|

दिल्लीको मध्यभागमा अवस्थित आइटीओ चोकमा मध्याह्न १ बजेतिर एक किशोर निकै तीव्र गतिमा दौडँदै आए र चिच्याए : 'हिँड! सबैजना हिँड! हाम्रो एक जना साथीलाई प्रहरीले मारिदियो!' 

हातमा फलामका छडी र डन्डा लिई ट्रयाक्टरमा आएका प्रदर्शनकारी नयाँ दिल्ली स्टेशनतर्फ अघि बढ्छन्। करिब २०० मिटर दूरीअघि आन्ध्र शिक्षा समाजको बाहिर नीलो रङको एउटा ट्रयाक्टर पल्टिरहेको देख्छन्। 

सोही ट्याक्टरको छेउमा एक जना किसानका शव भारतीय झण्डाले छापेर राखिएको थियो। गणतन्त्र दिवसकै दिन अधिकार माग्दै आन्दोलन गरिरहेका किसानलाई सरकारले मारिदिन्छ र राष्ट्रिय झण्डा शव छोप्न प्रयोग गरिन्छ भन्ने सायद कसैले सोचेका थिए।

ट्याक्टरमा आएका युवाहरू शवनजिक पुग्छन् र अनुहारबाट झण्डा हटाइदिन्छन्। शवको पहिचान खुल्ने केही कागजात भेटिन्छ कि भनी मृतकको गोजीतिर छाम्छन्। मोबाइल भेटिन्छ। मृतकको औंलामा छुवाएर फोनको लक खोल्न प्रयास गर्छन्, तर खुल्दैन। 

भीडबाट कसैले भन्छ : 'फोनमा फेसलक राखिएको होला!' 

त्यसपछि फोनलाई मृतकको अनुहार नजिक ल्याइन्छ। तर फेरि खुल्दैन। किनकी टाउकोबाट बगेको रगतले लत्पत्तिएको उनको अनुहार सजिलै ठम्याउनसक्ने अवस्थामा हुँदैन।

एक गणतन्त्र, दुई अनुहार

रक्तमुच्छेल भई भुइँमा ढलेका किसानको शवले भारतमा गणतन्त्रको दोहोरो चेहरालाई पुष्टि गर्छ। 

अगाडिको दृश्य अझ कारुणिक बन्छ। केही बेरमै रुँदै अर्का किशोर आउँछन् र शवलाई अँगालो हाल्छन्। किशोरसँगै त्यहाँ आएका मानिसहरूले भन्छन्, 'प्रहरीको गोलीबाट मारिएका किसानको नाम नवरीत सिंह हो।'

थप पहिचान सोधिएपछि रिसाएका किसानहरूले भने, 'के तँलाई चिट्ठी पठाउनुपर्ने हो र धेरै सोध्छस् ? गाली लागेको छ, देखिनस् ?' 

प्रदर्शनकारीहरूले केही समयपछि नवरीतको शवलाई आइटीओ चोकमा ल्याएर राख्छन्। 

भीडले भरिएको लालकिल्लाबाट करिब साढे २ किलोमिटर वर पर्ने आइटीओ चौराहा त्यही ठाउँ हो : जहाँ केहीबेर अघि प्रहरीले आन्दोलनकारी किसानहरूतर्फ प्रहार गरेको अश्रुग्यास र गोलीको कर्कश आवाज सुनिएको थियो।

यही चोकबाट करिब ३ किलोमिटर पर राजपथमा पनि ३ घण्टा पहिले तोप गोलाको आवाज गुञ्जिएको थियो। 

यी दुवै आवाजलाई जुन दिनांकको धागोले जोडेको थियो : क्यालेन्डरमा त्यो दिन भारतीय गणतन्त्र दिवस  उल्लेख थियो।

केही समयअघि मात्रै राजपथमा जुन हिन्दुस्तानको झाँकी देखाउँदै हेलिकप्टरबाट फूल बर्साइएको थियो, त्यसको केही समयपछि नै हिन्दुस्तानलाई नै घाइते बनाइदिने दोस्रो झाँकी दिल्लीको लालकिल्ला, अक्षरधाम, नांगलोइ र आइटीओमा देख्नुपर्‍यो। 

यसरी एक गणतन्त्रको दुई चेहराले आन्दोलनकारी किसान र प्रहरीलाई पनि शिकार बनायो। यो कुनै कथा होइन, बरु २५ जनवरीको साँझदेखि २६ जनवरीको बेलुकीसम्म भएको हिंस्रक झडपको विवरण हो। 

गाजीपुर बोर्डरतर्फ अघि बढ्दा

ट्याक्टर दिल्लीको आनन्द विहारबाट ​ गाजीपुर बोर्डरतर्फ अघि बढ्दै थियो। किसानहरू 'किसान आन्दोलन–जिन्दावाद!' नारा लगाउँदै थिए। 

गाजीपुर फ्लाइओभर तलको सडकमा रिक्सा किनारा लगाई रवि फुटपाटमा सुत्न जाँदै थिए। उनी भन्दै थिए, 'यहाँ किसानको आन्दोलन छ, मोदी (भारतीय प्रधानमन्त्री) को अनेक चक्करका कारण यसो भइरहेको छ।'

रवि धेरै वर्षदेखि दिल्लीमा छन्, तर कहिल्यै जनवरी २६ को परेड र गणतन्त्र दिवसबारे जान्दैनन्। उनलाई यतिमात्रै चिन्ता छ : बस् काम पाइयोस् र खानपिन गरेर दैनिक २५० रुपैयाँ जोगाउन सकियोस्। 

केही परबाट ट्याक्टरमा आएका रविन्दर सिंह बोल्छन्, 'म त दिल्लीको हालचाल बुझे आएँ, किसानले ल्याएका ट्याक्टरलाई तेल नदिने भनिएको छ, मसँग ३ वटा ट्याक्टर छ, ती ट्याक्टरबाट तेल निकालेर ल्याएँ, जनवरी २६ मा एउटा र्‍याली उनीहरू (सत्ता) ले निकाल्नेछ र एउटा हामीले निकाल्नेछौं। हामीलाई त आफूले निकाल्ने परेडप्रति धेरै उत्साह छ।'

मिडियालाई गाली गर्दै रविन्दर भन्दै थिए, 'युट्युबरहरूले किसानका समस्यालाई देखाइरहेका छन्, तर ठूला च्यानलजति सबै बिकाउ रहेछन्, आन्दोलन शुरू भएयता हाम्रा धेरै किसान दाजुभाई मारिएका छन्, तर उनीहरूले यसबारे जनतालाई जानकारी नै दिएका छैनन्, उनले थपे, मिडिया यस्तै रहेछ, प्रहरीले हामीलाई जान दिएन भने अब वारपार हुन्छ, कि त उनीहरू रहनेछैनन्, या हामी रहनेछैनौं।' 

लालकिल्लामा तिरंगा फहराउन खोज्दा रगत बग्यो

केही पर रहेको बेंगलुरुमा इन्टेल कम्पनीमा रोजगारीबारे कुरा गरिरहेका विनीत कुमार भेटिए। उनी आन्दोलनकारीका तर्फबाट ट्राफिक व्यवस्थापन गर्न खटिएका थिए।

विनीतले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आफ्नो मोहभंग भइसकेको बताए। उनले भने, 'म ढाँट्दिनँ। मैले चुनावताका मोदीको प्रचार गरेकै हुँ। हामीले भोट दियौँ, तर अहिले म यहाँ यस्तो अवस्थामा छु।'

मुजफ्फरनगरबाट ३ दिनअघि आएका विनय ट्याक्टरमा बाजा बजाइरहेका हुन्छन्। उनी भन्छन्, 'ओ पिज्जा र बर्गर खानेहरू! तिमीले कहिल्यै सोचेका छौ कि त्यो बनाउने अन्न कसरी फल्छ? गहुँ किसानले नै दिन्छन्, चामल पनि किसानले नै दिन्छन्, वर्गरमा किसान छन्, पिज्जामा किसान छन्। तिमीहरू नै भन–हामी यहाँ नआए कहाँ जाऔं ? घरमै बसेर के गरौँ ? हामी पसिना बगाइरहेछौं, यो सरकारले बनियाँ (व्यापारी) हरूलाई पोस्न खोज्दैछ, तिमीहरू नै भन– हामी के गरौँ ?' 

गणतन्त्र दिवकास दिन दिल्ली जाने कि नजाने भनी सोध्दा विनयले भने, 'त्यहाँ त झण्डा फहराइन्छ, होइन? हामी पनि लालकिल्लामा जान्छौं र झण्डा फहराउँछौं।
लालकिल्ला किसान परेडको रुट थिएन र किसान नेताहरू पनि त्यहाँ जान तयार छैनन् भनी सुनाउँदा उनी भन्दै थिए, भोलि तपाईंले हाम्रो ट्याक्टर र्‍याली हेर्नुहोला, त्यो फरक र अलग्गै देखिनेछ।' 

विनयले फोनबाटै २६ जनवरीमा बजाउने गीतको सूची देखाए र एउटा गीत छानेर बजाए– 'हामी लिएरै जानेछौं...'

त्यहाँबाट केही अघि बढ्दा युवाहरूको एक समूह मोदीको नाम लिँदै उनीमाथि गाली बर्साइरहेका थिए। टेलिभिजनका एक पत्रकार र युट्युब चलाउने एक व्यक्तिको भिडियो किसानहरूलाई देखाउँदै थिए। किनकी दुई माध्यममा किसान आन्दोलनबारे आएका सामग्री विपरीत थिए।

त्यही छेवैको ट्याक्टरमा उत्तर प्रदेश प्रहरीको ज्याकेट लगाएका केही प्रहरीहरू बसेका थिए। प्रतिक्रिया लिन खोज्दा उनीहरू भन्दै थिए, 'हामी प्रहरी होइनौं, किसानहरूलाई भेट्न आएका हौं।' 

रातको साढे १० बज्न लागेको छ। सडकको एकापट्टी किसानको मञ्च छ। किसान नेता राकेश टिकैत भीडबाट घेरिएका छन्। धेरै मानिसहरू टिकैतसँग सेल्फी लिन हानाथाप गरिरहेका छन्। किनकी टिकैत किसान आन्दोलनका नेता हुन् र उनी यतिखेर लोकप्रिय छन्। 

केहीबेर अघि लागेको 'किसान एकता-जिन्दावाद!' नारा केही क्षणमै 'राकेश टिकैत र परिवार-जिन्दावाद!' मा बदलिइसकेको छ। 

टिकैतका एकजना फ्यान मोहम्मद आरिफ सेल्फीबारे भने, 'नेतालाई देख्दा हामी निकै खुशी छौं।' 

गह्रुंगो मोटरसाइकललाई सिधै उठाउने ब्याक गियरमा चलेको ट्याक्टरलाई रोक्ने गरेर चर्चा कमाए बागपतका मोहसिनलाई पनि मानिसहरूले घेरिरहेका छन्। 

३० विगाहा खेतका मालिक एवम् पावर लिफ्टर मोहसिन भनछन्, 'जतिवटा रुट छ, ती सबैमा भोलि म मेरो क्षमता देखाउनेछु। सबै काम शान्तिपूर्वक हुनेछ।' 

वञ्जित भारत...

'तिम्रो जेलमा कति ठाउँ छ, जति सक्छौ–तिम्रो जेल भर। हामी जेलमा पुग्यौं भने त्यहाँ रहेका अपराधीलाई पनि आन्दोलनकारी बनाइदिन्छौं, सडकमा रगत बगिरहेको छ, जति रगत पिउन मन लाग्छ, पिऊ।' 

मुरादावादबाट आएका केही कलाकार ढपली बजाउँदै यही व्यहोराको गीत गाइरहेका छन्। ढपलीमा लेखिएको छ–'वञ्चित भारत, मेरो भारत।'

कलाकारहरूको समूहमा रहेका निर्देश सिंह भन्छन्, '२६ जनवरीका दिन हुने किसान परेडको तयारीमा महिलाहरू पनि जुटेका छन्। अहिले रात परेकाले सबैजना सुत्ने तयारीमा छन्। हेर्नुस् : जहाँ पुरुषमात्रै हुन्छन्, त्यहाँ पितृसत्ता हुन्छ। अहिले त हामीलाई कुनै समस्या छैन। किनकी यहाँ महिलाहरू पनि आन्दोलनमा अघि बढ्दैछन्।'

बालबालिकाको आँखामा शासनको चित्र

गाजीपुर फ्लाइओभरमा कार रोकेर एक परिवारले आफ्ना बच्चाहरूलाई तल रहेका ट्याक्टरको लाइन देखाए। 

गाजियावादका सुरप्रीत कौर र अमनदीप सिंह भन्दै थिए, 'हामीले हरेक वर्ष आफ्ना बच्चाहरूलाई टेलिभिजनमा गणतन्त्र परेड देखायौं, तर यसपटक किसानको परेड पनि देखाउँदैछौं। जनता, सत्ता र शासक बुझाउन हाम्रा बालबालिकालाई यो परेड देखाउन जरुरी छ।'

दिल्लीतर्फ निकै ठूलो संख्यामा सुरक्षाबल तैनाथ गरिएको थियो विद्यालयहरूमा गणतन्त्र दिवसलाई राष्ट्रिय पर्व भनी पढाइँदै थियो। 

मुरादावादबाट आएका कलाकारहरूले अर्को गीतको लाइन गाए, 'धर्म र जातको नाममा यहाँ दंगा गराइन्छ।' 

रातिको १२ बज्यो। गते बदलियो। भोलि बिहान उठेपछि भारतीयहरूले दुईवटा परेड देख्नेछन्। राजपथमा सुरक्षाकर्मीको र लालकिल्लामा किसानको। 
राजपथमा सैन्य परेड निकाल्ने सडक बन्द गरिएको छ। 

बिहान ७ बज्यो। राष्ट्रपति र प्रधानमन्त्री जहाँ बसेर सलामी लिइरहेका छन् : त्यहाँ बुलेटप्रुफ सिसामा जमेको धुलो सफा गरिँदैछ, ताकि देशको झाँकी सफा देखियोस्। 

देशभक्तिपूर्ण गीत बजाइएको छ। ठीक यतिखेर चाहिँ एक नयाँ गीत 'शेर हम लगवान के...' बजिरहेको छ। 

परेडबारे जानकारी दिइरहेकी उद्घोषिका शुरूमै देश जोड्ने सरदार पटेल र संविधानबारे डा. अम्बेडकरको जिकिर गरिरहेकी छिन्। 

प्रधानमन्त्री नरेन्द्र मोदी राजपथमा आइसकेका छन्। जतिबेला उनी परेड हेर्न आएका दर्शकतर्फ हात हल्लाउँछन्, नजिकै रहेका मानिसहरूको अनुहारको आभा सत्तासीनजस्तो र देश नै उनीहरूले बचाइदिएजस्तो देखिन्छ। 

उद्घोषिकाको आवाजमा पनि यो झल्किन्छ। लगभग राष्ट्रपतिले गर्ने भाषणको शैलीमा उनी बारम्बार प्रधानमन्त्री मोदीको नेतृत्वमा राम्रा काम भएका भनिएका विवरण बारम्बार भट्ट्याउँछिन्।

​राष्ट्रपति आएपछि सेनाले दिएको २१ तोपको सलामीले राजपथको जमिनमा सानोतिनो भुइँचालो जान्छ। हेलिकप्टरबाट फूल बर्साइन्छ र राजपथमा परेड शुरू हुन्छ। 

झाँकीमा हराएका किसान

​सडकमा एकपछि अर्का झाँकीहरू प्रस्तुत हुन्छन्। एउटा झाँकी सकिएपछि सडक ब्रुमर अघि बढ्छ। 

परेड देखाइएको सडक प्रदर्शनकारी किसानलाई रोक्न प्रशासनले खनेको सडकभन्दा विल्कुलै फरक थियो। 

दिल्लीको झाँकीमा मन्दिरका शंख, मस्जिदको अजान र गुरबानीको आवाज सुनियो।

यो झाँकीलाई टेलिभिजनबाट हेरिरहेकी अभिनेत्री कंगना रनौतले ट्विटरमा तस्वीर साझेदारी गर्दै लेखिन्, 'यो भातको राजधानीमा निकालिएको झाँकी हो, मुस्लिम या इसाई बाहूल्यता भएको देशका गणतन्त्र दिवस यस्तो हुन सक्छ? सोच्नुस् र सोध्नुस्...!'

पञ्जाबको झाँकीमा गुरुद्वारा, उत्तराखण्डकोमा केदारनाथ मन्दिर, महाराष्ट्रकोमा सन्त परम्परा, गुजरातकोमा सूर्य मन्दिर, लद्दाखकोमा बौद्ध मन्दिर र आन्ध्र प्रदेशको झाँकीमा लेपाक्षी मन्दिरको नमूना देखाइयो। 

उत्तर प्रदेशको झाँकीमा राम मन्दिर देख्नासाथ दर्शकहरूले बजाइरहेको तालीको आवाज झन् बढ्यो। 

एक झाँकीमा बच्चाहरू नृत्य गर्दै दौडिइरहेका थिए। परेडमा विद्यार्थीहरूलाई सहभागी गराउन ल्याएका शिक्षकहरूको स्वास फुलिरहेको थियो। धेरै पढेका मानिसहरूको स्वास फुलाउने हिन्दुस्तानको यो झाँकी कति सत्य छ भन्ने यसबाट पनि बुझिन्थ्यो।

परेड सकिनुअघि वायुसेनाको विमान नजिकै भएर उडे। वायु युद्धकौशल देखाइरहेको लडाकु विमान राफेल आकाशमा देखिएर यति छिटो गायब भयो कि धेरैले राम्रोसँग देख्नै पाएनन्। 

प्रधानमन्त्री मोदीले राष्ट्रपति रामनाथ कोबिन्दलाई बिदा गरी फेरि दर्शकतर्फ हात फैलाए। सुरक्षाबलका केही अधिकारीहरूसमेत दर्शकसँगै 'मोदी!...मोदी!!' चिच्याउँदै सेल्फी लिन हतारिए। 

जनवरी २६ को मध्याह्न १२ बज्न लाग्दै थियो। राजपथमा रहेका 'शोभायमान भारतीयहरू' उठ्दै थिए। 

बिहारका ज्योति र सुनिलले भने, 'परेड हेर्न पाउँदा निकै खुशी लाग्यो, किसानको पनि परेड हुँदैछ र त्यो ऐतिहासिक हुनेछ। किसान र सरकारले वार्तामार्फत समस्याको समाधान निकाल्नुपर्छ। पञ्जाबको झाँकीमा किसानलाई झल्काउने केही देखिएन।'

दिल्लीको गोल मार्केटबाट सरकारी परेड हेर्न आएका भागीरथ कुमारले भने, 'हेरेपछि पो ख्याल आयो कि त्यहाँ त किसानलाई देखाइएकै थिएन। प्रधानमन्त्री मोदी राम्रा नेता हुन् भने किसानबारे सोच्नुपर्थ्यो।' 

राजपथ बाहिरको दिल्ली 

सरकारी परेड सकिनासाथ राजपथभन्दा थोरै पर रहेको ठाउँमा पुगी मोबाइल खोल्दा किसानहरूको परेडमा हिंसा भएको थाहा लाग्यो। अक्षरधाम, लांगलोइ र सिंघु बोर्डरमा पुलिस र प्रदर्शनकारीहरूबीच झडप भयो। 

गाजीपुरतर्फ जाने अधिकांश सडक बन्द गरिएको थियो। प्रगति मैदान र भैरो मन्दिरतर्फ जाने सडक पनि प्रहरीले बन्द गरेको थियो। 

सराय काले खाँ र इन्द्रप्रस्थ पार्क हुँदै किसानका ट्याक्टरहरू आइटीओतर्फ तीव्र गतिमा अघि बढ्दैछन्। 

जेवरबाट ट्याक्टर लिएर आएका भीमले राजपथको सरकारी परेडप्रति लक्षित गर्दै भने, 'अब हाम्रो परेड हेर्नुहोस्।' 

बुलंदशहरबाट आएका किसानहरूले ट्याक्टर रोकेर भने, 'गाजीपुर हुँदै आएका हौं, दिल्ली जाँदैछौं, लालकिल्ला जान्छौं।' 

'यो त आन्दोलनको रुट होइन नि!' भनी सोध्दा किसानहरूले भने, 'रुट नभएर के भयो त? बहिरो सरकारले सुनिरहेको छैन, हामी के गरौँ ? नेताहरूले तय गरेको रुट बेरिकेड लगाएर प्रहरीले अवरुद्द पारेको छ, किसानहरूलाई हिंसातर्फ उन्मुख गराउन राज्यले उक्साइरहेको छ, हामी लालकिल्ला पुग्न चाहन्छौं, हामीलाई रोक्नसक्ने तागत सत्तासँग अब छैन, उनीहरू हतोत्साही भैसकेका छन्।' 

ट्याक्टरको बोनटमा तौलिया ओछ्याएर बसेका एक व्यक्तिले भने, 'भाई हामीलाई खालिस्तानी भएको आरोप लगाइएको छ, यदी हामी खालिस्तानी विद्रोही हुन्थ्यौं भने भारतको तिरंगा किन लहराउँथ्यौँ? त्यसो भन्नेहरूले देखुन् कि यो सारा भीडमा किसानहरू छन्, भाडाका मानिसहरू होइन।' 

आइपी डिपोनजिकै बनेको बसस्ट्याण्डमा एक वृद्ध जोडा बसेका छन्। उनीसँग कुरा गर्दा भने, 'हामी त २६ जनवरीवाला परेड हेर्न आएका थियौँ, तर यसपाला आइटीओमा त्यो परेड भएन, हामी कुर्दाकुर्दै थाक्यौँ, अब किसानको परेड हेरेर जान्छौँ।' 

सडकमा सेनाको परेड, सडकमै किसानको शव

दिउँसो १ बज्यो।

आइटीओमा रहेको प्रहरी मुख्यालयअघि किसानले ल्याएका सयौं ट्याक्टरहरू राखिएका छन्। 

हातमा फलामको रड लिएका केही प्रदर्शनकारीहरू सडकको बीचमा राखिएको ब्यारिकेड तोड्दै थिए। सो दृश्य कैद गर्न खोज्दा फोन खोसियो। उनीहरू भन्दै थिए, 'जाउ प्रहरीको भिडियो बनाउन, जो हामीलाई मार्दैछन्।' 

किसानहरू आइटीओको मुख्य चोकतर्फ अघि बढ्न खोज्दा प्रहरीले अश्रुग्यास बर्साउन थाल्यो। आँखाबाट पीरो हटेपछि हेर्दा रगतमा लत्पतिएका एक क्यामरापर्सन र अर्की युवती रुँदै भीडबाट निस्कँदै थिए। 

केही बेरपछि प्रदर्शनकारीहरूले चोकमा मृतक नवरीत सिंहको लाश ल्याएर राखिदिए। केही प्रदर्शनकारी भन्दै थिए, 'हामी ट्याक्टर लिएर आउँदै थियौं, प्रहरीले पहिले टायरमा गोली हान्यो, फेरि टाउकोमै ताकेर हान्यो।' 

महात्मा गान्धीको मुस्कान र हिंसा

नवरीतको शवनजिक पत्रकार पुग्नासाथ प्रदर्शनकारीहरू चिच्याउने र खेद्ने गर्थे। केही पर प्रहरी हेडक्वार्टर बाहिर भारतीय स्वतन्त्रता संग्रामका महारथी मानिएका महात्मा गान्धीको विशाल तस्वीर टाँगिएको थियो। सो तस्वीरमा गान्धी मुस्कुराइरहेका देखिन्थे। 

नवरीतको शवननजिक बसेका आन्दोलनकारी सतनाम वाहेगुरु, सतनाम वाहेगुरु पढिरहेका थिए। 

बेलुकी पाँच बजेतिर नवरीतको शव मिनी ट्रलीमा राखेर गाजीपुर बार्डर हुँदै घर लैजान पठाइयो।

आइटीओ बाहिर रहेका सबै ट्याक्टरलाई किसानहरूले गाजीपुरतर्फ कुदाउन थाले। 

प्रहरीहरू पनि तैनाथ गरिएको स्थानबाट थकित मुद्रामा फर्किइरहेका थिए। एक प्रहरी जवानले भने, '३६ घण्टादेखि हामीलाई हामीलाई यहाँ उभ्याइएको हो, न खान दिइयो, न केही पिउन, कहिले घर जान दिन्छन्, थाहा छैन।'

राजपथमा सेनाका जवान आउँदै गर्दा उद्घोषिका निकै बनिबनाउ भाखामा बोलिरहेकी थिइन्, 'सीमामा दुश्मनको सातो खाने हाम्रो सेना...!!!'

गणतन्त्र दिवसको परेड भएको ठाउँ नजिकै कुनै सीमा थिएन। देशकै राजधानीमा खटाइएका जवानहरूले सातो त लिन खोज्दै थिए, तर कोही बाहिरी दुस्मनको होइन, अधिकार मागिरहेका देशभक्त किसानहरूको। 

२६ जनवरीको रात इन्डिया गेट हुँदै फर्कँदै गर्दा त्यहाँ भारतीय झण्डाले बनेको एक घेरा देखियो। 

किसान आन्दोलनमा नवरीतको शवमाथि झण्डा ओढाइएको थियो।

(बीबीसी हिन्दीमा विकास त्रिवेदीले लेखेका सामग्री भावनुवाद गरिएको। तस्वीर : ऐ.)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.