|

काठमाडौं : ‘मेरो छाेरा श्रवण-दृष्टिविहीन विकलाङ्ग हुन्‌, अस्पतालमा उपचार गर्न जाँदा पनि आनाकानी गर्छन्‌, समाजमा हेर्ने दृष्टिकोण फरक भएकाले बाहिर छोरालाई ल्याउन पनि सक्दैनौँ, यो सबै समस्या मिडियाले लेखिदिनुपर्‍याे।’

राष्ट्रिय बहिरा महासंघ नेपालले राजधानीमा बिहीबार आयोजना गरेको श्रवण-द‌ृष्टिविहीन विकलाङ्गताबारे अभिमुखीकरण कार्यक्रममा श्रवण-द‌ृष्टिविहीन अभिभावक समाजका अध्यक्ष लाक्पा नुरु शेर्पा आग्रह गर्दैथिए।

सोलुखुम्बु स्थायी ठेगाना भएका लाक्पाका ११ वर्षीय छोरा शाइन शेर्पा श्रवण-द‌ृष्टिविहीन विकलाङ्ग हुन्। अहिले उनीहरू बूढानिलकण्ठ नगरपालिका-७, गल्फुटारमा बस्दै आएका छन्। उनका अनुसार छोरा ओम अस्पतालमा जन्मेका थिए। जन्मेपछि दुई महिना सघन हेरचाह केन्द्र (आइसीयु) मा राखियो। ६ महिनापछि मात्रै उनका आँखा र कानले काम नगरेको थाहा भयाे।

'अस्पतालका चिकित्सकहरूले तपाईंको बच्चा शारिरिक रूपमा अपरिपक्व (प्रिमेच्यअर) हो, अरू बच्चासँग तुलना नगर्नुहोला भन्नुभयो,’ उनले भने, ‘अस्पतालमा बढी अक्सिजनमा राखिएकाले आँखाको नशा मरिसकेको रहेछ। यस्तो समस्या भोगेका बच्चाको उपचार कतै पनि नहुने रहेछ।’

छोरा श्रवण-द‌ृष्टिविहीन विकलाङ्गताका भएकाले आर्थिक, सामाजिक र राजनीतिक रूपमा पनि पछि पर्ने गरेको उनले गुनासो पोखे। ‘मेरो छोरालाई एक जनाले नियमित हेरचाह गर्नुपर्छ, उपचारको लागि अस्पतालमा जाँदा पनि डाक्टर आनाकानी गर्छन्, श्रवण-द‌ृष्टिविहीन विकलाङ्गता भएकाको अभिभावकलाई त बाँच्न नै कठिन हुँदोरहेछ,’ उनले कार्यक्रममा समस्या सुनाउँदै भने। 

श्रवण-द‌ृष्टिविहीन विकलाङ्गता भएका व्यक्तिलाई समाजले पनि फरक ढंगले नै सोच्ने गरेको उनको अनुभव छ। भन्छन्‌, ‘ती व्यक्तिलाई केही थाहा नै हुँदैन, केही न केही बिगार वा हल्ला गर्छन्‌, तर, यस्ता गतिविधि समाजले बुझ्दैन। त्यसैले हामी बालबालिका बाहिर नै निकाल्दैनौँ।’ 

श्रवण-द‌ृष्टिविहीन विकलाङ्गता व्यक्तिको हेरचाहका लागि एक जना व्यक्ति राख्न सरकारले तलब नै छुट्याइदिनुपर्ने उनको माग छ। ‘श्रवण-द‌ृष्टिविहीन विकलाङ्गता भएका व्यक्तिका लागि अनिवार्य एक जना व्यक्ति चाहिन्छ, परिवारका सदस्यले उनलाई हेर्नु कि काम गरेर परिवार पाल्नु ? त्यसैले सरकारले नै न्यूनतम तलब दिएर एक जना सहयोगी मान्छे राखिदिए धेरै हामीलाई राहत थियो,’ उनले भने।

सरकारले श्रवण-द‌ृष्टिविहीन विकलाङ्गताहरूका लागि एउटा स्कुल खोलिदिए उनीहरू पढाइबाट बञ्चित नहुने शेर्पाले बताए।

श्रवण-द‌ृष्टिविहीन विकलाङ्गता एवम्‌ विश्व श्रवणविहीन महासंघका कार्यकारी परिषदका सदस्य पुष्पराज रिमालले श्रवण-द‌ृष्टिविहीन विकलाङ्गका लागि चाहिने आवश्यक सामग्रीहरू सरकारले उपलब्ध गराउनुपर्ने माग राखे।

‘श्रवण-द‌ृष्टिविहीन विकलाङ्गका लागि आवश्यक पर्ने सामग्रीहरू एकदमै महंगो पर्ने र नेपालमा पाइँदैन। सरकारले एउटा कोष नै खडा गरेर छडी र कम्प्युटर लगायत आवश्यक सामग्री खरिद गर्न माग गर्दछु,’ उनले भने, ‘मलाई अनिवार्य एक जना सहयोगी व्यक्ति चाहिन्छ, हामीले आफैँ तलब राखेर ती सहयोगी व्यक्ति राख्न सक्दैनौँ, त्यसैले सरकारले तलब दिएर सहयोगी व्यक्ति राख्ने व्यवस्था गरे धेरै सुविधा हुनेथियो, तालिमको व्यवस्था,जीवन धान्न सक्नेगरी भत्ताको पनि व्यवस्था हुनुपर्छ।’

अभिमुखीकरण कार्यक्रममा महासंघ नेपालका सचिव सूर्यबहादुर बुढाथोकीले काठमाडौं जिल्लासहित पोखरा,मोरङ लगायत अन्य जिल्लामा पनि श्रवण-द‌ृष्टिविहीन विकलाङ्गतासम्बन्धी चेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै आएको जानकारी दिए।

कस्तालाई श्रवण-द‌ृष्टिविहीन विकलाङ्ग भनिन्छ ?

महासंघ नेपालका तालिम अधिकृत अस्मिता शाक्यका अनुसार श्रवण-द‌ृष्टिविहीनता एक पृथक वर्गको विकलाङ्गता हो, जसलाई दुई इन्द्रीय (सुनाई र दृष्टि) सम्बन्धी विकलाङ्गताको रूपमा बुझ्न सकिन्छ।

सरकारले २०७४ मा पारित गरेको विकलाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनमा श्रवण दृष्टिविहीनतालाई विकलाङ्गताको एक छुट्टै वर्गको रूपमा परिभाषित गरिएको छ।

उक्त ऐनले गरेको व्यवस्थाअनुसार श्रवण-द‌ृष्टिविहीनता भन्नाले सुनाई सम्बन्धी र दृष्टि सम्बन्धी दुवै विकलाङ्गता भएको वा दुईवटा इन्द्रीयसम्बन्धी विकलाङ्गताको संयुक्त अन्तरक्रिया रहेको व्यक्ति हो।’

श्रवण-द‌ृष्टिविहीन विकलाङ्गहरूले भोगेका पीडाहरू सुनाउँदै तालिम अधिकृत शाक्यले त्यस्ता व्यक्तिलाई समाजमा हेर्ने हेर्ने नजर फरक रहेकाले सबैले समान ढंगले हेर्न आग्रह गरिन्‌।

उनका अनुसार बाहिर सडकमा सेता छडी प्रयोग गरेको पाइएमा दृष्टिविहीन विकलाङ्ग व्यक्ति हो भन्ने बुझिन्छ रातो छडी प्रयोग भएको छ भने श्रवण-द‌ृष्टिविहीन विकलाङ्गता व्यक्ति भनेर बुझ्नुपर्छ। 

कति छन् श्रवण-द‌ृष्टिविहीन विकलाङ्ग ?

विश्व श्रवण-द‌ृष्टिविहीन महासंघले विश्वको कूल जनसंख्याको कम्तीमा पनि ० दशमलव २ प्रतिशत व्यक्तिहरूमा श्रवण-द‌ृष्टिविहीनता रहेको जनाएको छ।

नेपालमा भने, नेपालको जनगणना २०६८ ले नेपालमा श्रवण-द‌ृष्टिविहीनता भएका व्यक्तिहरूको संख्या ९ हजार सात सय १४ जना रहेको देखाएको छ, जुन कुल जनसंख्याको ० दशमलव ०३६ प्रतिशत हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.