|

पाल्पा : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड र माधव नेपालले पदीय स्वार्थका लागि पार्टी विभाजन गरेको आरोप लगाएका छन्। उनले प्रचण्डप्रति टिप्पणी गर्दै प्रचण्ड हल्लिएको दाँत भएका र फुक्लिएपछि नयाँ पलाउने बताए।   

शनिबार तानसेनमा भएको ओली पक्षीय नेकपाको अगुवा कार्यकर्ता भेला र जिल्ला युवा भेला तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन्। जनविश्वासको आधारमा दुई धारका पार्टी एकता भएको उनले बताए।

दुई वटा कम्युनिस्ट राजनीति भित्रका झापा आन्दोलन र नेकपा माओवादीको दसबर्से जनयुद्धसहित आन्दोलनलाई एक ठाउँमा जोड्ने प्रयास भएको उनले बताए। तर केही नेताहरुको नितान्त पदीय स्वार्थले एकता असफल भयो। 

प्रचण्ड र माधव नेपालले एकताभित्र गुटबाद जन्माएपछि पार्टीको अवस्था यो हालतमा पुगेको पोखरेलले दाबी गरे। ओलीपक्षीय नेतासमेत रहेका उनले राष्ट्रलाई नभई आफूलाई हेरेर एकता गरेका कारण मुलुकको राष्ट्रिय राजनीति संकटउन्मुख भएको बताए। कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको कामभन्दा पनि सरकारको काममा बाधक बनेको र जहिले पनि भागबन्डाकै बार्गेनिङ गरिरहेको आरोप लगाए। 

प्रधानमन्त्री ओलीले नेकपाको कार्यकारी अध्यक्ष पदबाट प्रचण्डलाई नहटाएको उनले बताए। ‘अझै पनि प्रचण्ड अध्यक्ष नै हुनुहुन्छ’, उनले भने, ‘गल्ती स्वीकार गरेर माफी मागे पदअनुसार कार्यकारी अधिकार पाउनुहुन्छ।’

ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई मनोनित गर्नु र संसदीय दलको नेताबाट हटाएर प्रचण्ड आफू नेता बन्नुले पनि पदीय स्वार्थले पार्टी विभाजन गरेको पुष्टि भएको उनले बताए।

‘विघटित संसदीय दलबाट विघटित संसदीय दलको नेता बन्नु भनेको काल्पनिक कथा जस्तै हो’, पोखरेलले थपे, ‘प्रचण्ड माधवले विधि र प्रक्रियालाई मान्दैनन्। चार महिना महाधिवेशन र २ वर्ष निर्वाचन कुर्न पनि सक्नुभएन। पदीय छटपटी बढ्दै गयो।’ 

प्रचण्ड र माधव हल्लिएको दाँतजस्तै 

उनले भने, 'हल्लिएको कच्चा दाँतका रुपमा रहेका उनीहरु निस्किएर गएपछि ओली नेतृत्वको पार्टी बलियो भएर अगाडि बढ्छ।' व्यक्तिका लागि नभई अब राष्ट्रका निम्ती पार्टी एकता प्रक्रिया अगाडि बढ्ने पनि उनले बताए।

पार्टी एकताका बेला ओलीको प्रशंसा गर्ने प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक भएपछि आलोचना गर्न थालेको पोखरेलले दावी गरे। जब नयाँ नक्सा संसदमा सर्वसम्मत रुपमा पारित भयो त्यसपछि पार्टीभित्र किचलो सुरु भएको उनले स्पष्ट पारे।

व्यक्तिलाई केन्द्रमा राखेर गरिएको एकता प्रक्रिया पूरा हुन नपाएको उनले बताए। उनीहरूले बुनेको षडयन्त्रको भर्‍याङ ओलीले भत्काइदिए उनीहरूको दाँतबाट पसिना निस्किएको छ।

माइतीघर मण्डलामा पुगेर हामी यहाँ छम भनेर भन्नु परेको छ। त्यहीमाथि माधव कुमार नेपाल र पुष्पकमल दाहालको ट्याग झुण्ड्याएर, योभन्दा दु:खदायी स्थिति के हुन सक्छ। सच्चिएर मूल घरमै आउनुहोस् बाटो खुला छ,' उनले आग्रह गरे।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.