पार्टीले गरेको आजको  नेपाल बन्दको प्रभाव देशभर आंशिक रूपमा मात्र परेको छ। बन्दको प्रभाव छिटफुटबाहेक सबै पूर्ण रुपमा सञ्चालन भइरहेका छन्। 

 केन्द्रीय सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता कार्यकर्ताको गिरफ्तारी र केपी ओली शर्मा सरकारको फाँसीवादी हर्कतविरुद्ध विप्लव समूहले आज नेपाल बन्दको आह्वान गरेको थियो। 

बन्दका कारण लामो दूरीका केही सवारीसाधन मात्रै बन्द भएका छन्। बजार, व्यवसाय, कलकारखाना, शिक्षण संस्थालगायतका क्षेत्रमा आंशिक प्रभाव देखिएको छ। 

हालसम्म  विप्लव कार्यकर्ताले काभ्रे र मकवानपुरमा बम बिस्फोट गर्नुका साथै सवारीसाधन आगजनी गरेका छन्। काभ्रेको बुडोल र मंगलटारमा बम विष्फोट गराएको छ। बनेपा नगरपालिका वडा नम्बर ६ स्थित बुडोल र रोशी गाउँपालिका वडा नम्बर ८ को मंगलटारमा बम  विष्फोट गराएको छ। 

यस्तै, रोशी ८ नार्के स्थित बिपी राजमार्गको बायाँ तर्फको लेनमा पनि बम विष्फोट भएको छ। तर, कुनै मानवीय लगायतका क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

अरनिको र  बीपी राजमार्गमा सवारीसाधन आवागमन भने अवरुद्ध भएको छ। त्यस्तै लामो रुट हुँदै डाँडा पारी र कोशी पारीको ग्रामीण क्षेत्रमा जाने बस चलेका छैनन्।

यस्तै, मकवानपुरमा विप्लव समूहका कार्यकर्ताले पिकअप जलाएका छन्। शनिबार बिहान विप्लव कार्यकर्ताले बा १३ च ७९६९ नम्बरको पिकअप भ्यान जलाएका हुन्। यी घटनाबाहेक देशभर समाचार तयार पार्दासम्म बन्द शान्तिपूर्ण रूपमा भइरहेको बताइएको छ।

गत पुस २९ गते सरकारले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत ब्युरो सदस्यहरू गिरफ्तार गरेको विरोधमा नेकपा केन्द्रीय समितिले आज नेपाल बन्दसहितको चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेको थियो। नेकपाले नेपाल बन्द सफल पार्न आह्वान गर्दै शुक्रबार साँझ देशभर मसाल जुलुस निकालेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.