|

संजय रेग्मी/नमिन ढकाल

पर्वत : कोरोनाको जोखिमपछि ठप्प रहेको खेलकुद गतिविधिहरु सुचारु हुन थालेका छन्। राष्ट्रिय खेलकुद परिषदले सुरक्षाको उपाय अबलम्बन गरेर खेलकुद गतिविधिहरु संचालनको लागि अनुमति दिएसंगै खेल क्षेत्र चलायमान बन्दै गएको हो।

पर्यटक नआउँदा सुनसान बनेको पर्यटकीय क्षेत्र पोखरा यतिबेला नेपाली राष्ट्रिय फूटबल टोलीको आगमनको कारण उत्साहित छ। विश्वकप छनौटको तयारीमा रहेको नेपाली फुटबल टोली पोखरा पुगेपछि खेलकुद क्षेत्रमा पोखरा चलायन बन्दै गएको पाइन्छ। फूटबलको जुनियर टोलीहरुले यस अगाडि विभिन्न समयमा पोखराको पोखरा रंगशालामा प्रशिक्षण लिएको भए पनि राष्ट्रिय पुरुष फुटबल टोली भने पहिलो पटक पोखरामा बन्द प्रशिक्षणमा रहेका हो।

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल र सन् २०२३ मा चीनमा हुने एसियन कपको छनोट चरणकाको होम गेमको तयारीमा नेपाली टोली छ। यसैको तयारीमा खेलाडीहरु शुक्रवार साँझ पोखरामा आइपुगेका हुन्। पोखरामा भइरहेको बन्द प्रशिक्षण काठमाण्डौँमा गराइएका प्रशिक्षण भन्दा राम्रो भएको र पोखराले खेलाडीहरुको मनोबल उच्च गराएको खेलाडीको टोलीमा सँगै रहेका राष्ट्रिय टिम तयारी समितिका संयोजक मधुसुदन उपाध्यायले बताए।

पोखरा आएपछि दुई सेसनको प्रशिक्षण पूरा भइसकेको अवस्थामा खेलाडीहरुलाई ‘रिफ्रेसमेन्ट’ को लागि आईतबार पर्यटकीय स्थल सराङकोटमा ‘हाइकिङ’ को लागि लगिएको छ । सराङकोटबाट फर्किएपछि पोखरा रंगशालामा जीम सेसनमा उनीहरुलाई लगिने उपाध्यायको भनाई छ । ‘हामीले खेलाडीहरुलाई इन्टरटेनमेन्ट र इन्जोएको साथ प्रशिक्षण गराइरहेका छौँ। उनीहरुको रिफ्रेसमेन्टको लागि सराङकोटमा हाईकिङ पनि गराएका छौँ।’ उनले भने, ‘खेलाडीहरु निकै हौसिएको हामीले पाएका छौँ। पोखराको रमणीय वातावरणले खेलाडीहरुको मनमा जोश आएको छ।’

काठमाण्डौँको एउटै वातावरणमा बसेर गरिने प्रशिक्षणबाट मुक्ति पाउनका लागि नै रमणीय स्थल पोखरालाई रोजिएको संयोजक उपाध्यायले बताए। पोखराको स्वच्छ वातावरण र मनोरम दृश्यहरुले खेलाडीहरुमा नयाँपन आएको उनको भनाई छ। पोखरा रंगशाला काठमाण्डौँको भन्दा राम्रो भएको र पाँच तारे होटलको सुबिधामा बसेर भइरहेको प्रशिक्षणले पनि खेलाडीहरुको ‘मोनोटोनस’ भावना हटाएको उनको दाबी छ। प्रशिक्षणलाई बलियो पार्न र खेलाडीहरुमा सकारात्मक उर्जाको विकास गर्न रंगशालामा भएको प्रशिक्षणपछि होटलमा सांगितिक माहोल बनाएर उनीहरुलाई नाचगान गर्न समेत लगाउने गरिएको छ।

तयारी राम्रो भएका कारण आगामी खेलहरुमा खेलाडी घाइते हुने अवस्था नआए राम्रो नतिजा आउने अपेक्षा फूटबल टोलीले गरेको छ। आगामी खेलको रिजल्टलाई मिसनको रुपमा लिएर राम्रो तयारी गरिरहेकोले एसिया कपमा छनोट हुने सम्भावना बलियो रहेको उपाध्यायले बताए। ‘बालगोपाल जी (बालगोपाल मर्हजन) ले कुशलतापूर्वक प्रशिक्षण दिइरहनुभएको छ। तयारी हेर्दा हामी केही गर्न सक्छौँ। खेलाडी घाइते हुने समस्या नआएमा नेपालको नतिजा राम्रो आउने छ।’ उनले भने, ‘टीमले रिजल्टलाई मिसन ठानेको छ। हामी क्वालीफाईड हुने सम्भावना बलियो छ। होम ग्राउण्डमा खेल हुने भएकोले पनि खेलाडीहरु उत्साहित बनेका छन्।’

उनका अनुसार नेपालसँग अहिले ३ अंक रहेका कारण तेस्रो चरणमा जाने सम्भावना बलियो छ। चाइनिज ताइपेई,  अष्ट्रेलिया र जोर्डनसँग हुने तीन खेलमध्ये कम्तीमा पनि एक खेल मात्रै जित्न सके पनि अर्को चरणमा पुगेर नेपाली फुटबल इतिहासमै राम्रो प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त हुने गरी फुटबल टोली प्रशिक्षणमा जुटेको छ।

पोखरा प्रशिक्षणमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीमा आवद्ध रहेका ३५ जना खेलाडी सहित प्रशिक्षक र अन्य पदाधिकारीहरु पनि सहभागी छन्। पोखरामा भइरहेको प्रशिक्षण पूरा गरेपछि टोली माघ २१ गते काठमाण्डौँ फर्किँदै छ। नेपालले अबेका सबै खेलहरु र होम अन्र्तगत कुवेत विरुद्ध खेलिसकेको छ। कुवेत विरुद्धको अवे गेममा ७–० ले हारेको टोलीले भुटानको चाम्लिमिथाङ रंगशालामा होम गेममा १–० पराजय भोग्यो। विश्वकपको अनुभव बटुलेको अष्ट्रेलिया विरुद्ध उसको घरेलु मैदानमा ५–० र जोडर्न विरुद्ध ३–० पराजित भएको थियो। अन्जन विष्टको गोलको मद्धतमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो। नेपालले विश्वपक छनौट अन्र्तगत पछिल्लो पटक कुवेत विरुद्ध १९ नोभेम्बर २०१९ मा प्रतिस्पर्धा गरेको थियो।

कोरोनाको कहरपछि नेपालले गत नोभेम्बरमा बंगलादेशमा दुई मैत्रीपुर्ण फुटबल खेलेको थियो । जहाँ एकमा बराबरी र एक पराजय भोगेको थियो। घरेलु मैदानमा नेपाल भाग्यशाली सावित हुँदै आएको छ। सन २०१४ को विश्वकप छनौट जोर्डन विरुद्ध उसको घरेलु मैदानमा ९–० ले हारेको टोलीले दशरथ रंगशालमा भरत खवासको गोलको मद्धतमा १–१ को बराबरी खेलेको थियो। नेपालले होम ग्राउन्डलाई एडभान्टेजको रुपमा लिएको छ। यदपी भुकम्पका कारण क्षति भएको दशरथ रंगशालामा २०१५ यता नेपालले पर्याप्त प्रशिक्षण गर्न पाएको छैन्। रंगशालामा पुर्न निर्माणपछि नेपालले आफ्नै घरेलु मैदानमा पहिलो पटक खेल्न लागेको हो। यसअघि मैदान नहुँदा भुटानको चाम्लिमिथाङलाई घरेलु मैदानको रुपमा प्रयोग गर्दैै कुवेत विरुद्ध खेलेको थियो। जहाँ झिनो अन्तरको पराजयका कारण पनि टोली उत्साहित छ।  

नेपालले आगामी मार्च २५ मा चाइनिज ताइपेइसित खेल्ने मार्च ३० मा अष्ट्रेलियासित तथा जुन ७ मा जोर्डनसित खेल्नेछ। कोरोना भाइरसको सङ्क्रमणका कारण सन् २०२० को मार्च र अप्रिलमा हुने एसियाली क्षेत्रको दोस्रो चरणको खेल स्थगित गरिएको थियो। समूह बीमा नेपालसहित अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेई रहेका छन्। अस्ट्रेलिया १२ अङ्कका साथ शीर्ष स्थानमा छ। समान खेलबाट १० अङ्क जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्कसहित चौथो स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.