|

गोरखा : करिब दुई हजार तीन सय मिटर उचाइमा बुद्ध हिमालको काखमा रहेको गोरखाको बारपाक गाउँ। 

गुरुङ, घले र दलित समुदायको बसोबास रहेको यस गाउँ २०७२ को भूकम्प अघिसम्म टाढैबाट झट्ट हेर्दा प्राकृतिक सौन्दर्यको बीचमा ढुंगाकै छानो, ढुंगाको गारो लगाएका एकनासका करिब एक हजार घरधुरी एकै ठाउँमा देखिन्थ्यो। 

ढुंगा नै बिच्छ्याएको गाउँका गल्लीहरू हुँदै जुनसुकै घर पुगेपनि आँगनमा ढुंगा नै छापिएको हुन्थ्यो। हत्तपत्त जो कोहीले यहाँका धनी र गरीब मान्छे छुट्याउन भेउ नै पाउँदैनथे।

जब २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर ७.६ रेक्टर भूकम्प गयो, तब नेपालमा लाखौँ परिवारको घर ढल्यो, लाखौँ घाइते भए, अनि हजारौँको मृत्यु भयो। 

केन्द्रबिन्दुमै परेको बारपाक गाउँ लगभग ध्वस्त भयो। ७२ जना स्थानीयले ज्यान गुमाए। सग्ला घर मुस्किलले बाँकी रह्यो।

बारपाक-सुलिकोट गाउँपालिका वडा नं १ मा ३७८ र वडा नं २ मा ९२२ घरधुरी गरी १३०१ घरधुरी रहेको यस बारपाक गाउँमा अहिलेसम्म आवास पुन:निर्माण ९० प्रतिशत सम्पन्न भइसकेको छ। स्वास्थ्य चौकी, विद्यालय भवन र वडा कार्यालयको भवन पनि बनिसक्यो।

भूकम्पयता यहाँ भौतिक विकासले फड्को मारिसक्यो। तर, गाउँको एकनासे ढुंगाका घरले दिएको मौलिकता र पहिचानलाई बारपाकीले पुनःनिर्माण गर्न सकेनन्। मौलिकता र पहिचान इतिहास बनेको छ। ​बारपाकमा अहिले अनेकौं रङको जस्ताको छानाले छाएका रंगीविरंगी घरहरू देखिन्छन्। 

यहाँका स्थानीयहरूको मनमा पुरानै ढाँचामा एकनासका घर बनाएर बारपाकको मौलिकता जोगाउने इच्छा नभएकै हो त ? भूकम्प अघिजस्तै गरी किन यहाँका स्थानीयले एकैनासको घर बनाएनन् ? के कारणले जोगाउन सकिएन यहाँको पहिचान ?

पुन:निर्मित घरमा बसिरहेका केही स्थानीयहरूसँग यसबारे जिज्ञासा राख्दा उनीहरू भन्छन्‌ : विकास गर्ने नाउँमा अहिलेको पुस्तालाई आफ्नो सभ्यता र पहिचानको वास्तै भएन। 

६० नाघेका लालजित घलेले भने, ‘कलियुग भनेको यही हो, विकास गर्ने नाउँमा आफ्नो सभ्यता र पहिचानको वास्तै छैन, पहिचान जोगाउन आवश्यक थियो, तर के गर्नु ! धनी हुनेले ठूलाठूला घर बनाउँदैछन्, गरीबले स-साना। अब पुरानो जमाना गयो अरे ! नयाँ जमाना आयो रे !’

भिक्टोरिया क्रस पदक पाउने गजे घलेको गाउँ भनेर पनि पहिचान पाएको यस गाउँमा गोरखा भूकम्प अघि अधिकांश मानिसहरू ढुंगा नै ढुंगाको एकीकृत बस्ती हेर्न भन्दै आउने गर्थे। ‘अहिले त ढुंगा नै ढुुंगाको घर त देख्नै पाइन्नँ, आजभोली मानिसहरू यहाँ भूकम्पको केन्द्रबिन्दु कस्तो छ ? कस्तो भयो होला ? भनेर हेर्न आउँछन्। अनि फर्कने बेला सबैले खै त एकै नासको घरहरू ? यहाँको पहिचान हराएछ भन्दै फर्कन्छन्’, सोही गाउँका तिल विश्वकर्माले थाहाखबरसँग कुरा गर्दै भने, ‘भूकम्पपछि धनीले ठूला आरसीसी घर बनाए, एक्लैले चाहेर नहुने रै'छ।’

अब बारपाकमा आउने जो-कोहीले यहाँका धनी र गरीब मानिस सजिलै चिन्न सक्ने स्थानीय युवा देवबहादुर गुरुङ बताउँछन्‌। उनी भन्छन्‌, ‘पहिलेजस्तो ढुंगाको घर अब त छँदै छैन, पहिचान त गुम्यो नि! पहिले जस्तो एकनासकै कहाँ छ र ? यहाँ बनेका ठूला घरहरू धनीका र साना गरीबकै हो भनेर सबैले सजिलै चिन्न सक्छन्। पैसा हुनेले सरकारले दिएको ३ लाखमा रकम थपेर ठूलो बनाए, नहुनेले त्यही पैसाले सानै बनाए।’

स्थानीय सोम गुरुङले भने, ‘बारपाकमा ढुंगा नै ढुंगाले बनेका घरहरू अब छैनन्। पहिचान त गुम्यो, तर के गर्ने ? हामी काम गरेर दु:ख गरेर खाने मान्छे। धनीहरूले हामीले जस्तो सानो घर बनाउन चाहेनन्, अनि कसरी एकै किसिमका घर बन्छन् र ? त्यतिमात्रै हैन, पहिलेजस्तै ढुंगा नै ढुंगाको बनाउँदा फेरि भूकम्प आएर सजिलै भत्किन्छ कि भन्ने चिन्ताले गर्दा पनि पहिलेभन्दा फरक खालका घर बनाउन बाध्य भयौँ।’

‘हामीले यहाँको मौलिकता र पहिचानलाई जोगाएर पुन:निर्माण गर्न नचोहका हैनौँ, तर, पुन:निर्माण प्राधिकरणले ल्याएको घरका डिजाइन अनुसार घर नबनाए तीन लाख रुपैयाँ राहत नदिने भन्यो, मौलिकता जोगाएर बनाउन मिल्ने घरको डिजाइन हामीले पाएनौँ। यसमा हाम्रो भन्दा पनि सरकारको कमजोरी छ’, बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष लालबहादुर गुरुङ बारपाकको पहिचान गुम्नुमा सरकारको कमजोरी देखाउँदै भन्छन्, ‘अनि राहत लिनकै लागि पुन:निर्माणको डिजाइन अनुसार घर बनाउँदा मौलिकता गुम्ने पक्का भएपछि धनीले ठूूलाठूला आरसीसी, अनि गरिबले ससाना ढुंगा, माटो र काठ प्रयोग गरेर जस्ताले छाएको घर बनाउन थाले।’

असैह्य पीडालाई बिर्सन खोज्दै बारपाकी पुनःनिर्माण र पूर्वाधार विकासको विस्तारमा जुटे। उतिबेलै कच्ची सडक पुगेको बारपाकलाई जाने सडक अहिले कालोपत्रे हुँदैछ। २०४८ सालदेखि नै लघु जलविद्युत बालेर उज्यालोमा बस्दै आएका बारपाकीले हालसालै केन्द्रीय प्रसारण लाइनको बिजुली बाल्न पाएका छन्।

फोरजी इन्टरनेट सेवा शुरू भइसक्यो। घरघरै खानेपानीको पहुँच पुग्दैछ। विद्यालय र स्वास्थ्य चौकीका भवनहरू पनि बनिसके। तर, मौलिकता गुमाएको बारपाक यतिखेर कुनै योजनाबिना बसाइएको अव्यवस्थित बजारजस्तो देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.