'अबको राप्रपा कहिल्यै फुटको शिकार बन्दैन'

|

चितवन : राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष कमल थापाले नेकपाले शक्ति प्रदर्शनका नाममा देशलाई मुठभेडतर्फ धकेलेको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले आइतबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले नेकपाकै कारण देशमा अस्थिरता र अराजतकता सिर्जना हुने खतरा बढेको बताए।

अराजकता बढ्दै जाँदा राष्ट्रियतामाथि नै खतरा बढ्ने उनले बताए। ‘आफ्नो स्वार्थका लागि शक्ति प्रदर्शन गर्ने नाममा अदालतलाई प्रभावित पार्ने काम गर्दा संविधान नै धरापमा पर्न सक्छ’, उनले भने। देशलाई संकटबाट मुक्त गर्न आफ्नो पार्टीले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

संविधान र सर्वोच्च अदालतलाई नधम्काउन उनले दलहरुलाई समेत आग्रह गरे। ‘संविधानले नै संवैधानिक विवादको निराकरण गर्ने जिम्मा सर्वोच्च अदालतलाई दिएको छ’, उनले भने, ‘संविधान निर्माणमा भूमिका खेलेको भनिएकाहरुले नै सर्वोच्चलाई धम्काउने, तर्साउने लगायतका गतिविधि गरेका छन्।’ सर्वोच्चलाई अनुचित प्रभाव पार्नु भनेको संविधानको मूल्य र मान्यतालाई कमजोर बनाउनु रहेको उनले बताए। विदेशीको चलखेल तीव्ररूपले बढेको भन्दै उनले ०६२-६३ पछि अवलम्बन गरिएको बाटोले गर्दा अहिले देश संकटमा परेको बताए।

अबको राप्रपा कहिल्यै फुटको शिकार बन्दैन

अब उप्रान्त राष्ट्रिय प्रजान्त पार्टी कहिल्यै पनि फुटको शिकार नहुने अध्यक्ष थापाले बताए। ‘गत वर्ष नै पार्टीका अर्का अध्यक्षहरु पशुपति समशेर राणा र डा प्रकाश लोहनी समेतले गीतालाई छोएर पार्टीलाई कहिल्यै फुट्न नदिने घोषणा गरेका छौँ’, उनले भने, ‘हाम्रो एकताको बारेमा निश्चिन्त रहन आग्रह गर्न चाहन्छु।’

राप्रपाले लिएको विचारले मात्रै देशलाई बचाउन र बनाउन सक्ने उनले दाबी गरे। हिन्दु राष्ट्रको पहिचानलाई मेटाएर धर्म निरपेक्षता लादिएको भन्दै उनले देशलाई बचाउन धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने बताए। ‘प्रजातन्त्रलाई बचाउने हो भने, राष्ट्रियता जोगाउने हो भने राजसंस्था सहितको लोकतन्त्र उपयुक्त छ’, उनले भने।

सनातन हिन्दु राष्ट्र र राजसंस्था सहितको लोकतन्त्रको एजेन्डालाई लिएर राप्रपा सशक्तरूपमा जनताको माझमा जाने उनले बताए। ‘जनता कम्युनिष्ट र कांग्रेसबाट वाक्कदिक्क भएका छन्’, उनले भने, ‘जनताको मन जित्न जनताको घर दैलोमा जानुपर्छ।’ पार्टीले देशभर तीन लाख सक्रिय सदस्य बनाउने लक्ष्य राखेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.