|

सुनसरी : नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका ३ सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बीमा गराएको छ।

अजोड इन्स्योरेन्स काठमाडौँसँगको सम्झौता अनुसार युनियनले जिल्लाका ३ सय १४ जना सञ्चारकर्मीको बुधबार निःशुल्क दुर्घटना बीमा गराएको हो। गत पुष २८ गते नेपाल प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच सुनसरीका २ सय ६० सञ्‍चारकर्मीका लागि ७ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्ने सम्झौता भएको थियो।

बीमा व्यवस्थापन समितिका संयोजक तथा युनियनका पूर्व केन्द्रीय सदस्य दिवश पोखरेलले आफूहरूलाई प्राप्त कागजातका आधारमा बीमा गरिएको जानकार। ‘हामीलाई प्राप्त भएको सिफारिस र अन्य विवरणको आधारमा बीमा गरिएको हो,’ उनले भने, ‘करीब चार सयको विवरण आएको थियो, तर केही नामहरूको डकुमेन्ट नपुगेकाले हामीले उनीहरूको बीमा गर्न सकेनौँ।’ उनले जिल्लाका सबै सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरू बीमामा समेटिएको बताए।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले यसअघि युनियनले कोरोना बीमा पनि गरेको र अहिले दुर्घटना बीमा गरेको बताए। २ सय ६० जना सञ्‍चारकर्मीको बीमा गर्ने सम्झौता भएपनि कागजात माग गर्दा धेरै संख्यामा सञ्‍चारकर्मीहरूले आवेदन दिएपनि ३ सय १४ जना बीमा गरिएको अध्यक्ष अधिकारीले बताए। सम्झौताभन्दा माथि गरिएका बीमित सञ्‍चारकर्मीहरूले तिर्नुपर्ने रकम भने युनियनले नै तिरेको अधिकारीले बताए।

‘यसअघि कोरोना बीमा गरिएका २ सय ६० पत्रकारमध्ये ३२ जनालाई कोरोना लागेको थियो,’ उनले भने, ‘ती मध्ये २२ जनाको १ लाख रुपैयाँका दरले रकम आइसकेको छ।’ उनका अनुसार दुर्घटना बीमा गरेका सञ्चारकर्मीको दुर्घटना भएर मृत्यु भएमा परिवारले ७ लाख रूपैयाँ पाउनेछन्‌ भने घाइते भएमा उपचार खर्च वापत ७० हजार रूपैयाँसम्म रकम प्राप्त गर्नेछन्‌।

​यसअघि युनियनले विराटनगरको नोबेल अस्पतालसँग पत्रकारको उपचार खर्चमा लाग्ने ५० प्रतिशत छुटका लागि सम्झौता समेत गरेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.