|

पाल्पा : बगनासकाली गाउँपालिका फुसको छाना रहित गाउँपालिका घोषणा भएको छ।

यस अभियानमा यो गाउँपालिका जिल्लाकै पहिलो बनेको छ। २०७४ सालदेखि सुरू भएको फुसको छानो रहित अभियान गत वर्ष सकिएको थियो। तर, कोरोनाका कारण घोषणा गर्न ढिलाई भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए। उनका अनुसार २५२ घरलाई जस्तापाता सहयोग गरिएको छ। यससँगै सिंगो गाउँपालिका फुसको छानो रहित बनेको छ। 

वडाबाट फुसको छाना भएको घरको विवरण लिएर जस्तापाता उपलब्ध गराएको बस्यालले बताए। ७५६ बन्डल जस्तापाता वितरण गरिएको छ। ६९ लाख रुपैयाँ बराबरको जस्तापाता वितरण गरिएको उनले जानकारी दिए। पानी चुहिने घरमा बस्नुपर्ने यहाँका नागरिकको बाध्यता टरेको उनले बताए। 

तीन आर्थिक वर्षमा यो अभियान सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत सुरेस घिमिरेले बताए। उनका अनुसार २०७४/०७५ मा १५ लाख, २०७५/०७६ मा १५ लाख र २०७६/०७७ मा ३९ लाख बजेट विनियोजन गरेर फुसको छाना हटाउने अभियान थालिएको थियो। उनी भन्छन्, 'अब गाउँपालिकामा फुसले छाएका घर छैनन्।'

यहाँका विपन्न तथा गरिब नागरिकलाई ओतमा राख्ने कामलाई पहिलो प्राथमिकता दिएको गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले बताइन्। आगलागी र हावाहुरीले फुसको छाना उडाइदिने समस्या भएकोले जस्तापाता वितरण गरिएको उनले बताइन्।

आगामी दिनमा यी नागरिकलाई अर्थोपार्जनमा जोड्ने विशेष खालका कार्यक्रम संचालन गर्ने उनी बताउँछिन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.