|

सिमरा : पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रभित्र रहेका अति रमणीय तथा मनमोहक सिमसारहरु मापदण्डविपरीत सञ्चालित क्रसर र  करिडोरका उद्योगहरुको अतिकम्रणको चपेटामा परेर मासिँदै गएका छन्। मध्यवर्ती क्षेत्रको मनहरी गाउँपालिका वडा न ८ र ९ को राप्ती खोलामा  सञ्चालित कस्ररका कारण निकुञ्ज क्षेत्रभित्र रहेका सिमसारहरु लोप हुदै गएका हुन्।

बारा,पर्सा र मकवानपुर गरी ३ जिल्लालाई समेटेको प्रदेश २ को एक मात्र पर्सा राष्ट्रिय निकुञ्ज भित्र दर्जनौ अति रमणिय र मनमोहक सिमसारहरु अहिले अतिकम्रणको चपेटामा परेर लोप हुने अवस्थामा पुगेका छन्।

क्रसरमा जनप्रतिनिधिको लगानी, हटाउनै मुस्किल

पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रभित्रको राप्ती खोलामा मापदण्ड विपरित सञ्चालनमा रहेका  कस्ररहरुमा  नेपाल सरकारका सचिवहरु लगानी रहेका कारण  हटाउन मुस्किल भएको सरोकारवालाहरुले जनाएका छन्। विश्व सिमसार दिवसको अवसरमा आयोजित छलफल कार्यकम्रमा मध्यवर्ती क्षेत्रभित्र सञ्चालिन क्रसरका कारण सिमसार क्षेत्रहरु जोखिममा पढ्दै गएको सहभागीहरुले जनाएका छन्।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पदमबहादु  तिक्तुङ्गले कस्रर व्यवसायमा सरकारका सचिव र जनप्रतिनिधहरुको लगानी रहेका कारण हटाउन मुस्किल भएको बताएका छन्।

‘खोलामा सञ्चालित क्रसर मापदण्ड भित्र ल्याउन हामीले पटक पटक प्रयास गरेका हौ, तर सरकार उच्च पदाधिकारीहरुकै लगानी भएकोले हामीले प्रयास गर्दा पनि हटाउन सकेनौ’ तिक्तुङ्गले भने।

मध्यवर्ती क्षेत्रको राप्ती खोलामा मात्रै २ दर्जन कस्ररहरु मापदण्डविपरीत सञ्चालनमा छन्। क्रसर उद्योग स्थापना तथा सञ्चालनसम्बन्धी मापदण्डमा निकुञ्ज तथा आरक्ष क्षेत्रवाट २ किलोमिटर  बाहिर मात्रै क्रसर सञ्चालन गनुपर्ने कानुनी व्यवस्था छ। मध्यवर्ती क्षेत्रभित्र सञ्चालित क्रसरका कारण पानीको मुहान सुक्दै गएको छ भने जलचर प्राणीहरुका  संकट पर्दै गएको छ। ‘जनप्रतिनिधिकै मिलेमतोमा खोलाका बगरजति सबै उत्खनन भएका छन्, हामीले क्रसर बन्द गराउन पटक पटक व्यवसायीलाई चिठी काट्यौ कसैले टेरेनन्’ उनले भने।

पर्सा राष्ट्रिय निकुञ्जको १५ हजार ९ सय ९१ हेक्टर क्षेत्रफल भित्र हलखोरिया दह, रामहोरी भाटा, लौकी दह,कामिनी दह, चिप्ले खोला लगायत दर्जनौँ ठूलाठूला सिमसारहरु रहेका छन्।

जगदम्बाद्वारा सिमसार मिचेर उद्योग विस्तार

बारा–पर्सा औधोगिक करिडोरका सबैभन्दा ठुलो सिमरा स्थित जगदम्बा स्टिल प्रा.लिले मध्यवर्ती क्षेत्रभित्रको राधाकृष्ण सामुदायिक वनको सिमसार क्षेत्रलाई मिचेर  उद्योगको प्लान्ट बिस्तार गरेको सरोकारवालाले दावी गरेको गरेका छन्।

जनहित मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले सिमरा स्थित जगदम्बा स्टिलले भ्याङ्गे खोलालाई मिचेर उद्योग बिस्तार गरेको बताए। ‘जगदम्बा उद्योगले सिमसार मिचेर उद्योग बिस्तार गरेपछि हामीले धेरै ठुलो आन्दोलन गर्यौ, नक्सामा भएको खोला उद्योगले नम्बरी बनाएर भोगचलन गर्यौ, हाम्रो बिरोध कार्यकम्रम स्थानियहरुले साथ नदिएपछि आन्दोलन सफल भएन,हामी पछि हट्न बाध्य भयौ’ अध्यक्ष श्रेष्ठले भने।

राधाकृष्ण सामुदायिक वनभित्रको भ्याङ्गे खोलालाई मिचेर उद्योगले पर्खाल लगाएर सिमसारको भुभाग भोगचलन गरिरहेको छ। उद्योगले सिमसार मिचको बिषयमा झण्डै एक दशकअघि क्षेत्रिय वन निर्देशनालय हेटौडाले सिमसार क्षेत्र जस्ताको त्यस्तै बग्न दिन उद्योगलाई निर्देशन समेत दिएको थियो। तर सो निर्णय हालसम्म कार्यन्वयन  हुनसकेको छैन।

जनहित उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले उद्योगले सिमसार क्षेत्र कब्जागरेको विषयमा बिगतका प्रमुख संरक्षण अधिकृतहरुलाई जानकारी  गराउदाँ संरक्षणमा खासै चासो नदेखाएको  जनाए। ‘उहाँहरुले के के प्राप्त गर्नुभयो थाहा छैन् तर, जगदम्बाले सिमसार मिचेको विषयमा हामीले पटक पटक प्रमुख संरक्षण अधिकृतलाई जानकारी गराउदाँ चासो देखाउनु भएन’ श्रेष्ठले भने।

मध्यवर्ती क्षेत्रभित्र रहेका सिमसारहरु संरक्षणमा निकुञ्ज प्रशासन र सम्वन्धित वन समूहका पदाधिकारीहरुको हालसम्म ध्यान पुग्न सकेको छैन्। ‘सिमसार क्षेत्र संरक्षणका लागि हामी लडेको ठाँउमा निकुञ्जको सहयोग रहन्छ कि रहदैन्, सबैभन्दा महत्वपूर्ण कुरा त्यो छ,बिगतमा हामीले निकुञ्ज प्रशासनवाट सहयोग नपाउदा पछि हट्न बाध्य भयौ’ श्रेष्ठले भने।

अम्लेश्वर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष  राजकुमार मानन्धरले  राजनीतिक  र प्रशासनिक दवावका कारण सिमसार क्षेत्र संरक्षण हुन नसकेको टिप्पणी गरेका छन्।

वार्डेन’को एक्लो चाहनाले सिमसार संरक्षण हुदैन

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले उद्योग र क्रसरका कारणले मासिएको सिमसार क्षेत्र संरक्षणका लागि सबैको सहयोगको आवश्यकता पर्ने बताए छन्। ‘कर्पोरेट सँग जोडिएका बिषयहरु एकजना चिफ वार्डेनको चाहना र ईच्छाले मात्रै हुदैन, उद्योगले सिमसार क्षेत्र मासिसक्यो,पुर्वधार बनाईसक्यो,अव यसलाई हटाउन सामुहिक प्रत्यन गनुपर्छ’ साहले भने।

उनले करिडोरका उद्योगवाट निस्किएका फोहर र प्रदुषणका कारण सिमसार क्षेत्रहरु मासिदै गएका  बताएका छन्। मापदण्ड विपरित मध्यवर्ती क्षेत्रभित्र सञ्चालित क्रसरहरुको विषयमा हतारमा निर्णय गरेर क्रसर उद्योगहरु बन्द गराउदाँ भविष्यमा आफ्नै निर्णयवाट पछि हट्नुपर्ने अवस्था आउनसक्ने जनाए।

जलवायु परिवर्तन, विद्युत्त उत्पादनका लागि बनेका पानीको ड्याम, जलकुम्बी झार, चुरेको अत्याधिक दोहन, चरिचरन, कृषिजन्य कार्यका लागि प्रयोग भएका रसायनिक विषदीका कारण सिमसार क्षेत्रहरु लोप हुँदै गएको उनले जनाएका छन्। सरकारले सिमसार संरक्षणका लागि २०५९ सालमा राष्ट्रिय सिमसार निति ल्याए पनि कार्यन्वयन हुन सकेको छैन। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.