|

काठमाडौं : नेपालमा कोरोना विरुद्धको खोप खेरजाने दर एकदमै कम रहेको बताइएको छ।

 यसअघि भारतमा निर्मित सिरम इन्स्टिच्युटबाट उत्पादित कोभिशील्ड खोपले नेपालमा अनुमति पाएको थियो। पछि भारत सरकारले १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराएपछि गत माघ १४ गतेपछि नेपालमा कोरोना विरुद्धको खोप अभियान शुरू भएको थियो।

खोप अभियान शुरू गर्नुअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १०/१५ प्रतिशत खोप खेरजाने अनुमान गरेको थियो। हाल  खोप अभियान चलिरहँदा खोप खेर जाने दर अत्यन्तै न्यून (१ प्रतिशतभन्दा कम) रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. भीमसिंह तिंकरीले बताए।

उनले भने, ‘हामीले अभियान शुरू गर्दा १०/१५ प्रतिशत खोप खेर जाने अनुमान गरेका थियौँ, तर अहिले खोप उपयोगमा अपनाइएको सावधानी र सचेतनाका कारण खेरजाने दर एकदमै कम छ। हालसम्म एक प्रतिशतभन्दा कम खोप खेर गएको छ।‘

हाल खोप केन्द्रमा खोप लगाउने १० जना भेला भएपछि मात्रै एक भायल खोप खोलिने हुँदा खोप खेरजाने दर कम भएको उनले बताए।

हालसम्म खोप केन्द्रहरू अस्पतालमा नै रहेको र खोप प्राविधिक हिसाबले पनि सुरक्षित भएको हुँदा खोप हालसम्म कम खेर गएको समेत उनले बताए। उनले भने, ‘हालसम्म हाम्रो खोप केन्द्र अस्तालहरूमा नै छ, जसले गर्दा खोप सुरक्षित छ, तर अब समुदायमा जाँदा खोप अलिक खेर जान पनि सक्छ, तर हामीले सकेसम्म खोप खेर नजाओस् भनी सोहीअनुसार गृहकार्य गरिरहेका छौँ।'

पहिलो चरणको खोप अभियान अन्तर्गत सरकारले स्वास्थ्यकर्मी, सफाइकर्मी, शव व्यवस्थापक, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका, कैदी, वृद्धाश्रममा रहेका व्यक्ति र उनीहरूको हेरचाहमा खटिएका व्यक्तिहरूलाई भ्याक्सिन लगाएको थियो।

पहिलो चरणकै दोस्रो प्राथमिकतामा पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, जनप्रतिनिधि, सरकारी कर्मचारी, बैंकका कर्मचारीहरूलाई खोप लगाइएको थियो।

अब ५५ वर्षभन्दा माथिका व्यक्ति, जोखिम तथा अग्रपंक्तिमा रहेका दर्ता भएका औषधि पसलमा कार्यरत र प्रयोगशालामा काम गर्ने अन्य कर्मचारी तथा सफाइकर्मी,महाविद्यालय तथा विद्यालयका प्राध्यापक,शिक्षक तथा कर्मचारीहरू, सार्वजनिक यातायातमा चालक तथा सहचालकलाई पनि खोप दिने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.