|

बझाङ : बझाङको सुर्मा गाउँपालिकामा खानेपानी निर्माणका दुई योजनाको ठेक्का खरीद ऐन विपरीत वितरण गरिएको छ। गाउँपालिका कर्मचारीहरूले कमिसन खाएर नियमविपरीत ठेक्का वितरण गरेको खुलेको हो। 

गाउँपालिकाले गत पुष २१ गते बिछाडा खानेपानी योजना र छेडा–घोगाड–पटेउरी खानेपानी योजना गरी दुई शीर्षकमा ठेक्का आह्वान गरेको थियो। 

सार्वजनिक खरिद ऐन अनुसार प्रतिस्पर्धा गराई न्यूनतम मूल्यमा काम गर्ने निर्माण कम्पनीलाई ठेक्का दिनुपर्ने भएपनि खरिद ऐनलाई छलेर जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा ठेक्का वितरण गरिएको छ। 

गाउँपालिकाले निर्माण गर्न लागेको बिछाडा खानेपानी योजनाको लागत ४९ लाख ९३ हजार ५ सय ६८ रुपैयाँ रहेको थियो। उक्त ठेक्कामा न्यू अनमोल निर्माण सेवा र अनमोल निर्माण सेवा गरी दुई निर्माण कम्पनीले आवेदन हालेका थिए। 

न्यू अनमोल निर्माण सेवाले ४९ लाख ९० हजार बराबर र अनमोल निर्माण सेवाले ४२ लाख ४५ हजार रुपैयाँ बराबरमा आवेदन दिएका थिए। नियमअनुसार अनमोल निर्माण सेवाले ठेक्का पाउनुपर्ने भएपनि कर्मचारीहरू आर्थिक प्रलोभनमा परेर न्यू अनमोल निर्माण सेवालाई ठेक्का दिएको छ। 

यस्तै, ५९ लाख ९९ हजार ४ सय ४९ रुपैयाँ लागतमा निर्माण हुने भनिएको छेडा–घोगाड–पटेउरी खानेपानी निर्माण आयोजनामा तीन निर्माण कम्पनीले ठेक्का हालेका थिए। जयलक्ष्मी निर्माण सेवाले ५९ लाख ९७ हजार, किनारा निर्माण सेवा ५७ लाख र अनमोल निर्माण सेवाले ५० लाख ९५ हजार रुपैयाँमा टेन्डर हालेका थिए। 

नियम अनुसार सबैभन्दा कममा काम गर्ने अनमोल निर्माण सेवाले ठेक्का पाउनु पर्ने भएपनि झण्डै ७ लाख रुपैयाँ बढीमा टेन्डर हालेको किनारा निर्माण सेवालाई दिएको छ। 

दुवै ठेक्काबाट झण्डै १४ लाख रुपैयाँ कमिसन खाएर गाउँपालिका कर्मचारीले न्यू अनमोल निर्माण सेवा र किनारा निर्माण सेवालाई ठेक्का वितरण गरेको स्रोतले जानकारी दिएको छ। यी दुवै निर्माण कम्पनी स्थानीयस्तरका हुन्‌। 

दुवै ठेक्कामा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज जोशी र लेखापाल राजेन्द्र खत्रीले आर्थिक प्रलोभनमा परी नियम विपरीत अर्कै मान्छेलाई ठेक्का दिएको अनमोल निर्माण सेवाका सञ्चालक हेमन्त भण्डारीको आरोप छ। 

ठेकदार कम्पनी र कर्मचारीको मिलेमतोमा नियम विपरीत अर्कैलाई ठेक्का पारेको उनले गुनासो गरे। यस प्रकरणबारे प्रशासन तथा सार्वजनिक खरीद अनुगमन कार्यालयमा उजुरी दर्ता गर्ने भण्डारीले बताए। 

यता प्रमुख प्रशासकीय अधिकृत जोशीले भने आर्थिक प्रलोभनमा नपरेको बताएका छन्। उनले नियमसंगत नभएकोले अर्कै मान्छेलाई ठेक्का दिइएको बताएका छन्। उनले भने, 'अनमोल निर्माण सेवाको बैंक ग्यारेन्टीमा छाप छुटेको थियो, त्यही कारणले अर्कै मान्छेलाई ठेक्का दिएका हौं।'

राष्ट्रिय वाणिज्य बैंकले भने आफ्नो गल्ती भएको र सुधारको लागी तोकिएकै समयमा गाउँपालिकालाई पत्र लेखी पठाएको जनाएको छ। 

यस्तै, निर्माण व्यवसायी संघ बझाङका उपाध्यक्ष दीपक रोकायाले कर्मचारीहरूले नियम विपरीत नै ठेक्का वितरण गरेको बताए। उनले भने, 'बैंकले गल्ती स्वीकार गर्दै पालिकालाई पत्र पठाइसकेपछि पनि ठेक्का कम मुल्यमा हाल्नेलाई दिनुपर्ने हो, तर कर्मचारीहरूले अर्कै मान्छेलाई दिनु गलत हो।' 

यसरी पालिका कर्मचारीहरूले ठेक्काका अर्कैलाई दिएबापत १४ लाख रुपैयाँ बढी रकम हात पारेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.