छेवैको ललितपुरमा विज्ञापन बोर्ड शून्य अभियान

|

काठमाडौं : गत चैत ४ गतेदेखि काठमाडौं महानगरपालिकाले ​विशिष्ट व्यक्ति सवार गर्ने सडक आसपास रहेका विज्ञापन बोर्ड (होर्डिङ बोर्ड) हटाउन थाल्यो।

विभिन्न कम्पनी तथा शैक्षिक इन्स्टिच्युटका संस्थाले विज्ञापन गर्न माइतीघर-तीनकुने सडकखण्डको वरपर रहेका घरदेखि खुला जग्गासम्म ओगटेका थिए। बोर्ड हटाएपछि महानगरले विशिष्ठ व्यक्तिको सवारी सहज भएको ठान्यो सायद ! 

त्यसैले त शहरलाई नै कुरुप बनाउनेगरी अन्य भागमा जथाभावी टाँगिएका विज्ञापन हटाउनेतर्फ महानगर तातेन।

कागजी विज्ञापनको बोर्ड हटाएपनि महानगरपालिकामा सबैभन्दा बढी व्यस्त बागबजारबाट विभिन्न पसल तथा निजी शैक्षिक इन्स्टिच्युटका विज्ञापन नहटाउँदा शहर कुरुप बन्दै गएको छ।

मूख्य-मूख्य सडकका विज्ञापन हटाएपनि शहरी क्षेत्रको भित्री भागको विज्ञापन नहटाएर महानगरले होर्डिङ बोर्ड हटाउने कामलाई कर्मकाण्ड मात्रै बनाएको भन्दै आलोचना भइरहेको छ।

शैक्षिक संस्था तथा व्यवसायीले बागबजार क्षेत्रमा मापदण्ड विपरीत विज्ञापनका बोर्ड तथा होर्डिङ बोर्ड ठड्याइरहेका छन्। ठूलाबडा हिँड्ने माइतीघर-तीनकुने सडकलाई विज्ञापनमुक्त बनाउन खोजेका महानगरका अधिकारीहरूको नजर बागबजार क्षेत्रमा पर्न सकिरहेको छैन। 

बागबजार त एक उदाहरण मात्रै हो, नियामक महानगरले प्रभावकारी नियमन नगर्दा अहिले पनि शहरमा जसले जतिबेला जहाँ मन लाग्यो-त्यहीँ होर्डिङ बोर्ड ठड्याउने प्रवृत्ति बढ्दै गएको छ। आवागमन बढी हुने मूख्य चोकदेखि भित्री गल्लीसम्म मनलाग्दी राखिएका विज्ञापनबाट कुरुप बनिरहेको छ।

मापदण्ड विपरीतका होर्डिङ बोर्ड कायमै

महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचार सामाग्री नियमन नीति, २०७० मा ‘काठमाडौं महानगर क्षेत्रका सार्वजनिक स्थानहरूमा अनधिकृत ढंगले राखिएका सम्पूर्ण व्यवसायिक होर्डिङ बोर्डहरू तथा प्रचार सामग्रीहरू राख्न पूर्णरूपमा निषेध गरिएको, महानगरका सबै प्रकारका निर्मित घर टहराको छत, कौशी, छानामा कुनै प्रकारका प्रचारका सामग्री तथा बोर्डहरू राख्न निषेध गरिएको' उल्लेख छ।

यस्तै, रोड डिभाइडरमा विज्ञापन गर्न पाइँदैन भने सरकारी बाहेकका निजी जग्गामा बोर्डहरू राख्दा सँधियार तथा सडकतर्फ कम्तिमा १० फीट जमिन छोडेको हुनुपर्ने, उचाइको हकमा जमिन सतहबाट बढीमा ३० फिटमात्र हुनुपर्नेछ र अनिवार्य रूपमा बोर्डमा सोलार बत्ती जडान गरेको हुनुपर्ने, यो नीति विपरित राखिएका सार्वजनिक स्थल, पोल र घर भवनको छाना तथा कौशीमा राखिएका बोर्डहरू तत्काल हटाउनुपर्ने सो नीतिमा उल्लेख छ। नीति जारी भएको ६ महिनाभित्रै तोकिए बमोजिमको मापदण्ड कायम गर्नुपर्ने महानगरको सो विज्ञापन नीतिमा उल्लेख छ।

बागबजारमा 'ड्रिम हाइ जब सेन्टर' ले विज्ञापन बोर्ड राखेको छ। त्यही बोर्डमा जोडेर छेउको मासु पसलको होर्डिङ पनि राखिएको छ। ड्रिम हाइ जब सेन्टरका सञ्‍चालक भन्छन्‌, 'हामीले राखेको होडिङ बोर्ड मापदण्ड विपरीत छैन, होर्डिङ बोर्ड राखे बापत राजश्व तिर्ने गरेका छौँ।'

उनका अनुसार होर्डिङ बोर्डको राजश्व ३ हजार रुपैयाँ तिर्ने गरिएको छ। बोर्ड झ्याल देखिनेगरी राखिएको र त्यसले केही असर नगर्ने उनले बताए। बोर्डले कसैलाई केही असर नगरेको ती मासु पसलेले दाबी गरे।

'मापदण्ड विपरीतका सबै बोर्ड हटाउँछौ'

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले मापदण्ड विपरीतका सबै विज्ञापन र होर्डिङ बोर्ड हटाउने बताए।

महानगरपलिकाले मूख्य मूख्य सडकमा रहेका होर्डिङ बोर्ड हटाइसकेको भन्दै उनले ​होर्डिङ बोर्ड हटाउन विभिन्न समयमा स्थलगत अनुगमन गर्ने गरेको पनि दाबी गरे।

बाँकी स्थानहरूको खोजी गरी त्यस्ता ठाउँबाट होर्डिङ बोर्ड हटाइ शहरी सौन्दर्य बढाउन ध्यान दिने उनले बताए।

ललितपुर महानगरमा 'विज्ञापन बोर्ड शून्य' अभियान

ललितपुर महानगरपालिका आफ्नो क्षेत्रभित्र रहेका विज्ञापन बोर्ड हटाएको छ। पछिल्लो समय सडक आसपासमा रहेका मदिराका होर्डिङ बोर्ड र अन्य विज्ञापनका बोर्ड हटाउने कामलाई ललितपुर महानगरले तीव्रता दिएको हो।

मापदण्ड विपरीत रहेका सबै मदिराका होर्डिङ बोर्डहरू हटाउन ढिला नगरिने महानगरका प्रवक्ता राजु महर्जनले बताए। उनका अनुसार जावलाखेलबाट होर्डिङ हटाउने काम थालिएको हो। उनले थपे, 'पुल्चोक, कुपन्डोल, कुमारी पाटी र लगनखेल क्षेत्रका होर्डिङ बोर्ड हटाइएको छ।'

महानगर क्षेत्र होर्डिङ बोर्ड शून्यप्राय: भइसकेको महर्जनले थाहाखबरलाई बताए। महानगरमा मूख्य आकर्षणको केन्द्रविन्दु पुरातात्विक सम्पदा भएको र त्यस्ता होर्डिङ बोर्डले सम्पदामा असर गर्ने भएको हटाइएको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.