|

सल्यान : तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले जनयुद्ध थालनी गरेको आज २६ वर्ष पुगेको छ।

जनयुद्धको क्रममा धेरैले आफ्नो जीवन गुमाए भने धेरै अझै बेपत्ता छन्। जनयुद्धको जगमा देशमा व्यवस्था परिवर्तन त भयो, तर जनयुद्धमा रगत बगाएका परिवारमा भने पीडामाथि पीडा थपिइरहेको छ।

शहीदहरूको रगतलाई नेताहरूले पद र शक्तिमा मात्रै रूपान्तरण गरेको शहीद परिवारहरूका सदस्यहरू गुनासो गर्छन्‌। जुन विचार र लक्ष्यका साथ आफ्ना ‌सन्तानहरूले रगत बगाएका थिए, सो अनुरुपको अहिले काम नहुँदा साह्रै खिन्नता हुने गरेको छत्रेश्वरी गाउँपालिका-२, बुराँसेका चुडामणि बस्नेत बताउँछन्‌। दाइले बगाएको रगतको महत्वअनुसार अघि बढ्ने भन्दा पनि टुटफुट र विखण्डन हुँदा आफ्नो मन पनि टुट्ने गरेको उनको भनाई छ। 

वि.सं. २०५९ भदौ २९ गते गुराँसेकै दलबहादुर विकलाई नेपाली सेनाको टोलीले खलंगामा मजदुरी गर्न गएको बेला पक्राउ गरी बेपत्ता बनायो। शान्ति स्थापनापछि सरकारले मृतकको सूचीमा उनको नाम राखेर १० लाख रूपैयाँ राहत दिएपनि परिवारको पीडामा त्यसले मल्हम लगाएन। ‘पैसाले पीडा कसरी भुलिन्छ र ?’ ६५ वर्षीय बाबु दले विकले गुनासो गरे, ‘पार्टीले पहिलेका बाचा पूरा गर्न ध्यानै दिएको छैन।’ 

सशस्त्र द्वन्द्वको क्रममा छत्रेश्‍वरी गाउँपालिका–२, गुराँसेमा नेपाली सेना र माओवादीबीच ३ पटक भीडन्त हुँदा १९ जनाले ज्यान गुमाए। दर्जनौं घाइते र अपांग बने। ८० परिवारको घरबास गुमेको सरकारी तथ्यांक छ।

तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पहिलोपटक प्रधानमन्त्री भएपछि गुराँसेलाई नमूना गाउँ घोषणा गरियो। नमुना गाउँ कार्यक्रममार्फत अधिकांश घरको पुनर्निर्माण गरियो भने सडक, बिजुली र खानेपानी सुविधा पुर्‍याइयो। तर, आफूहरूसँग नेताले गरेका वाचा अझै पूरा नभएको द्वन्द्व पीडितको गुनासो छ। 

पार्टीका नेताहरू व्यक्तिगत स्वार्थमा लाग्दा द्वन्द्वका घाउ नमेटिएको बेपत्ता परिवार ढाँकी कंवरले गुनासो गरिन्‌। उनले भनिन्‌, ‘नेताहरूले पहिलेका वाचा बिर्सिएपछि जनयुद्धमा भएको त्याग खेर गएको चिन्ताले सताइरहन्छ।’

२०५९ सात मंसिर ६ गते कामको सिलसिलमा ढाँकीका श्रीमान तेज बहादुर कंवरलाई दाङको तुलसीपुरबाट नेपाली सेनाले बेपत्ता बनायो। शान्ति प्रकृयामा आएको पनि दुई दशक बितिसक्दा बेपत्ता श्रीमान सम्पर्कमा नआएको उनको भनाई छ। उनले भनिन्‌, 'न त राज्यले बेपत्ता परिवारलाई श्वास दिन सकेको छ, न त शहीद भइसके, न आश मार्न सकिएको छ।'

शहीदहरूले देखाएको बाटोमा अविचलित रूपमा अघि बढिरहेका छौँ भन्ने कुरा नेताहरूको मुखबाट सुन्दा आफूहरू छक्क पर्ने गरेको शारदा नगरपालिका-१ शितलपार्टीका नवीन भँडेल (शहीद परिवारका सदस्य) ले बताए। जनयुद्ध र जनआन्दोलनको जगमा बनेको सरकारमा जाने, तर शहीद परिवार र बेपत्ता परिवारलाई चटक्क बिर्सँदा पीडा हुने गरेको अनुभव उनले सुनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.