|

कपिलवस्तु : ९ वर्षअघि यौन अपराध र हिंसाको शिकार भएकी कपिलवस्तुकी एक १४ वर्षीय बालिकाको हत्याकाण्ड अनुसन्धान रोकेको राज्य अहिलेसम्म ढुक्क देखिएको छ।

कञ्चनपुरकी निर्मला पन्त र बैतडीकी भागिनाथी भट्ट झैं क्रुर यौनपिपासु अपराधीको हातबाट ज्यान गुमाएकी शिवरानी थारूको परिवारलाई न्याय मिल्नु त परकै कुरा, राज्यले नै बिर्सिदिएको हो। 

प्रहरी र अधिकारकर्मीले समेत नदिँदा​ शिवरानी हत्याकाण्ड अनुसन्धान अलपत्र परिरहेको छ।

कपिलवस्तुको बाणगंगा-६, बैदौलीकी शिवरानीको हत्या भएको ९ वर्ष कटिसकेको छ।  २०६८ साल असोजमा नाच हेर्न भनी घरबाट निस्किएकी शिवरानीको बलात्कारपछि हत्या भएको थियो।

सोही साल असोज १४ गते शिवरानीको शव गाउँ नजिकको नहरमा फेला परेको थियो। इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले बलात्कार पछि हत्या भएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो।

आमासँग अनुमति लिएर घरबाट निस्किएकी शिवरानी साँझ ८ बजे नाचको रिहर्सल हेर्न पुगेकी थिइन। बिहान घरमा नदेखेपछि उनको परिवारले खोजतलास शुरू गरेको थियो।

खोज्दै गएका परिवारले गाउँनजिकै रहेको बाणगंगा सिँचाइको नहरमा शिवरानीको शव फेला पारेका थिए। घटना सुनाउँदै शिवरानीका हजुरबुबा पिंगु थारूले भने, ‘मेरी १४ वर्षकी नातिनीलाई पापीहरूले जबर्जस्ती गरेर मारे, ४ जना मानिसहरू संलग्न छन्‌ भन्ने पनि थाहा छ, तर राज्यले नै बेवास्ता गरेपछि हाम्रो केही लागेन।’

कार्यालय प्रमुख र अनुसन्धान गर्ने क्षेत्र परिवर्तन भएपछि शिवरानी हत्याको फाइल अलपत्र अवस्थामा छ। घटनाबारे अनुसन्धान गर्दै आएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका तत्कालीन प्रहरी निरीक्षक शिशु शर्मा सरुवा भएपछि हत्याको अनुसन्धान कमजोर भएको थियो।

घटना भएको क्षेत्र हेर्ने जिम्मा इलाका प्रहरी कार्यालय पिपरामा सरेपछि अनुसन्धान समेत प्रभावित भएको छ। प्रहरीले नाच हेर्न गएका पुरुष पहिचान गरी उनीहरूमाथि अनुसन्धान शुरू गरेको थियो। करिब २० जनामाथि सोधपुछ गर्दागर्दै रोकिएको अनुसन्धान अगाडी बढ्न सकेको छैन।  

यता, पीडित पक्षले भने प्रहरीले चासो नदिएका कारण शिवरानीले न्याय नपाएको बताउँदै आएका छन्। न्यायको लागी पटक-पटक प्रहरी कार्यालय धाए पनि बन्द भएको फाइल खुलेको छैन।

शंका लागेका ४ जनासहित नाच हेर्न पुगेकामाथि अनुसन्धान गर्दा अपराधी पत्ता लाग्ने शिवरानीको बुवा फुल्चा थारू बताउँछन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.