|

गोरखा : भारत सरकारले अनुदानमा दिएको कोभिड १९ विरुद्धको खोप ‘कोभिसिल्ड’ गोरखा आइपुगेको छ।

भारतले दिएको १० लाख डोज खोपमध्ये ४ हजार १४ डोज खोप मंगलबार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले गोरखा पठाएको हो। 

प्रदेश सरकारले पठाएका खोप गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बुझेर स्वास्थ्य कार्यालय गोरखाको कोल्डचेन अधिकृत ऋषिराम खत्रीलाई हस्तान्तरण गरेका हुन्। 

पहिलो चरणमा गोरखाका १५ सय ९० जनालाई कोरोना खोप लगाइने तयारी गरिएको छ। 

पहिलो चरणमा खोप लगाउनेमा गोरखा नगरपालिकामा २ सय ५३, पालुङटार नगरपालिकाका २११ जना, सिरानचोक गाउँपालिकाका १३४ जना, सहिद लखन गाउँपालिकाका ११३, गण्डकी गाउँपालिकाका १२७ जनाको नाम मन्त्रालय पठाइएको छ। 

त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाका १२६ जना, अजिरकोट गाउँपालिकाका १०५ जना, भीमसेन थापा गाउँपालिकाका १०८, धार्चे गाउँपालिकाको १०५, चुमनुब्री गाउँपालिकाका ११९ जना र आरुघाट गाउँपालिकाका १३८, स्वास्थ्यकर्मीको नाम मन्त्रालयमा पठाइएको कोरोना फोकल पर्सन अर्यालले बताएका छन्। 

सरकारले आगामी १४ गते बुधबार बिहान १० बजेबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गर्ने जनाएको छ।

अहिले कस्ता व्यक्तिले लगाउन पाउनेछन् खोप?

यो खोप फ्रन्टलाइनमा रहेर काम गरिरहेकाहरूले मात्रै लगाउन पाउने छन्। ‘यो खोप स्वास्थ्यकर्मी, एम्बुलेन्स र शववहान चालक, सरकारी कार्यालयमा रहेका सरसफाइकर्मीहरुले मात्रै लगाउन पाउने छन्’, प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले भने। 

कोभिसिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ। नेपाल सरकारको तयारीअनुसार कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप लगाउने योजना सरकारको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.