|

काठमाडाैं : राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार सेमिफाइनल समीकरण पूरा भएको छ।

विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश २ माथि ४ विकेट जित निकाल्दा सोमबारकै अर्को खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबमाथि ६ रनको जित निकालेपछि जारी प्रतियोगितामा अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।  

मूलपानी क्रिकेट मैदानमा पुलिस प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै पुलिस समूह ‘बी’ उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो। प्रदेश–२ ले दिएको १ सय ७० रनको लक्ष्य पुलिसले ३८ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो। पुलिसको जितमा अनिल साहले अविजित रहदै सर्वाधिक ४७ रन बनाउँदा कुशल भुर्तेलले ४३, दिपेन्द्र सिंह ऐरी र अमित श्रेष्ठले समान १७–१७, सुनिल धमलाले १३  र कप्तान मन्जित श्रेष्ठ १२ रनमा नटआउट रहे। प्रदेश २ का कुमार थापा र विवेक यादवले ३–३ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश–२ ले ४७ ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो। मौसम खराबका कारण ४७ ओभरमा झारिएको खेलमा प्रदेश–२ का लागि हरिशंकर साहले ५३ रनको अर्धशतकीय इनिङ्स खेले।

यस्तै हिमान्सु दत्तले १६ रन जोडे। आदील अन्सारीले १५ रन बनाए। पुलिसका ललित राजवंशीले ४ विकेट लिए। सागर ढकालले २ तथा पवन सरार्फले १ विकेट लिए। पुलिसको जितसँगै लुम्बिनी र प्रदेश–२ प्रतियोगिताबाट बाहिरिएको छ। यस समूहबाट एपिएफ समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ। एपिएफले ४ खेलमा ७ अंक जोडेको छ।

सोमबारकै अर्कोमा एपिएफले आर्मीविरुद्ध ६ रनको रोमाञ्चक जित निकालेको हो। चार खेलबाट स्पष्ट जित निकालेको एपिएफ समूह ‘ए’ को विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्दा पराजित आर्मी उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश पाएको हो।

एपिएफले दिएको २ सय ४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३४ रन मात्र बनाउन बनाएको थियो। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन बनाएको थियो।

अन्तिम चारमा स्थान बनाएको एपिएफले फाइनल प्रवेशका लागि अर्को विभागीय टोली नेपाल पुलिससँग प्रतिस्पर्धा गर्दा आर्मीले बागमती प्रदेशसँग भिड्ने छ। बुधबार पहिलो सेमिफाइनल खेल एपिएफ र पुलिसबीच कीर्तिपुर मैदानमा खेल हुनेछ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.