कांग्रेस जनप्रतिनिधिलाई प्रदेश र संघको मन्त्रालय खुल्ला नभएको गुनासो

|

धनकुटा : मुलुकमा संघीयता कार्यान्वयन भएर तीन तहको सरकार लागू भएको ३ वर्ष पूरा भइसकेको छ। तीन तहको सरकारअन्तर्गत संघ, प्रदेश र स्थानीय तहको सरकार कार्यान्वयन भएको छ।

तर, कतिपय ठाउँमा स्थानीय तहकहरु भवन अभावका कारणले साँगुरो भवनबाट कार्य सम्पादन गर्न बाध्य भएका छन। यस्तै, अवस्था तेह्रथुमको लालीगुराँस नगरपालिकाले पनि झेल्दै आएको छ। जनप्रतिनिधिले निर्वाचित भएर आएपछि लालीगुराँस नगरपालिकाले सानो भवनबाट सेवाग्राहीलाई सेवा दिन बाध्य भएको छ।

नगरपालिका बन्नुअघि सामुदायिक भवनको नाममा रहेको भवन नगरपालिकाले प्रयोग गर्दै आएको छ। नगरपालिकाका लागि बल्लतल्त भेटिएको सो भवनमा साँगुरो कोठा, त्यसमा पनि मुस्किलले कार्यालयको नियमित काम भइरहेको छ। साँगुरो भवनबाट सेवा प्रवाह हुँदा समस्या भएको सेवाग्राहीको गुनासो छ।

नगरपालिकाको भवन धेरै साँगुरो भएको कारणले धेरैजसो समय सेवा लिन समस्या भएको लालीगुराँस नगरपालिका वडा नं. ३ का सुरेन्द्र कार्कीले बताए। उनले धेरै सेवाग्राही आएको बेला सबै काम एउटै कोठाबाट हुने हुँदा जनप्रतिनिधि र कर्मचारीहरु अल्मलिने गरेको बताए।

यस्तै, लालीगुराँस नगरपालिका वडा नं. ८ का उक्तबहादुर तेयुङले नगरपालिका भवन जीर्ण अवस्थामा रहेको बताए। उनले नगरपालिकाको बैठक भएको बेला सेवा लिन नसकिने बताए। सबै काम एउटै कोठामा हुने भएकाले चाहेअनुसारले सेवा लिन नपाएको तेयुङले बताए।

देखिने गरी राखिएको छैन नागरिक बडापत्र

लालीगुराँस नगरपालिकाको भवन साँगुरो हुँदा भौतिक अभाव मात्रै भएको छैन। सबै सेवाग्राहीले देख्नेगरी नागरिक बडापत्रसमेत राखिएको छैन। नागरिक बडापत्र भित्र एकान्तमा राखिएको छ। नगरपालिकाको आफ्नै भवन नहुँदा वैकल्पिक भवनबाट सेवा प्रवाह गरिरहेको नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत निराजन श्रेष्ठले बताए।

सेवाग्राही चाप हुँदा सेवाग्राहीले जस्तो अपेक्षा लिएर आए पनि प्रक्रियागत रुपमा सेवा दिएको भए पनि भौतिक असुविधाका कारण सेवाग्राहीलाई बस्ने ठाउँ, खानेपानीको सुविधा नहुने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए। उनले भवन अभावकै कारणले नागरिक बडापत्र देखिने ठाउँमा राख्ने र सेवाग्राहीलाई भौतिक सुविधासहित सेवा दिने अवस्था नभएको बताए।

सबैतिर अपांगमैत्री भवनको कुरा चलिरहेको बेला लालीगुराँस नगरपालिकाको भवन सपांगमैत्री पनि नभएको र एउटै टेबलमा ३ जना कर्मचारीले काम गर्नुपरेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए। उनले प्रमुख प्रशसकीय अधिकृतको कोठामा ४ जना मानिस अट्न सक्ने क्षमता नभएको बताए। प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले आफू भर्खरै यो नगरपालिकामा आएकोले जनप्रतिनिधिहरूसँग सरसल्लाह गरेर यो समस्याको समाधान गर्न पहल गर्ने बताए।

जनप्रतिनिधिहरुलाई भेटन जनताहरुको चाप बढेको बेला पनि समस्या हुने गरेको छ। नगरपालिकामा वाार्षिक करिब ४० करोडको बजेट भए पनि विकास बजेट करिब १० करोडको मात्रै हुने गरेको छ। जसमा आधा बजेट वडालाई विनियोजन गर्नैपर्ने अवस्था छ। बाँकी रहेको बजेटले नगरपालिकाले खानेपानी, सिँचाइ, सडकजस्ता काममा छुट्याउनै परेको नगर प्रमुख अर्जुन माबोहाङले बताए।

नगर प्रमुख माबोहाङले भवन बनाउन करिब ३ करोड बजेट लाग्ने भए पनि त्यो बजेट नगरपालिकाले वार्षिक बजेटबाट विनीयोजन गर्न नसक्ने बताए। उनले नगरपालिकाको नाममा जग्गा पनि नभएको भए पनि बजेट प्रदेश वा संघ सरकारबाट आए जग्गा अभाव नहुने बताए।

फरक पार्टीको भएकै कारण बेवास्ता गरेको गुनासो

नगर प्रमुख माबोहाङले नगरपालिकासँग भवन बनाउने पैसा नभएको बताए। उनले प्रदेश र संघ सरकारसँग नगरपालिकाको भवनको विषयमा कुरा गरेको भए पनि प्रदेश र संघ सरकार नेकपाको भएको र लालीगुराँस नगरपालिकाका अधिकांश जनप्रतिनिधि कांग्रेसको तर्फबाट टिकट पाएको निर्वाचन जितेको हुनाले फरक पार्टी भएर सुनुवाइ नगरेको बताए।

उनले कांग्रेसबाट टिकट पाएर स्थानीय तहको जनप्रतिनिधि भएकालाई प्रदेश र संघको मन्त्रालय खुल्ला नभएको गुनासो गरे। मन्त्रालय गएर मन्त्री वा कसैलाई भेट्न खोजे फरक पार्टीको भनेर भेट नदिएको माबोहाङको भनाइ छ।

प्रदेश र संघ सरकार जस्तै स्थानीय तहमा नेकपाकै सरकार भएको ठाउँमा स्थानीय तहले खर्च गर्न नसकेर बजेट फिर्ता हुनेगरी बजेट आएको भए पनि फरक पार्टीको सरकार भएको ठाउँमा प्रदेश र संघ सरकारबाट बजेट नआएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.