काठमाडौं : देशको स्थायी सरकार चलाउनका लागि निकै विद्धान, बुद्धिमान र चलाख उम्मेदवार खोजिन्छ कि इमान्दार नैतिकवान र सत्यनिष्ठ भन्नेबारे स्पष्ट भएपछि मात्र लोकसेवा आयोगले लिने परीक्षा तयारीमा लाग्ने हो भने यो उत्तीर्ण गर्न सजिलो हुन्छ।
हामीहरू लोकसेवा आयोगको प्रशासन तर्फका पदमा बढि घोकन्ते आँकडाविद् र स्मरणविद् बन्ने प्रयास गर्दछौं। किनकी परीक्षामा विषयवस्तुको स्मरण नभएसम्म लेख्न सकिँदैन। त्यसैले कुनै पनि व्यक्तिले परीक्षा तयारी गरिरहेका छ भने उसले इतिहास, भूगोल, दर्शन, गणित, व्यवस्थापन, लेखा, अर्थशास्त्र, भौतिक, रसायन वा प्राणी शास्त्रबाट केही न केही पढ्ने घोक्ने प्रयास गरी रहेको हुन्छ। सामान्य ज्ञानदेखि आइक्यु सम्ममा निज अब्बल हुनुपर्छ।
कामको प्रकृतिअनुसार विषयगत ज्ञान र कार्य सञ्चालनमा प्राविधिक ज्ञान सबैलाई चाहिन्छ। त्यसैले ज्ञानको अनन्त सागरभित्र माथि उल्लेख गरिएकामध्ये सबै तथा केही विषयको विशेषज्ञता नभई लोकसेवा आयोग पास गर्न सकिँदैन।
त्यसैले, पढ्ने घोक्ने तथा त्यसलाई तोकिएको सिमित समयमा उचित प्रस्तुतिका साथ कापीमा उतार्नु सामान्य कार्य होइन। यसले मानवको सन्तुलित बौद्धिक र प्रस्तुतिकरण क्षमता देखाउँछ।
लोकसेवा आयोगले लिने परीक्षाले पहिलो चरणमा उम्मेदवारको बौद्धिक, स्मरणात्मक, समय व्यवस्थापन क्षमता तथा विशिष्टता प्रस्तुत गर्छ। त्यतिमात्र होइन, परीक्षाले संज्ञानात्मक सृजनशीलतालाई दर्साउँछ। जस्तै : लोकसेवा आयोगले प्रश्न सोध्दा 'गरिबी हटाउन चालिनुपर्ने व्यवहारिक र संभव उपायहरूलाई आफ्नो तरिकाले प्रस्तुत गर्नुहोस्' भनी कुनै विवेचनात्मक प्रश्न सोध्नसक्छ।
यो प्रश्नको उत्तर घोकेको र तथ्यांकका भरमा मात्र र दिन सहज पनि छैन र आयोगले खोजेको पनि गरिबीको इतिहास र संख्या लेखेर पुग्ने परम्परागत प्रश्न होइन। यसले खोजेको उत्तर भनेको नेपालमा गरिबी हटाउन अबका दिनमा कस्ता उपाय छन्, जुन देशको समकालीन अवस्थामा व्यवहारिक पनि छन् र त्यो सन्दर्भमा उम्मेदवारले तत्काल सोचेर कस्तो उत्तर दिन सक्छ भन्ने क्षमता मापन गर्न यो प्रश्न सोधिएको हुन सक्छ।
सम्भवतः विगतमा अभ्यासमा आएका कुनै पनि उपाय लेखिए नम्बर पूरै काटिन सक्छ, किनकी प्रश्न भविष्यगामी छ। विगतका कुनै उदाहरणलाई नटेकी नयाँ गरिबी निवारणका उपाय, त्यो पनि व्यवहारिक रूपमा सहज उत्तर मागिएको हो। यस्तै प्रश्नबाट उच्च प्रतिस्पर्धी छानिन्छन्।
यसरी प्रश्न सोध्दा केवल कुनै पूर्व तथ्यांकको आधारमा अर्थात घोकेकै भरमा लेख्न मिल्ने सोधिन्छ भन्ने आम मान्यताबाट परीक्षा तयारीकर्ता मुक्त हुनुपर्छ। प्रश्न घुमेका हुन्छन् र ज्ञानको दायरालाई पनि १८० डिग्रीमा घुमाएर उत्तर लेख्ने तयारी गर्नुपर्छ। सिर्जनशीलता त्यस्तो शक्ति हो - जसले भोलिका दिनमा आइलाग्ने समस्या समाधानमा उम्मेदवार कति तयार अवस्थामा छ भन्ने कुराको संकेत गर्दछ।
ज्ञानको उच्चताबाट नै हजारौँलाई जितेर एउटा पोष्टमा आफूलाई स्थापित गर्नु सामान्य कुरा हुँदै होइन। त्यसैले सेवा आयोगमा सृजनशील उत्तर दिनसक्ने मानिस नै उत्तीर्ण हुन्छन्।
हामीमध्ये धेरैले यो परीक्षामा फेल हुनको मुख्य कारण लोकसेवा आयोगले मागेभन्दा विद्धता कम भएर नभई आयोगले मागे जस्तो समझदार, इमान्दार, नैतिक र सत्यनिष्ठ हुने उत्तर नदेखिएकोले अरू भन्दा पछाडी पारिएको हुनसक्छ।
कुनै लिखित परीक्षामा कुनै, छलफलमा, कतै अअन्तरवार्तामा इमान्दारीता पनि छनौटमा मूल्यांकनको विषयबस्तु बन्दछ। कसैको इमान्दारीता मापन निम्ति यस्ता प्रकारका प्रश्न सोधिन्छ भनेर उदाहरणमा प्रस्तुत गर्न कम्तिमा यो लेखक सक्षम छैन।
तर, जहाँसम्म देशका लागि उदाहरणीय उम्मेदवार छनौटका लागि प्रश्न बनाउने समयमा एउटा संवैधानिक निकायले कतै न कतै यो विषयलाई छनौटको आधार बनाएको हुन्छ। उत्तर जाँचकीले पनि धेरै कुरा उत्तरमा भेट्दछ-जसबाट उम्मेदवारको नैतिक मूल्यको समेत जानकारी पाउन सकोस्।
यदी कसैले देशको अख्तियारप्राप्त व्यक्ति धेरै विद्वान हुनुपर्छ कि इमान्दार र सत्यनिष्ठ भन्ने प्रश्न आएमा सम्भवतः इमान्दार र सत्यनिष्ठतातिर हाम्रो झुकाव बढी हुनेछ। संसार, ज्ञान, बुद्धि र तीक्ष्णताले सञ्चालन गरिरहेको छ। यस्तो प्राविधिक युगमा बुद्धिमानलाई छोडेर इमान्दार र सत्यनिष्ठा भएको उम्मेदवार किन छान्ने भन्ने प्रश्न स्वभाविकै रूपमा उठ्नसक्छ।
यस्तो अवस्थामा के कुरा अन्तिम सत्य हो भने बुद्धिमानी, चलाखी, आदि शब्द एक व्यक्तिको हितको सन्दर्भमा ठीक हुनसक्छ, तर देशको हितको सन्दर्भमा इमान्दारीता, सत्यनिष्ठा र तटस्थता नै बढी उपयोगी र सान्दर्भिक हुन्छ।
आम पाठकले इमान्दारीता र सत्यनिष्ठा भनेको के हो भन्ने बारेमा बुझ्न पनि जरुरी छ। इमान्दार भनेको त्यस्तो व्यक्ति हो - जो आफ्नो मूल्य र निष्ठाबाट विचलित हुँदैन।
उसले समयको पालना गर्छ, कानून तथा ऐन नियमले तोकेको तलब लिन्छ। त्यो बाहेक अन्य प्रकारको रिसवत, नजराना, उपहारमा अन्तर आत्मबाट नै त्याग गर्छ। ऊ समाज वा अरूको नजरमा कतै पनि कमजोर र कामचोर हुँदैन हुन चाहँदैन। उसले देशले अंगिकार गरेको नैतिक मूल्य मान्यतालाई पालन गर्छ। ओहदाको प्रयोग गरेर कुनै तरिकाबाट पनि अन्य प्रकारको लाभ लिँदैन, छलकपट गर्दैन।
इमान्दारले जाति, धर्म, वर्ण, बर्ग, रङ, लिङ्गको आधारमा कसैमाथि भेदभाव गर्दैन, पूर्ण रूपमा कसैप्रति आग्रह पूर्वाग्रह नराखी तटस्थ बस्ने प्रयास गर्छ। यस्तो व्यक्ति राज्यको पदहरूमा छानियोस् भन्ने मनशाय सम्भवतः लोकसेवा आयोग र अन्य निकायको परीक्षामा पनि हुन्छ। प्रश्न तथा परीक्षणमा लोकसेवा आयोगले कहाँनेरबाट प्रवेश गराउँछ भन्ने बुझ्ने उम्मेदवार सहजै यो परीक्षामा छानिने संभावना हचुवाको भरमा उत्तर लेख्नेको भन्दा बढी हुन्छ।
इमान्दारीता माथि पनि मानिसमा जाँचिनुपर्ने अर्को महत्वपूर्ण गुण छ, जसलाई सत्यनिष्ठता अंग्रेजीमा इन्टीग्रेटी भन्ने गरिन्छ। यसको परीक्षण विशेषगरी बढुवाको समयमा गरिन्छ वा गरिनुपर्छ। इमान्दारीता राम्रो ठीकठाक चीज हो। त्योभन्दा एक चरण माथिको निष्ठा खोज्नु पर्यो भने सत्यनिष्ठाको परीक्षण गरिनुपर्छ।
इमान्दार कर्मचारी अरूको नजरमा अरूको अगाडि, समाजको र भीडको अगाडी पूर्णतया: असल देखिन्छ भने सत्यनिष्ठताको चरणमा पुगेको व्यक्ति आफ्नो अगाडि, वा अन्धकार कसैले नदेखेको ठाउँमा पनि पूर्ण कर्तव्यनिष्ठ हुन्छ भने त्यो सत्यनिष्ठता हो।
देशको उच्च पदका लागि बढुवा गर्ने समयमा सत्यनिष्ठता जाँच्ने कुरामा पनि ध्यान दिनुपर्छ। यहाँ पद भन्नाले केबल श्रेणी होइन, जिम्मेवारी पनि हो। गहन जिम्मेवारीको ठाउँमा जहाँ कर्मचारी देशको प्रतिनिधि, अर्को विदेशको प्रतिनिधि छ। घटना ती दुईभन्दा अरू कसैलाई कहिल्यै थाहा हुँदैन।
मानौँ-एउटा दस्तखतले १० मिटर जमिन अर्को देशमा जान सक्छ। त्यसको बदलामा सहमति जनाउने कर्मचारीले करोडौं कमाउन सक्छ र यो कुरा ती २ जना बाहेक अरू कसैलाई कहिल्यै थाहै हुँदैन।
यस्तो धर्म संकटको घडी : जहाँ देश बचाउने कि अलिकति तलमाथि पारेर करोडौं कमाउने जस्तो आएमा; मात्र इमान्दार व्यक्तिको निष्ठा एक पटकका लागि डगमगाउन सक्छ।
तर, निष्ठावान् व्यक्ति यस्तो अवस्थामा पनि विचलित हुँदैन। जे देशको हितमा छ - त्यो निर्णय गरेर घरमा गएर उस्तै परे भोकै सुत्दछ। यो नै हो सत्यनिष्ठता।
इमान्दारीता र निष्ठाको बीचमा केवल पाइलाको फरक हुन्छ। इमान्दारीताका अगाडी बढ्दै गएको अवस्थामा सत्यनिष्ठता भेटिँदै जान्छ।
यसैको बीचमा कर्मचारीको तटस्थता पनि अमूल्य निधि हुन्छ, जसले गर्दा कुनै पनि जाति, धर्म, वर्ण र लिंगमाथि कुनै प्रकारको भेदभाव नगर्ने कर्मचारी छान्नका लागि पनि त्यस्तै प्रकृतिका प्रश्न सोधिनुपर्छ।
इमान्दार, तटस्थ र सत्यनिष्ठामा प्रण भएका व्यक्ति हाम्रो समाजमा छन्, चिन्ने जिम्मेवारी लोकसेवा आयोगको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।