राणा, पञ्चायत र राजा फाले पनि नेताहरूको प्रवृत्ति बदल्न सकेनौँ

|

काठमाडौं : २००७ साल भन्नेबितिक्कै हाम्रो मानसपटलमा १०४ वर्षको निरंकुश  राणाशासनको याद आउनु स्वाभाविक हो। निरंकुश र तानाशाही शासनको अन्त्य र  दलीय शासन ल्याउने उद्देश्यका साथ  नेपाली जनताले आन्दोलन गरेका थिए। २००७ सालको त्यो प्राप्ति 'राजनितिक घटना' नेपाली जनताको लागि महत्वपूर्ण उपलब्धि हो। 

उक्त घटनालाई कतिपयले क्रान्ति भन्छन्। म भने राजनितिक घटना भन्न रुचाउँछु। किनभने राणा शासनविरुद्ध जनताले आवाज उठाए। यद्यपि, त्यसबेला भारतले मोहन शमशेरलाई नै प्रधानमन्त्री बनाएर पठायो। जसले जे गफ लगाए पनि यो एक राजनीतिक घटना हो। दलीय शासनको सुरु गर्न महत्वपूर्ण भूमिका खेलेकाले यो दिन आफैँमा महत्वपूर्ण छ। 

७ सालमा म १० वर्षको थिए। त्यसबेला म बागलुङको विकट गाउँमा थिएँ। राणा शासनको अन्त्यपश्चात् खुशियाली मनाउन मेरा दाजु भरुवा बन्दुक बोकेर सदरमुकाम गएको मलाई याद छ। 

गाई गोठालो जिन्दगीमा हुर्केको मलाई भने त्यसबेलाको राजनीतिक माहोलबारे ज्ञान हुने कुरा त भएन।  घर गाउँतिर काकाहरूले राजनीतिका कुरा गर्नुहुन्थ्यो। उहाँहरूको चिया गफमा नेपालको राजनीति र राणाहरू नै केन्द्रमा रहन्थे। बालशुलभ मेरो मानसपटल चेतनामा ती आफैँमा फरक विषयका लाग्थे। यी आफैँमा रोचक पनि लाग्थे।

चिया गफमा सुनेका कुरा विस्तारै म आफैँले पनि विचार गर्न थाल्थेँ।  केन्द्रमा राणाहरूको शासन थियो। केन्द्रका राणाहरूले मुखियाहरू खटाएका थिए। जसले हामीमाथि शासन गर्थे। केन्द्रको सामन्ती शासनको प्रभाव गाउँसम्म पुगिरहेको मुखियाहरूको प्रवृत्तिलाई मूल्यांकन गर्न थाले।

राणाहरूको हुकुमलाई मुखियाहरूले शिरोपर गर्थे। मुखियाहरू हामी जनतामाथि लाद्थे। गाउँको न्याय निसाफको जिम्मा एउटा मुखियामा हुन्थ्यो भनेपछि उसको रवाफ कस्तो हुन्थ्यो। कल्पना गरे पुग्छ।  देशमा भएका राजनीतिक परिवर्तनको साक्षी भएको हैसियतले नेपाली जनताले हरेक परिवर्तन गर्न रगत बगाएका छन्। जुन हिसाबले उनीहरूले रगत बगाए। त्यसको फल जनताले अपेक्षाकृत रूपले प्राप्त गर्न सकेका छैनन्। 

अहिले पनि केन्द्रले नै हैकम चलाइरहेको छ। जनताको अभिमतको महत्व आज पनि नेतृत्वले दिन सकेको छैन। जनताको नाम बेचेर आफ्नो लागि मात्र सोच्नेहरूको बोलवाला आज पनि छ। राणा शासनमा हुने प्रवृत्ति आज पनि उस्तै छ। शैली र प्रकृति हेर्दा राणाशासन र अहिलेको शासनमा  फरक छुट्टाउन सक्ने अवस्था छैन।

जनताले चुनेर पठाएका जनप्रतिनिधिले पनि जनता र राष्ट्रको चिन्ताभन्दा आफ्नो स्वार्थ र नाता र कृपाबारे  सोच्न थालेका छन्। राष्ट्रका लागि वा जनताका लागि काम गर्ने परिपाठी बनेको छैन। यो अभिव्यक्ति दिनुपर्दा म आफैँ पनि दु:खी छु।

मान्छे निर्यात गर्ने तरिका फेरियो

ब्रिटिश साम्राज्यवादको विस्तारका सहयोग गर्न  राणाहरूले ब्रिटिशमा मान्छे पठाउथे। अहिले नयाँ तरिकाले विदेश निर्यात गरिएको छ। नागरिकको क्षमता र दक्षता अनुसार उनीहरूलाई विदेश पठाइएको छ। यसको मुख्य दोषी नै नेतृत्व हो। नेतृत्वमाथि प्रश्न उठ्छ। निहित स्वार्थमा उद्योग धन्दाको विस्तार नगर्नु, रोजगार सिर्जना नगर्नुले उनीहरू आफ्नै दैनिक चलाउन खाडी जानुपर्ने अवस्था आएको छ। युवाहरु विदेश निर्यात भएपछि यसको असर वृद्धवृद्धामा परेको छ।  

विदेश निर्यात हुने प्रक्रियाले गर्दा  बुबा आमा वृद्धाश्रमको बास हुन थालेको छ। म आफू पनि देशका विभिन्न गाउँ डुल्ने भएकाले बुबा आमाहरू बेवारिसे भएको देख्छु। यो चिन्ताको विषय हो।

शासन प्रवृत्ति फेर्न सकेनौं

हामीले राणा फाले पनि, पञ्चायत फाले पनि, राजा फाले पनि नेपाली जनताको अगुवाई गर्ने नेताहरूको प्रवृत्ति बदल्न भने सकेनौँ। उनीहरूको व्यक्तिगत स्वार्थमा रुमलिदाँ नेपाल अहिले पनि अफ्ट्यारो र असजिलो अवस्थामा पुगेको छ। सात सालपश्चात् दलीय व्यवस्था त आयो। यद्यपि, त्यसअघि पारिवारिक शासन थियो।  राणाहरूको एउटा प्रवृत्ति के थियो भने उनीहरू जग्गा खण्डीकरण गर्दैनथे। जस्तो बालुवाटार जग्गा प्रकरण छ। यसको एउटा कथा छ। 

भीमशमशेरले वि.स १९८८ मा  २ सय २९ रोपनी खरिद गरेका हुन्। त्यो जग्गा खण्डित गरेनन्। उनले त्यो जग्गा हिरण्य शमशेरलाई दिए। हिरण्यले सुवर्ण शमसेरलाई दिए। सुवर्ण शमसेरले भने त्यो जग्गा खण्डीकरण गरेर तिन भाइ छोरालाई बाँडे। 

किन गरे? किनभने राजा महेन्द्र आफ्नो जग्गा राष्ट्रियकरण गर्छन् भन्ने डरले अंशबण्डा गरेका हुन्। सुवर्णभन्दा अघि राणाहरूले जग्गा खण्डीकरण गर्दैनथे। अहिले भू-माफियाहरूले सरकारी जग्गालाई सरकारमा बस्ने र मालपोतमा बस्ने घुसायाले राष्ट्रको जग्गा लुटेर खान थालेका छन्। 

त्यसपछि महेन्द्रले त्यो जग्गा अधीकरण गरे। तर, ४७ पछि नेपाली जनताका संरक्षणका हिमायतीहरू हौँ भन्ने नेताहरूले त्यो जग्गा बाँडीचुँडी गर्न थाले। ती जग्गा खानेहरू अहिले पनि उच्च ओहोदामा छन्। 

७  सालअघि राणाहरूले लुटे। ७ सालपछि जनताका प्रतिनिधि हुँ भन्ने लुटिरहेका छन्। निर्णायक ठाउँमा बसेको हुँ भन्नेले राष्ट्रिय जग्गा खाइरहेका छन्। सीमित व्यक्तिको हातमा रहेको  सरकारी जमिन अहिले विकेन्द्रीकरण भएर भू-माफियाको हातमा पुगेको छ।  यो एक प्रतिनिधि घटना हो। यस्ता घटना हरेक क्षेत्रमा देख्न सकिन्छ। मुलुक लुट्ने निरन्तरता आज पनि कायम छ। 

म पनि दोषी हुँ

म आफैँ पनि आधा शताब्दी नेपाली राजनीतिमा लागेको कारणले यी लुटपाटमा मेरो संग्लनता भएको भए नेपाली जनतालाई थाहा हुन्थ्यो। लुटपाट भइरहेको देशमा राजनीति गरिरहेको कारण र लुटपाटबाट मुलुकलाई जोगाउन नसकेको कारण देश यो हालत साक्षी म  बसिरहेको छु। म आफू पनि केही दोषी हुँ। किनभने मैले लुटपाटबाट मुलुक बचाउन सकिनँ। 

 जिम्मेवार नागरिक गति

स्वयं जनताले पनि जो शक्तिशाली छ। शोषण गर्नेहरूतर्फ नै आफ्नो मत दिइरहेका छन्। पछिल्लो परिघटना हेरे पनि यसको मूल्यांकन हुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरे पनि उनले राज्यको दोहन गर्दै शक्ति प्रदर्शन गरिरहेका छन्। त्यहाँ आउने भिड र यता प्रचण्ड नेपाल खेमामा पनि तिनै व्यक्ति आएर थपडी मार्छन् भनेपछि देशको यो हालत हुन जनता पनि दोषी छन्। 

यो देश नेताको मात्र होइन। जनताको पनि हो। देशलाई  अधो गतिमा पुर्‍याउन मुख्य जिम्मेवार रहेका व्यक्तिलाई जनताले असहयोग गरेको भए मनोबल घट्थ्यो। तर, ठिक विपरीत हामी जनताले नै बारम्बार उनीहरूलाई भोट दिएर उनीहरूको मनोबल बढाइरहेका छौं। जसले हामीलाई लुटिरहेको छ। हामी  लुटिन हामी तयार भइरहेका छौं।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग गरिएको कुराकानीको आधारित

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.