|

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले केही नेताको उधारो नभई नगदी अध्यक्ष पदको ख्वाब र प्रधानमन्त्री बन्ने लालसाका कारण देशमा संकट निम्तिएको बताएका छन्। नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपालप्रति कटाक्ष गर्दै उनले यस्तो बताएका हुन्।

शनिबार रौतहट सदरमुकाम गौरमा नेकपा क्षेत्रीय कमिटीद्वारा आयोजित रौतहट निर्वाचन क्षेत्र नम्बर–१ स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता साहले अध्यक्ष र प्रधानमन्त्री पदका लागि पार्टीलाई अन्तर्घात गरी देशलाई नै संकटतर्फ धकेलेको आरोप लगाए।

नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका नेता साहले चुनाव हारेर पनि प्रधानमन्त्री बन्न पछी नहट्ने, महाधिवेशनबाट पराजित भएर पनि अध्यक्ष बन्ने लालसा नछाड्ने,  एकथरी प्रवृत्तिका नेताले निरन्तर पार्टी र सरकारविरुद्ध षड्यन्त्र र जालझेल गरेर अस्थिरता मच्चाएको बताए।

देशमा स्थिरता नचाहनेहरुले चुनावबाट आफ्नो पत्तासाफ हुने डरले आत्तिएर निर्वाचन आयोग र स्वतन्त्र न्यायालयमाथि दबाब दिएर चुनाव हुन नदिन षड्यन्त्र गरेको नेता साहले बताए। ताजा जनादेशमार्फत देशलाई अग्रगमनतर्फ लैजान वर्तमान सरकारले जुनसुकै हालतमा चुनाव गर्ने भन्दै नेता साहले चुनावको तयारीमा लाग्न कार्यकर्ता पंक्तिलाई निर्देशन दिए।

'कसैलाई उधारो हैन नगदी अध्यक्ष पदको ख्वाबमा, कोही प्रधानमन्त्री पदको स्वार्थमा अन्तर्घातमाथि अन्तर्घात गर्दै देशमा संकट निम्त्याए। यी अस्थिरतावादीहरुबाट देशलाई जोगाउन चुनाव घोषणा गरिएको हो,' नेता साहले भने, 'आगामी वैशाख १७ र २७ गते हुने चुनावबाट यस्ता अन्तर्घातीलाई निस्तेज गर्नुपर्छ। कमरेडहरु चुनावको तयारीमा लाग्नुस्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.