|

पर्वत : नेपाली लोक साङ्गीतिक क्षेत्रका एउटा नक्षत्र पोखराका कलाकार धनबहादुर गायकको निधन भएको छ। 

कास्कीको पोखरा महानगरपालिका–१६ बाटुलेचौर घर भएका गायकको आइसियुमा राखेर उपचार गर्दा गर्दै सोमबार बिहान ५६ वर्षको उमेरमा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो।

उच्च रक्तचाप र मधुमेहको समस्यामा रहेका गायक शनिबार घरभन्दा केही तल रहेको कालीखोलामा नुवाईधुवाई गरेर घर फर्किने क्रममा लडेका थिए। त्यसपछि उनलाई उपचारको लागि मणिपालमा अस्पतालमा भर्ना गरिएको थियो।

जनकविकेशरी धर्मराज थापा, झलकमान गन्धर्व, मुक्तिनाथ पण्डित, सोमनाथ प्यासी, कृष्ण थापा, तीर्थ तामाङलगायत अग्रजहरूको प्रेरणामा उनी ११ वर्षको उमेरदेखि नै सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए।

सानो छँदा विद्यालय नै नगई सारंगी बजाएर पर्यटकहरूलाई रमाइलो गरिदिने गरेको र पछि काठमाडौँ गएपछि झलकमान गन्धर्वलगायत कलाकारको साथले आफू सांरगी बजाउन पोख्त बनेको उनले बताउँदै आएका थिए। ‘यो दाजुका मिर्मिरे आँखा’, ‘बेली र चमेली’, ‘फूल मायामा नभुल’, लगायतका कालजयी गीतहरू प्रस्तुत गरेका गायक सारंगी र मादल बजाउन प्रखर थिए। 

बाटुलेचौरमा रहेको ‘झलकमान गन्धर्व सारंगी पाठशाला’को अध्यक्षसमेत रहेका गायकले कक्षा एकमा अध्ययनरत बालबालिकालाई समेत सारंगी र मादल बजाउन पोख्त बनाउँदै आएका थिए।

पोखरामा रहेका कलाकार राजन कार्कीका अनुसार स्व. गायकको सरल स्वभावका कारण उनले धेरैलाई सारंगी र मादल बजाउन सिकाएका छन्। ‘उहाँले बाटुलेचौरका एक कक्षामा पढ्ने बालबालिकालाई पनि सारंगी बजाउन पोख्त बनाउनुभएको छ। नेपाली लोक सङ्गीतमा उहाँले दिएको योगदान कसैले पनि व्याख्या गर्न सक्दैनौँ,’ कार्कीले भने, ‘धेरै कलाकार जन्माउन सक्ने एउटा असल गुरु हामीमाझ अस्ताउनुभयो। नेपाली लोकसंगीतले उहाँको योगदानलाई कहिल्यै पनि बिर्सिने छैन।’ स्व. गायकको परिवारमा श्रीमती, छोरा, बुहारी  र नातिनातिनाहरू छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.