|

तनहुँ : अदुवाले भाउ नपाउँदा तनहुँका किसाहरु मर्कामा परेका छन्। अदुवा बिक्री गर्ने समय भए पनि गत वर्षको तुलनामा ५० प्रतिशत कम मूल्य भएपछि किसानहरु मर्कामा परेका हुन्। बारीबाट अदुवा बिक्री वितरणका लागि निकाल्न थालिएको छ। तर, व्यापारीले कम मूल्य दिने गरेको किसानहरु बताउँछन्। 

भिमाद नगरपालिका–४ का किसान तुलबहादुर थापाले व्यावसायिक अदुवा खेती गरेको पाँच वर्षपछि यस वर्ष सबैभन्दा कम मूल्य कम भएको बताए। विगतका वर्षहरुमा अदुवा बिक्रीबाट राम्रो आम्दानी गरेका थापाले भाउ कम हुँदा चिन्तित भएको बताए।

गत वर्ष एक धानीको २०० रुपैयाँमा अदुवा बिक्री गरेर एक लाख रुपैयाँ आम्दानी गरेको उनले बताए। उनले भने, ‘गतवर्ष अदुवाको मूल्य राम्रो पाएपछि किसानहरु उत्साहित भएर क्षेत्रफल बढाए, तर यसवर्ष कम मूल्यमा बिक्री गर्नुपर्ने हुँदा अदुवा किसानलाई चिन्ताको विषय बनाएको छ।’

यस वर्ष एक धार्नीको ११० रुपैयाँमा अदुवा खरिद गर्न व्यापारी आएको थापाले बताए। ‘अदुवाको मूल्य सधैं उतारचढाव हुँदा किसानले सास्ती खेप्नुपर्छ,’ उनले भने, ‘सम्बन्धित निकायले एकरुपता ल्याउन जमर्को समेत गरेका छैनन्।’

भिमादका भुवन आले, देवघाट गाउँपालिकाका किसान मोहनबहादुर रानाले पनि यस वर्ष अदुवाले राम्रो मूल्य नपाउँदा किसानहरु निराश भएको बताए। 

गत वर्ष तनहुँमा ५३० हेक्टर क्षेत्रफलमा ७ हजार ७४९ मेट्रिकटन अदुवा उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिए। तिवारीका अनुसार गत वर्ष अदुवा बिक्रीबाट तनहुँमा ५० करोड रुपैयाँ भित्रिएको थियो। गतवर्ष प्रतिकिलो ८० रुपैयाँका दरले बिक्री भएको थियो। यस वर्ष अझ कममा बिक्री गर्नुपर्ने अवस्था रहेको तिवारीले बताए।

आर्थिक वर्ष २०७५/७६ मा ५१० हेक्टर क्षेत्रफलमा ७ हजार ३८० मेट्रिक टन अदुवा उत्पादन भएको थियो। गत वर्ष मूल्य राम्रो पाएपछि किसानले अदुवा खेती बढाएकाले यस वर्ष अदुवा उत्पादनमा बृद्धि हुने अपेक्षा गरिएको उनी बताउँछन्। ‘यस वर्ष अदुवाको मूल्य कम हुँदा समस्या भएको किसानहरुले गुनासो गरेका छन्। कम मूल्यमा बिक्री गर्न किसानले ५० प्रतिशत नै घाटा व्यहोर्नुपर्ने अवस्था देखिएको छ,’ तिवारीले भने, ‘अदुवाको मूल्यमा एकरुपता र अदुवा खेती विस्तार गर्न आवश्यक रहेको छ।’

अदुवाको मुख्य बजार भारत भएको उनले बताए। ‘भारतको मागअनुसार नेपालको अदुवा उत्पादन र बिक्रीमा सिधा प्रभाव पर्छ,’ उनले भने। अदुवा खेतीको विस्तारका लागि भिमादमा प्रशोधन केन्द्र स्थापना गरिएको छ। भिमाद–४ मा लोकप्रिय अदुवा पकेट र पापडी तिडाँडा पिरुङ ढाडुङ्गे अदुवा पकेट क्षेत्र रहेको छ। पकेट क्षेत्रका लागि २०÷२० हेक्टरभन्दा बढी क्षेत्रफल जग्गा हुनुपर्ने तिवारीले बताए। पकेट क्षेत्रलाई विस्तार गरी ब्लक बनाउने योजना कृषि ज्ञान केन्द्रको छ।

अदुवा उत्पादन र बिक्रीका लागि उपयुक्त क्षेत्रको विस्तृत अध्ययनका आवश्यक देखिएको छ। अदुवा खेतीको विस्तार, उत्पादन र बिक्रीका लागि संघीय, प्रदेश अन्तर्गतको कृषि मन्त्रालय र कृषि ज्ञान केन्द्रले विशेष ध्यान दिन आवश्यक भएको किसानहरुले औल्याएका छन्। यहाँ उत्पादित अदुवा तनहुँ, गोर्खा, काठमाडौं, चितवन, कास्की, नवलपुर, रुपन्देही हुँदै भारतसम्म निर्यात हुने गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।

अदुवाको प्रयोग साधारणतः तरकारी, मसला र औषधिको रुपमा आउँछ। यसको गानो रेशादार हुन्छ। जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिने ज्ञान केन्द्रले जनाएको छ। चिसोका कारण बिरामी परेका मानिसलाई अदुवा वा धुलो (सुठो) को राखेर बनाएको पानीले औषधीय रुप दिन सकिने कृषकहरु बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.