|

इलाम : नेपाल यु–१६ टोलीकी सदस्य निकिता थोकरको निर्णायक गोल गरेपछि ११ औं संस्करणको पवित्रहाङमा कप फुटबल प्रतियोगिताको उपाधि रोयल स्पोर्टिङ क्लब दमकले जितेको छ। आज सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन एपिएससी माङसेबुङमाथि १–० झिनो गोल अन्तरले हराउँदै दमकले उपाधि आफनो पक्षमा पारेको हो।

विजेता बनेको दमकले उपाधिसँगै नगद एक लाख १६५ रुपैयाँ प्राप्त गरेको छ। उपविजेता माङसेबुङले नगद ५० हजार १६५ रुपैयाँ प्राप्त गरेको छ। किरात धर्मगुरुआमा साँवा पवित्रहाङ्मा लिङ्देनको ६५ औं जन्मोत्सवको अवसरमा गत माघ २९ गतेदेखि माङ्सेबुङ गाउँपालिका–५ मा रहेको आत्मानन्द खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिएको थियो।
 
प्रतियोगितमा इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर र छिमेकी देश भारतको एक टिमको सहभागिता रहेको थियो। पुरस्कार गुरुआमाको जन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए। २०६७ सालबाट हरेक वर्ष गुरुआमाको जन्मोत्सवको अवसरमा महिला फुटबल प्रतियोगिता आयोजना गरिँदै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.