|

म्याग्दी : प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीका तातोपानी कुण्डहरू १० महिनापछि संचालन ल्याइएको छ।

कोरोना (भाइरस)को जोखिमका कारण २०७६ सालको चैत ४ गतेदेखि बन्द भएका तातोपानीका कुण्डहरू मंगलबारदेखि सञ्चालनमा ल्याइएको बेनीनगरपालिका-४ सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए।

म्याग्दीमा एक दर्जन बढी तातोपानीका कुण्डहरू रहेका छन्। तातोपानी कुण्डमा एक सातासम्म डुबेर उपचार गरेपछि चर्मरोग, हाडजोर्नी, ग्यास्टिक, युरिक एसिड, भाँचिएको, मर्केको जस्ता रोग निको हुने विश्वास रहेको छ।

केही समयदेखि स्थानीय व्यक्तिहरूका लागि मात्र खुला गरिएको तातोपानी कुण्डमा अब अन्य जिल्लाबाट आएकाले पनि स्नान गर्न पाउने व्यवस्था मिलाइएको कुण्ड व्यवस्थापन समितिका पदाधिकारीहरूले जानकारी दिएका छन्।

सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष शाक्यले दूरी कायम र भीडभाड नहुने गरी समूह व्यवस्थापन गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ कुण्डमा स्नान गर्न सकिने जानकारी दिए। ‘हामीले तातोपानी कुण्डमा डुब्न आउने बिरामीलाई सुरक्षा मापदण्ड पालना अनिवार्य गर्नुपर्छ,’ उनले भने, 'ज्वरो परीक्षण गर्ने व्यवस्था मिलाइएका छौँ।'

यसैगरी पर्यटकीय स्थल भुरुङ–तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष अमृतमान शेरचनले सबै किसिमका पाहुनाहरूका लागि स्नानका लागि खुल्ला गरिएको बताए। अन्य पर्यटकीय स्थल र मुस्ताङको पर्यटन खुलाएकाले स्थानीय होटल व्यवसाय र अर्थतन्त्रलाई चलायमान बनाउन कुण्ड सञ्चालनको निर्णय गरेको उनको भनाइ छ। कुण्डमा आउने बिरामी तथा पर्यटकको माध्यमबाट कोरोना भित्रने जोखिमलाई मध्यनजर गर्दै कुण्ड बन्द गरिएको थियो।

सिंगाको तातोपानी कुण्ड प्राकृतिक चिकित्सालय र भुरुङ्ग–तातोपानी कुण्ड पर्यटकीय स्थलको रूपमा परिचित छ। पालिका र प्रशासनसँग समन्वय गरेर कुण्ड सञ्चालन गरिएको व्यवस्थापन समितिले जनाएका छन्।

म्याग्दी नदीको किनारमा जमिन भित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्रिएको, मर्किएको, पेट दुख्ने, खाना रुची नहुने लगायतका स्वास्थ्य समस्या निको हुने विश्वास छ।

वीरेनुन र गन्धन (सल्फर) तत्व सहितको ४५ देखि ५७ डिग्री सेल्सियस तातोपानी निस्कने मुहान रहेको छ। सिंगाका साथै मुस्ताङ जाने बेनी–जोमसोम सडक अन्तरगत अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा कालीगण्डकी किनारमा रहेको तातोपानी कुण्ड पर्यटकीय स्थलको रूपमा परिचित छ।

अन्नपूर्ण गाउपालिकाको पाउद्धार, पोखरेबगरको रातोपानी, दोवाको सेकार्कु, रघुगंगा गाउपालिकाको दर्मीजा, धवलागिरी गाउँपालिकाको बगर र गुर्जामा प्राकृतिक तातोपानी कुण्ड छन्। यी कुण्डहरूमा पनि स्नान उपचारका लागि बिरामीहरू आउँछन्।

कोरोनाले थला पारेको होटल र पर्यटन व्यवसाय पूर्ण रूपमा चलायमान हुन अझै समय लाग्ने देखिएको छ। फाट्टफुट्ट पर्यटक आउन थालेपछि व्यवसायमा राहत महशुस गरेका छन्। तर, अघिल्ला वर्षहरूमा यो समयमा बिरामीको चाप हुने तातोपानी कुण्डहरू यो वर्ष बल्ल चलायमान हुन थालेका छन्। यसले थलो परेको पर्यटन र होटल व्यवसायीहरूमा राहत मिलेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.