|

सुजता लिम्बू

विराटनगर : मोरङको उर्लाबारीमा शङ्कास्पद मृत्यु भएका एक युवकको घटना अनुसन्धानमा लापरबाही भएको भन्दै आफन्तले इलाका प्रहरी कार्यालय उर्लाबारी परिसरमा नाराबाजी गरेका छन्। 

गत पुसमा मोरङका ३१ वर्षीय प्रविन बाँस्तोलाको मृत्यु भएको थियो। घटनापछि मृतकका बुबा प्रेमप्रसाद बास्तोलाले पुस २२ गते उर्लावारी–६ का राजेश रणपहेलीविरुद्ध किटानी जाहेरी दिएका थिए। 

इलाका प्रहरी कार्यालय उर्लाबारीमा पुस ९ गते यो घटना ज्यानसम्बन्धी कसुर दर्ता किताबको ६७ नम्बरमा उल्लेख गरिएको थियो। तर, प्रहरीले फरेन्सिक प्रतिवेदन आउन ढिलाइ भएको भन्दै पक्राउ गरिएका रणपहेलीलाई गत माघ २ गते नै छोडिदिएको थियो। प्रहरीले कानुनबमोजिम २५ दिन थुनामा राखेर अनुसन्धान गर्ने अवधि पूरा भएको भन्दै छोडेको हो। 

जिल्ला सरकारी वकिल कार्यालयको निर्देशनबमोजिम प्रतिवादी छोडिएपछि घटनामा प्रहरीको मिलेमतो रहेको मृतकको परिवारको आशंका छ। अनुसन्धान प्रभावकारी नभएको र आरोपित व्यक्तिले उन्मुक्ति पाएको भन्दै आइतबार पीडित परिवार र स्थानीयवासीले जिज्ञासा माग्दा प्रहरीले लापरवाही गरेको पाइएको छ।

मृतकका परिवार र आफन्तलाई चित्त नबुझेपछि पछिल्लो समय प्रहरीको अनुसन्धानमा शंकास्पद मृत्यु भएका व्यक्तिको मिसिलमा असम्बन्धित फोटो संलग्न गरेको भेटिएपछि प्रहरीले घटना ढाकछोप गर्न भूमिका खेलेको रहस्य खुलेको मृतकको परिवारको दाबी छ। 

मिसिलमा समावेश गरिएको मृतकको तस्बीरमा चाँदीको सिक्री लगाएको पाइएपछि स्थानीयले केहीबेर इलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै प्रहरीविरुद्ध नाराबाजी पनि गरेका थिए। त्यही क्रम सोमबारसमेत पीडित र स्थानीयवासीले कायम राखेका छन्। 

मृतक फेला पर्दा उनको गलामा सिक्री थिएन। यद्यपि प्रहरीले अनुहार नै नचिनिने गलामा सिक्री लगाएको तस्वीर घटना मुचुल्कामा संलग्न गरेको पाएपछि स्थानीय आक्रोशित बनेका हुन्।

सुरुमा प्रहरीले दोषी पत्ता लगाउने आश्वासन दियो। तर, अहिले घटनाका आरोपित सबैलाई छोडिदिएको छ। मृतक प्रविनका बुबा प्रेमले भने –४ गते घरबाट निस्किएको छोरो ५ गते ११ बजेतिर मर्यो अरे भनेर नचिनिएको नम्बरको फोनबाट खबर आयो। ‘कहाँ मर्यो, कसरी मर्यो कसले मार्यो ,हामी परिवारका सदस्यलाई केही थाहा भएन। प्रहरी पनि प्रत्येक पटक अलगअलग बयान दिन्छ। मर्ने त मर्यो तर न्याय मर्नु भएन नि’, उनले भने।

छोराको शव मृत अवस्थामा गोदावारी अस्पतालमा भेटिएपछि परिवारले प्रविनलाई त्यहाँसम्म कसले ल्यायो भन्नेसम्म थाहा छैन। 

प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा छानबिन 

जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको सम्बन्धमा छानबिन गर्न प्रहरी नायव उपरीक्षक मानबहादुर राईको संयोजकत्वमा छानबिन समिति बनाइएको छ। आइतबार स्थानीयले इलाका प्रहरी कार्यालय उर्लाबारी घेराउ गरेपछि प्रहरीले छानबिन समिति गठन गरेको हो।

जिल्ला प्रहरी कार्यालयले बास्तोला मृत्यु प्रकरणको अनुसन्धानमा घटनाको तथ्यहरुमा तात्विक फरक पर्ने गरी प्रमाण संकलन र नष्ट गरी कसुरदारलाई उन्मुक्ति दिने गैह्रव्यवसायिक काम गरेको पाइएमा अनुसन्धान अधिकृतलाई कारबाही गर्ने दाबी गरिएको छ।

प्रहरीले सम्बन्धित इलाका इन्चार्ज, अनुसन्धान अधिकृत, प्रहरी कर्मचारी समेतलाई कारबाही गरिने भन्दै घटना अनुसन्धान नयाँ प्रक्रियाबाट गर्ने जिल्ला प्रहरी कार्यालय मोरङले विज्ञप्तिमार्फत जानकारी दिइएको छ। 

घटनाको सुरुवाती फेहरिस्तदेखि अहिलेसम्मको अवस्थाको अनुसन्धान गर्ने गरी टोली खटाइएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।

'प्रहरीले जिल्ला सरकारी वकिलको रायका आधारमा जिम्मा जमानीमा छोडेको हो, पूर्ण उन्मुक्ति दिएको हैन,' उपरीक्षक खड्काले भने, 'घटनाको अनुसन्धानमा त्रुटि रहेको पाइएमा संलग्न प्रहरीलाई कारबाही हुन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.