|

दैलेख : प्रदेश सरकारले ११ वटा स्थानीय तहमा कोरोना अस्पताल सञ्चालन गर्न भन्दै १० लाखका दरले बजेट पठायो। स्थानीय सरकारले प्रदेश सरकारको नीतिअनुसार अस्पताल सञ्चालन गर्न स्वास्थ्य सामग्रीसँगै कर्मचारी माग गरे, तर स्थानीय तहमा माग गरिएअनुसार कर्मचारी आएनन्। 

लकडाउनको समयमा कोरोनाका बिरामी फेला पर्ने दोस्रो स्थानमा रहेको महाबु गाउँपालिकाले १५ शैयाको कोरोना अस्पताल सञ्चालन गर्ने भन्दै प्रदेश सरकार र गाउँपालिकाको ६ करोडको लागतमा अस्पताल भवन निर्माण गर्‍यो। अस्पताल निर्माणपछि ३ जना कर्मचारी माग गरिएकोमा दुई जना मात्र आए। 

‘हामीले एक जना डाक्टर, एक जना स्टाफ नर्स, एक जना एचएसहित तीन जना कर्मचारी माग गरेको भए पनि हालसम्म स्टाफ नर्ससँगै एचए मात्र आए, प्रमुख डाक्टर नै आएनन्,' गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए। 

उनले गाउँपालिकाले सेवा सुचारु गर्ने भवनसँगै स्वास्थ्य सामाग्रीको सम्पूर्ण व्यावस्थापन गरिएको भए पनि प्रमुख डाक्टर नहुँदा समस्या भएको बताए।

भैरवी गाउँपालिकाले पनि कोरोना अस्पताल सञ्चालनका लागि कर्मचारी माग गर्‍यो। गाउँपालिकाले एक जना एमबिबिएस डाक्टर, एक जना स्टाफ नर्ससहित कर्मचारी माग गरेको थियो। तर मागअनुसार एमबिबिएस डाक्टरको दर्खास्त नै नपरेको गाउँपालिकाले जनाएको छ। 

गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत भलाराम पंगालीका अनुसार स्टाफ नर्स आएको केही दिनपछि अन्तै नाम गइन्। एमबिबिएस डाक्टरको विज्ञापन अनुसार दर्खास्त नपरेकाले पुनः विज्ञापनमा जाने तयारी रहेको उनले बताए। 

भगवतिमाई गाउँपालिकामा अस्पताल सञ्चालनका लागि एक जना डाक्टर, दई जना स्टाफ नर्ससहित कर्मचारी माग गरेको भए पनि स्टाफ नर्स मात्र आएका र डाक्टर नआएपछि अस्पताल सञ्चालनमा समस्या भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वखत बहादुर खड्काले बताए। 

उनले डाक्टरहरु दुर्गमका स्थानीय तहमा आउन नमान्नुका कारणले पनि अस्पताल सञ्चालनमा समस्या हुँदै गएको बताए। ‘हामीले अस्पताल सञ्चालनका लागि बेडसहित स्वास्थ्य सामाग्री खरिद गरिसकेका छौँ।’ स्वास्थ्यकर्मीबिना अस्पताल कसरी सञ्चालन गर्ने? खड्काले भने।

गुराँस गाउँपालिकाले भने मागअनुसार एक जना डाक्टर, दुई जना स्टाफ नर्सको दर्खास्त परेको र छनोट प्रक्रियामा रहेको जनाएको छ। डुंगेश्वर गाउँपालिकाले अस्पताल सञ्चालनका लागि कर्मचारी माग गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत ललितकुमार थापाले बताए। 

चामुण्डा बिन्द्रसैनी नगरपालिकामा–१५ शैयाको कोरोना अस्पतालमा भने डाक्टरसहित एक जना स्टाफ नर्स कार्यरत छन्। एक जना स्टाफ नर्सको भने दर्खास्त नपरेको प्रमुख प्रशासकीय अधिकुत तिलक विकले बताए। 

ठाटिकाँध गाउँपालिकाले भने अस्पताल सञ्चालनका लागि कर्मचारी माग गर्न प्रक्रियामा जाने तयारीमा रहेको जनाएको छ। नौमुले गाउँपालिकामा ५ शैयाको कोरोना अस्पताल सञ्चालनका लागि स्टामफ नर्स निश्चित समयका लागि माग गरिएको र प्रमुख डाक्टरसहित अन्य कर्मचारीको अभाव नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद कोइरालाले बताए। 

स्थानीय सरकारले गाउँका जनतालाई स्वास्थ्य सेवा दिने उद्देश्यले काम गर्दै आएको भए पनि आउने कर्मचारीले पैसाको धेरै आशा गर्नु र दुर्गम देखाउनुले पनि गाउँका जनताले नजिकबाट सेवा पाउन सकेका छैनन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.