|

काठमाडाैं : जापान सरकारले निर्माण गरेको बिपी राजमार्ग भूकम्पपछिको पुनर्निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण भएको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विहीबार आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो। २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त राजमार्गको पुनर्निर्माण गत महिना सम्पन्न भएपछि जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।

राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताए। नेपालको ऊर्जा, यातायात, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना र कृषि क्षेत्रमा जापान सरकारको महत्वपूर्ण योगदान रहेको बताए।

मन्त्री नेम्बाङले नेपालको विकासमा जापानको सहयोगको प्रशंसा समेत गरे। जापानले नेपालको पूर्वाधार क्षेत्रमा गरेको सहयोग देशको विकासका लागि कोशेढुंगा भएको पनि बताए। आगामी दिनमा पनि जापान सरकारले सडक पूर्वाधार निर्माणमा सहयोग जारी राख्ने विश्वास समेत व्यक्त गरे। 

देशको केन्द्रीय राजधानीलाई पूर्वी तराईसँग जोड्ने १ सय ६० किलोमिटर लामो बिपी राजमार्ग जापानले सन् १९९६ मा निर्माण सुरु गरी सन् २०१५ मार्चमा सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गरेको थियो।

तर हस्तान्तरण गरेको दुई महिना नबित्दै २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको थियो। त्यसपछि पनि जापानले राजमार्ग पुनर्निर्माणको जिम्मा लिँदै सन् २०१९ जुलाई ३ देखि जापानी निर्माण कम्पनी हाजमा अण्डो कर्पोरेसनमार्फत काम सुरु गरेको थियो।

करिब १८ महिना अर्थात् सन २०२१ जनवरी १८ मा राजमार्ग पुनर्निर्माण सम्पन्न गरी जापानले बिहीबार नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.