|

‘ज्वरो आइरा’छ, श्वास फेर्न पनि गाह्रो भइरा'छ,’ मलिन अनुहार पार्दै उसले भनी, ‘कसरी काम गर्ने होला?’

अप्ठ्यारो मान्दै निधार छामेँ, रन्किएको थियो।

‘यस्तो हुँदा पनि किन अफिस आउनु'भा त म्या’म?’ मैले सहानुभूति दर्शाएँ, ‘दुई–तीन दिन घरमै आराम गर्नुपर्ने।’

मेरो कुरा पूरा नहुँदै उसले भनी, ‘के गर्नु त सर, अरु पनि बिरामी छन्। सक्छु होला भनेर आएकी, अहिले साह्रो भयो।’

हुन पनि आधा भन्दा बढी सहकर्मी बिरामी थिए, कोही भाइरलले, कोही कोरोनाले, कोही कोरोनाको डरले।

तीभन्दा अलि कम बिरामीले अफिस धान्नुपर्ने बाध्यता थियो। राति गाह्रो भएछ। घरका मान्छेलाई भनेर पानीपट्टी गर्न र औषधि लिन सल्लाह दिएँ। ‘अरूलाई किन दुःख दिनु? आफैँ पानीपट्टी गर्दैछु’ भन्दै थिई।

फेसबुक म्यासेन्जरको हरियो बत्ती निभ्यो। निदाई होली। मलाई भने निद्रा परेन।

गाह्रो हुँदाहुँदै भोलिपल्ट पनि आई। औषधि ल्याएर दिएँ। प्रयोग विधि सिकाएँ।

​ऊ हिजोभन्दा पनि बढी असहज महशुस गर्दै थिई। जसोतसो काम सकी। फर्किई। राति म्यासेज गरी, ‘सर! आज तपाईं आफ्नै मान्छेजस्तो फिल भयो।’

​म झस्किएँ, ‘कसरी भएँ म उसको आफ्नो मान्छे?’ ऊ लेख्दै थिई, ‘हो सर तपाईं मनैदेखि आफ्नो मान्छे!’

हिजो निधार छामेको र आज ५५ रुपैयाँको औषधि किनेर दिएको सम्झिएँ।

​तीन दिनपछि ऊ बिसेक भएर कार्यालय फर्किई।

चौथो दिन बिरामी हुने पालो मेरो थियो। मलाई उस्तै गाह्रो भइरहेको थियो। म्यासेज गरेँ, ‘म्या’म आज गाह्रो भइरहेका छ। नआऊँ कि क्या हो?’ अपेक्षा थियो, उसको मीठो वचनको। सहानुभूतिको।

‘धेरै बहाना नगर्नुस्,’ जवाफ आयो, ‘काम गर्ने मान्छे छैनन्, खुरुक्क आउनुस्।’

सकी-नसकी आइपुगेँ।

‘धेरै बहाना नगर्नुस्,’ जवाफ आयो, ‘काम गर्ने मान्छे छैनन्, खुरुक्क आउनुस्।’

काम गर्दै थिएँ। सँगै अर्की सहकर्मी काम गरिरहेकी थिई, जो अफिस आएदेखि नै मेरो जागिर खान नानीदेखिको बल लगाएर लागिपरेकी थिई। कारण थाहा थिएन। हाकिमको एकदम निकटको मान्छे रे! मलाई आफ्नो मान्छे भन्ने म्या’मले पनि बेला-बेला भन्ने गर्थी, ‘सर ऊसँग बचेर काम गर्नुस् है!’

थोरै मान्छे भएकाले काममा मारामार थियो।

‘आफ्नो मान्छे’ आई। अस्तिको रातिदेखि ऊप्रति अझ बढी माया पलाएको थियो। किन हो-मुटुको चाल बढ्यो। तर आज उसका व्यवहार अर्कै थियो। सामान्य शिष्टाचारसम्म पनि निभाइन। एकाएक मपट्टि पीठ फर्काएर ‘शत्रु’को हालखबर सोधी।

निधार छामेर भनी, ‘ओहो, तपाईँलाई त ज्वरो पो आएको रहेछ। यस्तो हुँदा पनि किन आउनुभएको?’

निधार छामेर भनी, ‘ओहो, तपाईँलाई त ज्वरो पो आएको रहेछ। यस्तो हुँदा पनि किन आउनुभएको?’

यहाँभन्दा बढी सुन्नै सकिनँ। कम्प्युटरमा ‘स्पीकर’को ‘भोल्युम’ बढाएँ।

​रामकृष्ण ढकाल गाइरहेका थिए, ‘जति रुवाओस्, धरधरी रुवाओस्, आफ्नो मान्छे, आफ्नै हुन्छ...।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.