|

मकवानपुर : नेपाल सरकार, मन्त्रिपरिषदको वि.सं.२०७१ साल चैत १ गते बसेको बैठकले देशमा नयाँ औद्योगिक क्षेत्रको पहिचान गर्दै औद्योगिक क्षेत्र विस्तार गर्ने निर्णय लियो।

लामो समयपछि यतिबेला देशका विभिन्न ठाउँमा धमाधम औद्योगिक क्षेत्र शिलान्यास भइरहेका छन्। यो साता मुलुकमा विभिन्न भागमा औद्योगिक क्षेत्र शिलान्यासका कार्य सुरु भएका छन्।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरस्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गरे भने मङ्गलबार लुम्बिनी प्रदेशको बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको शिलान्यास भयो।

मकवानपुरको हेटौंडास्थित मयुरधाप, रुपन्देही, झापामा पनि औद्योगिक क्षेत्र शिलान्यास हुँदैछन्। देशका यी विभिन्न पाँचवटा औद्योगिक क्षेत्रमा एक  खर्ब ७९ करोड रुपैयाँ लागत रहने अनुमान गरिएको छ।

नयाँ औद्योगिक क्षेत्रको स्थापना, शिलान्यास र नयाँ औद्योगिक क्षेत्र विकासका विषयमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतसँग थाहाकर्मी शिव चौलागाईंले गरेको कुराकानीको सम्पादित अंश : 

मकवानपुरको, हेटौंडाको मयुरधापलगायत देशका विभिन्न ठाउँमा औद्योगिक क्षेत्र स्थापनापछि अहिले शिलान्यासका कार्य कसरी भइरहेका छन्? 

वि.सं.२०१६ सालदेखि नेपालमा अघि बढेको औद्योगिक क्षेत्र निर्माण प्रक्रिया वि.सं.२०४४ सालसम्म साना-साना १० वटा औद्योगिक क्षेत्र विकास भए। यो बेलामा पनि औद्योगिक प्रवर्द्धन तथा रोजगारीका अवसर भए। यसपछि मुलुकका विभिन्न राजनीतिक घटनाक्रमले मुलुकका औद्योगिक विकासका कामहरू अवरूद्ध हुन पुगे।

हालकै प्रधानमन्त्री केपी शर्मा ओलीकै सरकार रहेको बेला वि.सं. २०७१ साल चैत महिनाको १ गते प्रदेश प्रदेशमा न्यूनतम हजार बिघा क्षेत्रफलको एउटा औद्योगिक क्षेत्र खोल्ने नीतिगत निर्णय भयो।

औद्योगिक क्षेत्रमा लाखौंलाई रोजगारीका अवसर दिने सरकारले नीतिगत निर्णय गरेपछि हामीले मकवानपुर हेटौंडाको मयुरधाप, महेन्द्रनगरको कन्चनपुर, बाँकेको नौबस्ता, रुपन्देहीको मोतीपुर, झापाको दमकमा ठूला औद्योगिक क्षेत्र पहिचान गरी घोषणा गरेर कामहरू सुरु गर्‍यौं।

यी औद्योगिक क्षेत्रमा आवश्यक सम्पूर्ण काम पूरा गरेपछि अहिले एकैपटक प्रादेशिकस्तरका ठूला–ठूला औद्योगिक क्षेत्रहरू शिलान्यास गरिरहेका छौं। मुलुकमा प्रादेशिकस्तरमा ठूलो औद्योगिक क्षेत्र विकास गर्ने ऐतिहासिक काम अहिले भइरहेको छ। नेपाललाई औद्योगिक क्रान्तिमा प्रवेश गराउने काम हामी अहिले गरिरहेका छौं।

तपाईंले नेपालमा औद्योगिक क्रान्ति भएको दाबी गरे पनि देशका पुराना औद्योगिक क्षेत्रमा आवश्यक पूर्वाधारले पूर्णता पाएको छैन। औद्योगिक क्षेत्र शिलान्यास गर्दैमा औद्योगिक क्रान्ति हुन्छ त

हामीले विगतका पुराना औद्योगिक क्षेत्रको पाठ सिक्दै नयाँ औद्योगिक क्षेत्र विकासमा लागिपरेका छौं। पुरानो मोडेलबाट अब हामी जाने छैनौं। पुराना मोडलमा उद्योगहरूको सञ्चालन विधि, अहिले भएका ऐन यिनम कानूनलाई समय सापेक्ष सुधार गर्दै अहिले हामी अगाडि बढिरहेका छौं।

पुराना १० बिघामा भएका १० वटा उद्योग पनि सञ्चालन गर्न नसकेको अवस्था पनि छ। विगतका सबै ठाउँको उद्योग सञ्चालनको विधि, त्यहाँभित्रका विभिन्न विकृति हटाएर अहिले नयाँ औद्योगिक क्षेत्र खोलिएका छन्।

हामीले शिलान्यास गरेका औद्योगिक क्षेत्रमा दुई वर्षभित्र उद्योगहरू सञ्चालन गर्छौं र पाँच वर्षभित्र पूर्वाधार निर्माण कार्य सम्पन्न गरिसक्छौं।

हेटौंडा औद्योगिक क्षेत्र स्थापना भएर शिलान्यास गरिएको ६० वर्षसम्म अहिले पनि हुनुपर्ने सबै पूर्वाधार पूरा भएका छैनन्।

अबको फरक मोडलअनुसार औद्योगिक क्षेत्र निर्माणको डिपिआर अनुसार यस्ता यस्ता सुविधा छन् भनेर उद्योगीलाई बुझाउनेछौं। उद्योग शिलान्यास गरिएको ६ महिनाभित्र हामीले आधारभूत पूर्वाधार दिनेछौं।

जग्गा लिजमा गएपछि उद्योगीले उद्योग बनाउन सुरु गर्नुहुनेछ भने हामीले बाटो, बिजुली उपलब्ध गराउनेछौं। अनि पाँच वर्षभित्रमा उद्योग पूर्ण रूपमा सञ्चालनमा आइसक्नेछ। पुरानो मोडलअनुसार काम गर्दा औद्योगिक क्षेत्र उद्घाटन भएका औद्योगिक क्षेत्रमा उद्योग आउन नसकेका उदाहरण हामीसँग छन्।

सिमरामा पुराना मोडलमा स्थापना गरिएको औद्योगिक क्षेत्रमा उद्योग स्थापना हुनै सकेनन्। हेटौंडाको मयुरधापमा पनि स्थापित औद्योगिक क्षेत्रमा पहिला उद्योगी आउने पक्का हुनुपर्‍यो, उहाँहरूले जग्गा पाउनुपर्‍यो, उहाँहरूलाई कति बिजुली, बाटो, पानी कस्तो चाहिन्छ भन्ने कुरा उहाँहरूको माग अनुसार हामीले तयार गरिदिने छौं।

दुई वर्षभित्र पनि उद्योग सञ्चालनमा ल्याइएन भने त्यहाँ उद्योगका लागि अब जग्गा ओगटेर राख्न नपाइने कानुनी व्यवस्था मिलाउँछौं। पहिले पहिले औद्योगिक क्षेत्रमा उद्योग चलाउने भन्दै जग्गा ओगट्ने जुन काम भएका छन्, यसलाई हामी अब पूरै निरुत्साहित गर्नेछौं। 

नयाँ औद्योगिक विस्तार, शिलान्यासको अभियान चलाइरहँदा पुराना औद्योगिक क्षेत्रमा आवश्यक पूर्वाधार, संरचना विकास गराउनमा पनि तपाईंहरूको सहजीकरण किन भएन? 

हामी औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण गर्ने संस्था हौं। उद्योगलाई नीति, नियम बनाउने नियामक निकाय भनेको उद्योग मन्त्रालय, उद्योग विभाग, औद्योगिक प्रवर्द्धन बोर्ड हुन्।

विगतका औद्योगिक क्षेत्र किन फस्टाएन, पुराना नीति, नियमअनुसार काम किन हुन सकेनन्? भन्ने समीक्षा गर्दै नयाँ मोडलका औद्योगिक क्षेत्र खुलेका छन्।

पुराना उद्योगको अवस्था, विकास, रुग्ण उद्योग पुनःसञ्चालन कसरी गर्ने, बन्द उद्योगलाई कसरी सञ्चालन गर्ने भन्ने कुरा राज्यले आफनो ठाउँबाट गरिरहेको छ। विगतको राजनीतिक अवस्थाका कारण जुन औद्योगिक क्षेत्र तहस, नहस भयो, जुन औद्योगिक क्षेत्र उठ्न सकेन, अब यस्ता कार्य दोहोरिने छैन।

नीति, नियम कानुनले पनि सरकारले ठूला–ठूला औद्योगिक क्षेत्र निर्माण गर्नुपर्ने भयो। अहिले मुलुकभरमा हामीले जहाँ शिलान्यास गरिरहेका छौं, हामीसँग पाँच गठ्ठादेखि पाँच बिघासम्मका दुई हजारवटा प्लट तयार भएको छ।

औद्योगिक क्षेत्रको जग्गामा ऋण प्रवाहमा समस्या रहेको उद्योगीहरूको गुनासो पनि छ। यसको समाधानका लागि उद्योग मन्त्रालय, अर्थमन्त्रालय, राष्ट्रबैंक, हाम्रो निकाय आपसमा बसेर छलफल गर्नुछ।  

नयाँ औद्योगिक क्षेत्रमा कस्ता– कस्ता उद्योग स्थापना हुनेछन्

औद्योगिक क्षेत्र शिलान्यास भएको एक महिनाभित्र हामी उद्योगीलाई तपाईंहरू कस्तो उद्योग लिएर आउनुहुन्छ, आउनुहोस् भन्छौं।

हामीले उत्पादनमूलक उद्योगलाई पहिलो प्राथमिकता दिनेछौं। ठूला बहुराष्ट्रिय उद्योगहरू आउँछन् भने पनि उहाँहरूलाई ठाउँ खाली छ। साना, मझौला, मध्यम र ठूला खालका गरी सबै प्रकारका उद्योग स्थापना गराउँन इच्छुकलाई औद्योगिक क्षेत्रमा जग्गा उपलब्ध हुनेछ।

उद्योग गर्नका लागि जग्गा अभाव हुने, समुदायलाई पर्ने असरले उद्योगमाथि हुने समस्या जस्ता असजिलो औद्योगिक क्षेत्रको उद्योगमा हुँदैन।

हामी पाँच वर्षभित्रमा दुई हजार वटा प्लटमा सबै उद्योग खुलाएर नेपालमा औद्योगिक क्रान्तिको नयाँ युगमा प्रवेश गर्‍यौं भनेर कामबाट नै देखाउँनेछौं। अहिले हामी नयाँ औद्योगिक क्षेत्र शिलान्यास मात्र गरिरहेका छैनौं कि उद्योगी भित्राउन आह्‍वान पनि गरिरहेका छौं।

औद्योगिक क्षेत्र स्थापना भएपछि स्थानीयलाई चाहिँ के लाभ हुन्छ

औद्योगिक क्षेत्र स्थापना भएपछि स्थानीय रूपमा उद्योग गर्न रुचि हुनेहरूले उद्योग गर्न पाउँनेछन्। स्थानीयहरूलाई क्षमता, योग्यता अनुसारको रोजगारी पनि सिर्जना हुन्छ। यसका साथै देशको समेत आर्थिक विकासका लागि टेवा पुग्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.