|

काठमाडाैं : जारी सिजन इंग्लिस प्रिमियरलिग रोचक बनिरहेको छ। कारण कुनै टिमले पनि आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिन सकेका छैनन्।

दुई साताअघि शीर्ष स्थानमा रहेको लिभरपुल अहिले पाँचौंमा पुगेको छ। दुई साताअघि अंक तालिकामा मध्यम अवस्थामा रहेको सिटी भने सिजनमा पहिलो पटक शीर्ष स्थानमा पुगेको छ।

उत्कृष्ट प्रदर्शनभ​न्दा पनि अर्कोले खराब खेल पस्किँदा क्बलहरूको स्थान तलमाथि भइरहेको छ।

जारी सिजन चेल्सी, लेस्टर, लिभरपुल, म्यानचेस्टर युनाइटेड र सिटी सबैले शीर्ष स्थानमा पुग्ने अवसर पाइसकेका छन्। यसबाट पनि यो सिजन टिमहरू कति अस्थिर प्रदर्शनका सिकार भएका छन् भन्ने अनुमान लगाउन सकिन्छ।

विगतका सिजनमा २ वा ३ खेलको हार या बराबरीले उपाधि होडमै असर पुर्‍याउन सक्थ्यो तर यो पटक १९ खेलमा केवल १२ जित निकालेको सिटी शीर्ष स्थानमा उक्लन सफल भयो।

शीर्ष स्थानको सिटीको ४१ अंक छ। समान खेलबाट युनाइटेडको ४० अंक छ। साविक च्याम्पियन लिभरपुलको ३४ अंक छ। म्यानचेस्टर सिटीले मंगलबार वेष्ट ब्रोमलाई उसकै मैदानमा ५–० को फराकिलो अन्तरले पराजित गरेको थियो। 

लिगमा लेस्टर सिटी ३८ अंकका साथ तीन अंकले पछि छ भने एक खेल बढी खेलेको वेष्ट ह्याम ३५ अंकका साथमा चौथो स्थानमा छ। टोटेन्ह्याम हट्स्पर १८ खेलमा ३३ अंक बटुल्दै छैटौं स्थानमा छ।

युरोपको कुनै पनि शीर्ष पाँच डिभिजनका टोलीमध्ये वेष्ट ब्रोमले मंगलबार घरेलु मैदानमा खाएको ५ गोल सर्वाधिक हो। सिटीको जितमा इके गुन्डोगानले दुई गोल गर्दा क्यान्सेलो, रियाद महारेज रहिम स्टर्लिङको नाममा समान १–१ गोल रह्यो।

हारपछि वेष्ट ब्रोम ११ अंकका साथ रेलिगेसन जोनमा संघर्षरत छ।

मङ्गलबार नै भएको अर्को खेलमा आर्सनलले साउथ्य ह्याम्प्टिनमाथि ३–१ को जित दर्ता गर्यो। कुनै समय १४ औं स्थानमा रहेको आर्सनल अहिले ३० अंकका साथ आठौं स्थानमा उक्लिएको छ।

त्यस्तै वेष्ट ह्यामले क्रिष्टल प्यालेसलाई ३–२ ले पराजित गर्दै चौथो स्थानमा उक्लिँदा लिड्स युनाइटेडले भने न्युकासललाई २–१ ले हरायो।

साबिक विजेता लिभरपुल पाँच खेलयता जितविहीन

यो सिजन सबैभन्दा बलियो मानिएको लिभरपुल भने पछिल्ला खेलहरूमा कमजोर बनिरहेको छ। लिगको सुरु खेलमै एस्टन भिल्लासँग ७–१ को फराकिलो लज्जास्पद हार बेहोरे पनि त्यसपछिका खेलमा पनि उसले लय कामय राखेको थियो।

तर पछिल्ला पाँच खेलमा भने लिभरपुलले जित निकाल्न सकेको छैन। लिगको अघिल्लो खेलमा उसले कमजोर मानिएको बर्नलीसँग १–० को हार बेहोर्‍यो। त्यसअघि साउथ ह्याम्पटनसँग पनि उति नै गोलअन्तरले पराजय भोगेको थियो। 

लिगमा मात्र नभई लिभरपुलले एफए कपमा म्यानचेस्टर युनाइटेडसँग ३–२ को पराजय भोगेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.