|

काठमाडौं :  अवैध १० लाख भारतिय रुपैयाँसहित बाँकेमा प्रहरीले एक भारतिय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दिल्ली जफ्फारावाद बस्ने ५४ वर्षीय मुनवर खान छन्। खानले दुई वटा झोलामा बोकी ल्याएको दुई हजार दरका तीन र पाँच सय दरका एक हजार ९ सय ८८ गरी १० लाख भारतिय रुपैयाँ बरामद गरिएको बाँके प्रहरीले जनाएको छ। 

भन्सार सुरक्षा गार्ड नेपालगंजबाट प्रहरी नायव निरीक्षक भीम बहादुर खड्का र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनाहबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको संयुक्त सुरक्षा टोलीले भन्सार चेक पोष्टमा चेकजाँचका क्रममा खानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनी पैदलै नेपालतर्फ आइरहेको बेला चेकजाँच गरिएको प्रहरीले जनाएको छ। 

खान तामा पितलको धुलो खरिद विक्री गर्ने व्यापारी रहेको खुलेको प्रहरीले जनाएको छ। खानले यसअघि पनि ७० हजार रुपैयाँमा तामाको धुलो खरिद गरेर भारतमा लगि ९० हजारमा विक्री गरेको खुलेको छ। यसपटक पनि उनी तामाको धुलो खरिद गर्न नेपाल आएको बुझिएको प्रहरीले जनाएको छ। पहिलो पटक आउँदा प्रहरीले पक्राउ नगरेकाले यस पटक पनि आएको उनले प्रहरीसमक्ष बयान दिएका छन्। 

विदेशी विनिमय ऐन २०१९ को दफा १७ बमोजिम बरामद रकम जफत गरी १० लाखदेखि ३० लाख सम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.