'जनतामाझ जाने आफ्नो निर्णय तानाशाही हुँदै होइन'

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नेहरू नै संविधानविरोधी भएको आरोप लगाएका छन्।

आइतबार काठमाडौंमा आयोजित अपाङ्गता भएका व्यक्तिहरूको समस्या र सवालमा प्रधानमन्त्रीसँग साक्षात्कार कार्यक्रममा ओलीले भने, ‘संसद् विघटन भएको भनेर केही मान्छेहरू कराइरहेका छन्, उनीहरू संविधानविरोधी, लोकतन्त्रविरोधी, देश र जनविरोधी हुन्।’ उनले प्रश्न गर्दै अगाडि भने, ‘बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाएर स्थिरताको नाटक गर्ने?

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संसदमा पाँचै वर्ष जागिर खान पाउनुपर्छ भन्ने उनीहरूको तर्क रहेको बताए।

नेकपाकै अर्को समूह पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरूप्रति संकेत गर्दै उनले भने ‘जो कराइरहेका छन्, अस्तव्‍यस्तता खडा गर्ने, स्थिरता हुन नदिने उनीहरूलाई म भन्न चाहन्छु ‘यो स्थायी जागिर होइन। 

जनप्रतिनिधि (प्रतिनिधिसभा सांसद) हरूले जनता र देशको सेवा गर्नुपर्नेमा त्यसो नगरेर अरुद्धारा निर्देशित भएर अरुकै लागि काम गर्न थालेपछि आफूले ताजा जनादेशका लागि संसद् विघटनको निर्णय गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो। 

स्थिरतालाई भत्काएर अस्थिरतातर्फ मुलुकलाई धकल्न खोजेपछि जनताकै बीचमा जाने निर्णय गरेकोले आफू तानाशाही नभएको उनले तर्क गरेका छन्। 

कुन–कुन सांसदहरुले कस्तो काम गरेका छन् जनताले मूल्यांकन गरेर पुरस्कृत गर्ने कि सजाय दिने फैसला गर्न जनतामा अपिलसमेत गरे।

जनतालाई निर्णयको अधिकार दिँदा तानाशाही भइँदैन

‘मैले फैसला गर्ने अधिकार आफ्नो हातमा लिएको छैन, लिएको भए तानाशाही हुन्थेँ, मैले तपाईं जनतालाई फैसला गर्नुस् भनेको छु, यसोभन्दा म तानाशाहा भएँ? प्रधानमन्त्री ओलीले प्रश्न गरे ‘मैले त फैसाला गरेको छैन, म फैसला गर्छु, मै शासनमा रहन्छु भनेको छैन।

जालझेल गरेर, जोडजाम, जोड–घटाउ, तिकडम र किनबेच गरेर मै शासक रहन्छु भनेको छैन। मैले त मेरो मात्र होइन सबैको मुल्याङ्कन गर्न भनेको छु।’

आगामी वैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनबाट देशको अहितमा निरन्तर काम गर्ने देशद्रोही तत्वहरुलाई ठेगान लगाउने अवसरको रूपमा प्रयोग गर्नुपर्नेमा उनले जोड दिए। उनले भने, ‘कसले कस्तो काम गर्‍यो भन्ने फैसला गर्न जनतालाई आह्वान गर्दछु।’

हेर्नुहोस् भिडियोसहित

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.