|

जयमान बुढा मगर

रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिका–१२ कोलका एक युवा व्यावसायिक रूपमा फलफूल खेतीसँगै बाख्रा पालन गरिरहेका छन्। पुथा–१२ कोलका ३५ वर्षीय गंगाप्रसाद बुढा मगरले कृषिबाट व्यावसायिक बन्नका लागि फलफूल खेतीसँगै बाख्रापालन थालेका हुन्। 

रोजगारीको सिलसिलामा तीन वर्ष विदेश बसेका उनले स्वदेश फर्केर नौ वर्षसम्म खच्चड पालेर गाउँमा ढुवानी गर्ने पेशा गरेका थिए। कोलसँग पुथा–१४ राङ्सी सडक सञ्जालको पहुँचमा पुगेपछि बुढा फलफूल खेती र बाख्रापालनमा होमिएका छन्।

हालसम्म उनले आफ्नै लगानीमा फलफूल खेतीमा साढे चार लाख रुपैयाँ र बाख्रा पालनको लागि साढे सात लाख रुपैयाँको गरी १२ लाख रुपैयाँ लगानीमा रोजगारी मुलक कृषि व्यवसाय थालेका छन्।  

एक सयवटा बाख्रा अटाउने क्षमताको सोही वडाको गोल्खाडामा आधुनिक गोठ तयार गरेका छन् भने पुथा–१२ कै चुम्गामा तीन सय बोट टिमुरका विरुवा लगाएका छन्। यसैगरी, ढुमलागामा कागती र सुन्तला गरी साढे तीन सय बोट, गोल्खाडामा साढे चार सय बोट स्याउ र कोलमा तीन सय बोट स्याउका विरुवा र गोल्खाडामै एक सय ४२ बोट दाँते ओखर हुर्काइराखेको बुढाले जानकारी दिए।

मलका लागि बाख्रापालन

फलफूल खेतीको लागि मल आवश्यक परेकोले बाख्रापालन पनि गर्न गरिएको उनले बताए। बाख्रा पालनको लागि आधिुनिक गोठ तयार गरी हाललाई ५० वटा बाख्रा पालेर दुई जनालाई रोजगार दिइएको बुढाले बताए।

गंगा कृषि उत्पादन तथा पशु फर्म नामकको फर्म दर्ता गरी रोजगारीमूलक कृषि व्यवसायमा लागेका बुढाले सरकारसँग कृषि अनुदानको लागि पहल गरिरहेका छन्।

विभिन्न फलफूलका गरी करिब १६-१७ सय विरुवा घेरबारबिना हुर्किराखेकाले सरकारसँग तत्कालको लागि घेराबारको अपेक्षा उनको छ।

उनको बाख्रापालन फर्म केही दिनअघि प्रतिनिधिसभा सदस्य कमला रोका, प्रदेशसभा सदस्य तेजबहादुर ओली, जिल्ला समन्वय समितिका उप–प्रमुख भीमकुमारी पुन, पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष ओमकुमारी शाही (मल्ल) लगायतले निरीक्षण गरेका थिए।

निरीक्षणको क्रममा प्रतिनिधिसभाका सदस्य रोकाले सिर्जनशील युवाको लागि तीन तहकै सरकारबाट उपलब्ध हुने कृषि अनुदान दिईइ थप निजी व्यवसायीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.