|

काठमाडौं : पद वहाली लगत्तै आफ्नो कार्यकक्षमा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको तस्वीर टाँसेर चर्चामा आएका प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले सडक दुर्घटनाका घाइतेको उद्धारमा सघाएका छन्। 

प्रदेश प्रमुख झाले मंगलबार बिहान बाराको निजगढमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका चार जनाको उद्धारमा सहयोग गरेका छन्। जनकपुरधामबाट बाराको जितपुर गइरहेका प्रदेश प्रमुख झा निजगढको जंगलमा दुर्घटना भएको देखेपछि घाइतेहरूको उद्धारमा खटिएका थिए। 

झा जितपुरमा सैनिकको एक कार्यक्रममा सहभागी हुन गइरहेका थिए। सडक छेउमा एक बच्चासहित चार जना घाइतेहरू छटपटाइरहेको देखेर आफू उद्धारमा खटिएको झाले थाहाखबरसँग बताए। ‘सुरक्षाकर्मीले त प्रोटोकलले मिल्दैन भने तर, घाइते छटपटाइ रहेको देखेर मानिसको ज्यान भन्दा ठूलो पद नहुने भनेर आफै उद्धारमा लागेँ’ झाले भने,‘यो कुनै प्रचारका लागि नभएर मानविय धर्म सम्झेर उद्धारमा खटिएको हुँ।’

झासहितको टोलीले घाइतेको तुरुन्त उद्धार गरी चन्द्रनिगाहपुरस्थित अस्पतालमा पठाउन लगाएको थियो। झाले घाइतेहरूको साथमा आफ्ना एकजना सुरक्षाकर्मीसमेत पठाएका छन्।

झाले यसअघि आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाहको फोटो टाँसेपछि सर्वत्र चर्चापरिचर्चा भएको थियो। देशभर कुनै पनि जनप्रतिनिधिले राष्ट्र एकीकरणका नायक पृथ्वीनारायण शाहको फोटो नटाँसेकोमा आफूले टाँसेको बताए।     

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.