|

जाजरकोट : गर्भवती जाँचदेखि सुत्केरी हुँदासम्म समस्य पर्न बित्तिकै लाखौं रुपैयाँ खर्च गरेर हेलिकोप्टर चार्टर गरेर देशका ठूला सहरमा उपचारका लागि जानुपर्ने बाध्यता भएको उपल्लो डोल्पामा हेपाटासिस बीको समस्याले पनि उस्तै सताएको छ। 

अघिल्लो वर्ष डोल्पोबुद्ध गाउँपालिकामा ‘एक–एक पाइला नेपाल’ले गरेको बृहत् स्वास्थ्य शिविरमा परीक्षण गराउने ३४३ मध्ये ७० जनामा हेपाटाइटिस बी पोजिटिभ देखिएको थियो । यस्तै, एकजनामा एचआइभी र तीनजनामा हेपाटाइटिस सी देखिएको डा. मेलिना हमाले जानकारी दिइन्।

काठमाडौंस्थित वीर अस्पतालका वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसीले शिविरमा जाँच गराएका ३० प्रतिशतमा हेपाटाइटिस बी पोजिटिभ देखिनुले समस्या विकराल भएको जानकारी बताएका थिए । तिब्बतीयनसँगको हेलमेल र बच्चालाई लगाइने ‘हेपाटाइटिस बी’विरुद्धको खोप नलगाइनुले पनि प्रकोप बढ्दै गएको डा. केसीको भनाइ छ। हेपाटाइटिस बीबारे कुनै पनि जानकारी नभएको पाइएकाले न्यूनीकरणका लागि स्थानीय सरकारले जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने केसीको सुझाव छ। 

उपल्लो डोल्पाको धो, साल्दाङ, भिजेर, छार्का, फोक्सुन्डोलगायतका गाउँमा हेपाटाइसिस बीका रोगी रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। सोमबार मात्र छार्का ताङसोङ गाउँपालिका–१ का ४५ वर्षीय कार्मा गुरुङ र टोक्कार गुरुङ गरी दुईजनालाई हेपाटाइटिस बीकै कारण थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरिक्षक राजु पाण्डेले जानकारी दिए। हेलिकोप्टरबाट बिरामी लाँदा स्थानीय व्यक्तिको पाँच लाख रुपैयाँभन्दा बढी खर्च भएको छ।

चिकित्सकहरुले उपल्लो डोल्पामा हेपाटाइटिस बीबारे जानकारी दिँदादिँदै सरोकारवाला निकाय मौन हुँदा यहाँका नागरिकहरु थप समस्या पर्ने निश्चित भएको डा. हमाल बताउँछिन्। अघिल्लो वर्ष बृृहत् स्वास्थ्य शिविरका लागि शे–फोक्सुण्डो गाउँपालिकाले बजेट विनियोजन गरे पनि शिविर गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत विष्णु न्यौपानेले बताए।

उनका अनुसार चालु आर्थिक वर्षमा पनि २५ लाख रुपैयाँ शिविरका लागि विनियोजन गरिएको छ। ‘अहिले हिमपात भएका कारण रोकिएको छ,’ न्यौपानेले भने, ‘चैतसम्म बृहत् शिविर राखेर उपचारका लागि काम थालिने छ। यसबारे छलफल भइरहेको छ।’

त्यस्तै, डोल्पोवुद्ध गाउँपालिकाले आफ्नै लगानीमा दुईपटक खोप लगाउने काम भएको र अब तेस्रोपटक लगाउँदै गरेको प्रमुख प्रशासकीय अधिकृत गौतम पंगेनीले जानकारी दिए। गाउँपालिकाले वैशाखमा बृहत् स्वास्थ्य शिविर राख्नका लागि पहल सुरु गरेको उनको भनाइ छ। 

स्थानीय तहले हेपाटाइटिस बीविरुद्धमा केही पहल गरे पनि प्रदेश र संघीय सरकारको तर्फबाट केही प्रयास नभएको जनप्रतिनिधिले गुनासो गरेका छन्। पाँच महिनाभन्दा लामो समयसम्म उपल्लो डोल्पाका बालबालिकाले कुनै खोप समेत नपाउने गरेको जनप्रतिनिधिले बताएका छन्। 

छार्का ताङसोङ गाउँपालिकामा हेपाटाइटिस बीबाट जोगिनका लागि कुनै पनि बजेट व्यवस्थापन नगरेको र योजना पनि नभएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीले बताए। उनका अनुसार हेपाटाइटिस बी रहेको जानकारी भए पनि रोकथामका लागि केही नभएको उनको भनाइ छ।

हेपाटाइटिस बीबारे सर्वसाधारणलाई मात्रै होइन, स्वास्थ्य स्वयंसेविकालाई पनि जानकारी छैन। यो कस्तो रोग हो? रोग लागे के हुन्छ? कसरी लाग्छ? कसरी न्यूनीकरण गर्न सकिन्छ? भन्ने विषयमा थोरै मात्रै जानकारी भएको स्वयंसेविका याङ्की गुरुङले बताइन्। गाउँमा हेपाटाइटिस बीको अवस्था विकराल भएको जानकारी पाउँदा–पाउँदै पनि स्थानीय सरकारले कुनै पनि कार्यक्रम नगरेको उनले बताइन्।

प्राणघातक रोगले गाउँ नै थला पर्ने अवस्थामा पुग्दासमेत न्यूनीकरणका लागि जनचेतनामुलक कार्यक्रम हुन नसकेको स्थानीयहरु बताउँछन्। बिरामी भएमा उपचारका लागि हेलिकोप्टर भाडामा लिएर अस्पतालसम्म पुग्नुपर्ने उपल्लो डोल्पाको बाध्यता रहेको छ।

हेपाटाइटिस बीको संक्रमण दिनप्रतिदिन बढ्दै जान थालेपछि उपल्लो डोल्पामा विभिन्न देशबाट आउने पर्यटकसमेत क्रसित हुन थालेका छन्। यो रोग फैलिएको जानकारी पाएपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा कमी आउन थालेको पर्यटन व्यवसायीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.