बस्नेत भन्छन् : 'नबिल र बाणिज्य बैंकको कर्जा तिरेपछि कोषको पनि चुक्ता गर्छु'
बस्नेत भन्छन् : 'नबिल र बाणिज्य बैंकको कर्जा तिरेपछि कोषको पनि चुक्ता गर्छु'
काठमाडौ : सुधीर बस्नेत सञ्चालक रहेको कोहिनुर हिल हाउजिङले ललितपुरमा निर्माण गरिरहेको भेगास सिटी अपार्टमेन्ट लिलामीका लागि कर्मचारी सञ्चय कोषले ३५ दिने सूचना जारी गरेको छ।
कर्मचारी सञ्चय कोषले आफ्नो कर्जा असुल निम्ति बोलपत्र आह्वान गर्दै उक्त सम्पत्ति किन्न चाहने इच्छुकले ३५ दिनभित्र आवेदन दिनुपर्ने जनाएको छ। बस्नेतले कोषलाई ३५ दिनभित्र ऋण तिर्नसक्दा भने सम्पत्ति लिलामी हुने छैन।
बस्नेतले १० रोपनी ९ आना जग्गामा अपार्टमेन्ट बनाउने योजना अघि सारेका थिए। त्यहाँ अपार्टमेन्टका केही पूर्वाधारहरू पनि निर्माण भइसकेको छ।
कोषबाट यो ऋण सुधीर बस्नेत र उनी श्रीमती नितु थापाले लिएका थिए। कोषले यो सम्पत्तिको भाउ कति हो भनेर केही पनि खुलाएको छैन। कुल १३ वटा कित्ता लिलाम गर्न लागिएको सूचनामा उल्लेख छ।
बस्नेतले आफ्नो परियोजनाका लागि सञ्चय कोषबाट एक अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रस्ताव स्वीकृत गराएका थिए। तर, उनले त्यहाँबाट २३ करोड ७० लाख रुपैयाँ लगेको जनाइएको छ।
सञ्चय कोषमा बस्नेतले साँवा, ब्याज गरेर लगभग ५० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ। बस्नेतले भने संचय कोषले पारित गरेको रकम हाल लिलामी निकाल्नुको साटो उल्टै कम्पनीलाई दिनुपर्ने बताउँदै आएका छन्।
नबिल बैंक र बाणिज्य बैंकको कर्जा तिर्ने प्रकृयामा भइरहँदा त्यहाँको कर्जा चुक्ता भएपछि कोषको रकम पनि तिर्ने बस्नेतले बताएका छन्।
बस्नेत स्वामित्वकफो हाउजिङ, अपार्टमेन्ट र सहकारीमा ७ अर्ब रुपैयाँभन्दा बढी ठगिएका सर्वसाधारणहरूले लगानी कोषको सूचनाका कारण आफूहरू आत्महत्याको अवस्थामा पुगेको बताएका छन्। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष तथा बस्नेतबाट ठगीमा परेका राधेश्याम लेकालीले उनका कारण २ सय ७५ घरपरिवार आत्महत्या गर्ने अवस्थामा पुगेको बताए।
उनले थाहाखबरसँग भने, ‘बस्नेतको सम्पत्ति लिलामी भएपछि आफूहरूको अर्बौंको लगानी डुब्ने भयो भनेर झन चिन्तित बनाएको छ, अलिकति आश थियो-त्यो पनि लिलामी भएपछि हामी अब डुब्ने भयौं।'
लेकालीसहित साहित्यकार गणेश रसिक र केदार शर्मा लगायतका धेरै लब्धप्रतिष्ठित व्यक्तिहरू बस्नेतबाट ठगिएका छन्।
कोषले जारी गरेको लिलामी सूचना :
तपाईंको ईमेल गोप्य राखिनेछ ।