|

इलाम : कुसुम खतिवडाको ह्याट्रिकको मद्दतमा विराटनगर महानगरपालिका मोरङले रौतहटको चन्द्रपुर नगरपालिकामाथि प्रभावशाली जित निकालेको छ।

राष्ट्रिय महिला लिग अन्र्तगत बिराटनगरले उमेर समुहका राष्ट्रिय खेलाडीले भरिएको रौतहटको चन्द्रपुर माथि ५–० फराकिलो गोल अन्तरको जित निकालेको हो। पहिलो हाफमा १ गोल गरेकी कसुमले दोश्रो हाफमा थप २ गोल गरिन्।

खेलको सुरुवातबाटै दवाब बनाएको विराटनगरले १२ औ मिनेटमा अग्रता बनायो। सिर्जना सिंहको पासमा चन्द्रपुरको डिफेन्डरलाई बिट गर्दै वान भर्सेस वानको अवस्थामा कसुमले पहिलो गोल गरिन्। ३३ औं मिनेटमा अनु राईले गोल गर्दै बिराटनगरले अग्रता दोब्बर बनाइन्।

इमा राईको क्रसलाई चन्द्रपुरकी गोलरक्षक युनिसा राईले पञ्च गर्ने प्रयास गरे पनि पाएको अवसरलाई अनुले जाली चुमाइन्। चन्द्रपुरकी कप्तान रोजिना श्रेष्ठले हेडर मार्फत क्लियर गर्न खोजेपनि बलले जाली चुम्यो। पहिलो हाफमा २–० ले पछि परेको चन्द्रपुरले दोश्रो हाफमा थप ३ गोल बेहोर्न पुग्यो।

६३ औ मिनेटमा सरिता शेर्पाले अग्रता ३–० बनाइन्। इमा राईको कर्नरमा चन्द्रपुरका डिफेन्डरले राम्ररी क्लियर गर्न नसकेको बललाई सरिताले पेनाल्टी बक्सबाहिरबाट उत्कृष्ट गोल गरेकी थिइन्।

 ७४औं मिनेटमा कुसुम खतिवडाले व्यक्तिगत दोश्रो गोल गर्दै विराटनगरलाई ४–० ले अग्रता दिलाइन्। लगतै एक मिनेट नबित्दै कुसुमले ह्रयाट्रिक पुरा गरेपछि बिराटनगरले ५–० गोल अन्तरको फराकिलो जित निकाल्दै महत्वपूर्ण ३ अंक बटुल्यो।

लिगमा यो पाँचौ ह्याट्रिक हो। यसअघि नेपाल एपिएफ क्लबकी सावित्रा भण्डारीले दुई तथा आर्मीकी बिमला चौधरी र चन्द्रपुरकी सविता राना मगरले ह्याट्रिक पुरा गरेकी थिइन्। खेलमा ह्याट्रिककर्ता कुसुम खतिवडा प्लेयर अफ दि म्याच घोषित भइन्। उनले ५ हजार रुपैया हात पारिन्।

जितसँगै विराटनगर तीन खेलबाट ४ अंक जोड्दै चौथो स्थान उक्लिएको छ। यसअघि विराटनगरले १ बराबरी र १ पराजय भोगेको थियो। एपिएफसँग ७–० ले हारेको टोलीले स्याङजासँग १–१ बराबरी खेलेको थियो। जारी प्रतियोगितामा चन्द्रपुरको यो दोश्रो पराजय हो।

यसअघि एपिएफसँग ६–० ले हारेको चन्द्रपुरले उदयपुरको चौदण्डीगढीलाई ७–१ ले हराएको थियो।  चन्द्रपुर ३ खेलबाट ३ अंक  जोड्दै पाँचौ स्थानमा छ। लिगमा बिहीबार दुई खेल हुनेछन्।

पहिलो खेलमा वालिङ नगरपालिका स्याङ्जा र चौदण्डीगढी नगरपालिका उदयपुर तथा दोस्रो खेलमा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.