|

फागुन : गुल्मीमा स्वास्थ्य चौकीको निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने समय गुज्रिँदा बल्ल निर्माण व्यवसायी सम्पर्कमा आएका छन्।

गुल्मीको चन्द्रकोट गाउँपालिका-५, ग्वाघामा स्वास्थ्य चौकीको निर्माणधीन भवन अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन थिए। सम्बन्धित कार्यालयले निर्माण व्यवसायीलाई सम्पर्कमा नआएको र सम्पर्कमा आउन भनी पटक-पटक सूचना प्रकाशन गर्दा बल्लतल्ल सम्पर्कमा आएको संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले जनाएको छ।

२०७५ साल चैत ५ गते कर्मा कन्स्ट्रक्सन प्रालि काठमाडौं र संघीय आयोजना कार्यन्वयन इकाइ रूपन्देहीबीच एक करोड ६१ लाख ४४ हजार ७३८ रुपैयाँमा भवन निर्माण सम्झौता भएको थियो। सम्झौतापत्र अनुसार २०७७ साल असोज १९ गते निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ।

कार्य सम्पन्न हुने कुरा त परै जाओस्, कार्यालयले सम्पर्कविहीन भएका निर्माण व्यवसायीलाई बल्लतल्ल सम्पर्कमा ल्याएको छ।

निर्माण व्यवसायी सम्पर्कमा आएका छन् : संघीय आयोजना 

यता संघीय आयोजना कार्यन्वयन इकाई रूपन्देहीले लामो समयपछि निर्माण व्यवसायी सम्पर्कमा आएको जनाएको छ।

कार्यालयका प्रमुख विदुर खड्काका अनुसार निर्माण व्यवसायी सम्पर्कमा आएको र एक/दुई दिनमै स्वास्थ्य चौकी भवनको निर्माण कार्यले निरन्तरता पाउने दाबी गरे।

निर्माण व्यवसायीलाई बैशाख महिनासम्म लागि काम सम्पन्न गर्ने गरी म्याद थप गर्ने प्रक्रियामा रहेको खड्काले जानकारी दिए। निर्माण व्यवसायीका लागि यो अन्तिम मौका भएकाले थपिएको समयमा पनि काम सम्पन्न नगरे कालो सूचीमा राखेरै छाड्ने उनले तर्क गरे।

'निर्माण व्यवसायीले स्थानीयको रकम पनि नदिएको बताएका छन् नि !' भन्ने प्रश्नमा खड्काले त्यो आन्तरिक विषय भएको बताए।​

स्थानीयहरूको पसल, खाद्यान्न, ढुङ्गा, गिटी, बालुवा र स्थानीय ज्यामीहरूको करिब १६ लाख रुपैयाँ नदिइ निर्माण व्यवसायी रातारात भागेको उजुरी गाउँपालिकामा आएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण खत्रीले बताए।

कारबाही निम्ति संघीय आयोजना कार्यन्वयन इकाइलाई आफूले लिखित रूपमा नै पत्राचार गरेको उनले जानकारी दिए।​

कारवाही गर्छौ : प्रजिअ शर्मा

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय ज्यामीहरूको ज्याला र तिर्नुपर्ने रकम नदिने निर्माण व्यवसायीलाई आवश्यक कारवाही गर्ने बताइन्।

एकपटक बोलाएर छलफल गर्ने र आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउने शर्माले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.