|

काठमाडौं : प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेटको उपाधिका लागि विभागीय क्लब त्रिभुवन आर्मी र सशस्त्र प्रहरीकाे एपीएफ क्लब भिड्ने भएका छन्। 

बिहीबार भएको खेलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मीले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा आर्मीले दिएको २ सय ३० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बाग्मती प्रदेशले ४० ओभर २ बलमा अलआउट हुँदै १ सय ३५ रन मात्र बनाउन सक्यो।

 कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४७ रन बनाए पनि हार टार्न पर्याप्त भएन। नन्दन यादव २२ रनमा अविजित रहँदा विपिन आचार्य २३ तथा आदिल खानले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। बागमतीलाई सस्तैमा समेट्न आर्मीका जितेन्द्र मुखियाले ४ विकेट लिए भने विक्रम सोब र सुसन भारीले समान ३/३ विकेट खसाले।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा अलआउट हुँदै २ सय २९ रन बनाएको थियो। आर्मीका राजेश पुलामीले ६५ रनको अर्धशतकीय पारी खेले। यस्तै भिम सार्कीले ४०, विक्रम सोबले ३५, लोकेश बमले २३ रन जोड्दा कप्तान विनोद भण्डारीले १० रनमात्र बनाउन सके।

बागमतीका गौतम केसीले ५ विकेट लिए भने रामनरेश गिरी, नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले १/१ विकेट लिए। एपीएफ बुधबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ। फाइनल खेल आगामी शनिबार विहान ९ बजे कीर्तिपुरमै हुनेछ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.