|

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटा संरक्षित कृष्णसारका लागि प्रसिद्ध छ।

निकुञ्ज घुम्न आउने पर्यटकको पहिलो रोजाइमा संरक्षित कृष्णसार पर्ने गरेको छ। कृष्णसार संरक्षण गरी राखिएका क्षेत्र अवलोकन निम्ति मचान व्यवस्था गरिएको छ। 

आन्तरिक तथा बाह्य पर्यटकले मचानमा चढेर कृष्णसारको तस्वीर लिने र दूरबीनको सहायताले अवलोकन गर्ने गर्छन्‌।

​​निकुञ्जमा कृष्णसार राख्नका लागि सम्भाव्यता अध्ययनपछि सन् २०१२ मा नेपालगञ्जस्थित मिनी चिडियाखानाबाट २२, जाउलाखेल चिडियाखानाबाट ६ र सन् २०१५ मा कृष्णसार संरक्षण क्षेत्र, खैरापुरबाट १४ गरी ४२ कृष्णसार निकुञ्जको हिरापुर फाँटामा स्थानान्तर गरी यहाँ ल्याइएको थियो। 

स्थानान्तर​ गरी ल्याइएका कृष्णसारको संख्या बढेर हाल १ सय ३३ पुगेको छ। कृष्णसारलाई पानीको व्यवस्था गर्न संरक्षण क्षेत्रमै ४ वटा पोखरी र २ वटा छहारी घर बनाइएको छ। खानाको कमी हुन नदिन मकै छरेर बोट तयार गरी खानका लागि छाडिने व्यवस्था गरिएको छ।

कृष्णसारलाई बाह्य आक्रमणबाट बचाउनका लागि ५९ हेक्टर क्षेत्रफलमा ग्याभिन बक्स र त्यसको पछाडि विद्युतीय तारबार (फेन्स वायर) जडान गरिएको छ।

सन् २०१६ मा यहाँ कृष्णसारको संख्या ४५ मात्रै रहेको थियो। जसमा भाले कृष्णसार १७, पोथी १३ र लिङ्ग नखुलेका बच्चाको सख्या १५ रहेको थियो।

वि.सं. २०६९ असोजमा नेपालगञ्‍जबाट ८ भाले र १४ पोथी तथा ललितपुरको जाउलाखेल चिडियाखानाबाट ३ भाले, २ पोथी र एउटा बच्चा कृष्णसार शुक्लाफाँटाको हिरापुर स्थानान्तरण गरिएको थियो।

कृष्णसारलाई सन्तुलित आहारको व्यवस्था समेत मिलाइएको निकुञ्जका मुख्य संरक्षण अधिकृत दिल पूर्जा मगरले बताए। उहाँका अनुसार कोभिड-१९ को संक्रमण बढेपछि पर्यटक संख्या घटेपनि हाल पुनः निकुञ्ज क्षेत्रमा कृष्णसार हेर्नका लागि  पर्यटक पुग्न थालेका छन्‌।

​राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत दुर्लभ स्तनधारी कृष्णसार १९६० को दशकमा पश्चिमका केही जिल्लामा पाइने गरेको र बासस्थानको विनाश र चोरी सिकारले गर्दा लोप हुने संघारमा पुगेको थियो।

हाल संरक्षण क्षेत्र बनाइएपछि कृष्णसारको संख्या वर्षेनी बढिरहेको छ। संरक्षण क्षेत्रका कृष्णसारलाई प्राकृतिक वासस्थानमा राख्न अभ्यस्त गराउने कामसमेत हुन थालेको छ।

संरक्षण अधिकृत पूर्जा मगरका अनुसार कृष्णसार नेपालको संरक्षित वन्यजन्तु हो र यो साइटिसको अनुसूची ३ मा सूचीकृत छ। 

एन्टीलोप प्रजातिको कृष्णसार हाल नेपालगञ्‍ज, काठमाडौँको मृगस्थली र शुक्लाफाँटाको हिरापुर फाँटामा संरक्षित छ। कृष्णसारलाई अङ्ग्रेजीमा ब्ल्याक वक भनिन्छ।

दुर्लभ र सौन्दर्यपूर्ण शरीरको वन्यजन्तु कृष्णसारको आहारा घाँस, दुबो, सिरु र काँस लगायत हो। हिन्दु धर्मावलम्बीले यसलाई 'भगवान श्रीकृष्णको साथी' मान्छन्‌। त्यसैले यसको नाम कृष्णसार रहन गएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.