|

सल्यान : बनगाड कुपिण्डे नगरपालिका ११ मा रहेको भेरी निम्न माध्यमिक विद्यालयको दुई कोठे भवनको हावाहुरीले छाना उडाएको एक वर्ष पुग्नै लाग्दा पनि मर्मत हुन सकेको छैन। विद्यालयको छाना मर्मत नहुँदा विद्यार्थीहरू खुला आकाशमा पढ्न बाध्य भएका छन्।
गत वैशाख २८ गते आएका हावाहुरीले विद्यालयको छाना फालेको थियो।

विद्यालय मर्मत गरिदिन नगरपालिकालाई बारम्बार आग्रह गरे पनि बेवास्ता भइरहेको विद्यालयका प्रधानाध्यापक हेमराज ओलीले बताए। भवनको अभाव नहुँदा विद्यार्थीलाई खुला चौर र छाना उडाएको भवनमै राखेर पढाउँदै आएको उनको भनाइ छ। उनले भने,  ‘अब गर्मी समय सुरु भयो दिनभर खुला चौर र छाना नभएको भवनमा राखेर पढाउन सकिँदैन। विद्यालय नजिकैबाट सडक भएकाले सडकको धुलो सबै विद्यालयमै आउँछ।’

विद्यालयको आन्तरिक आम्दानीको स्रोत नभएको र स्थानीय सरकारलाई फाइल पठाउँदा पनि कुनै सुनुवाइ नभको विद्यालयका वलीले बताए। निजी स्रोतका शिक्षकलाई तलब खुवाउन नसकेर कक्षा ८ बाट पाँचसम्म झार्ने योजना बनाएको बताउँदै उनले भने, ‘शिक्षकलाई तलब भत्ता खुवाउन नसकी रहेको अवस्थामा कुन आर्थिक स्रोतले विद्यालयको छाना मर्मत गर्नु?
हावाहुरीले छाना उडाउनेबित्तिकै नगर सरकारलाई जानकारी गराउँदा नगर उप प्रमुख मन्जु यरी इन्जिनियर महेश देवकोटासहितको टोलीले अनुगमन गरी ८ लाख जतिको अनुमानित बजेटको मूल्यांकन गरे पनि कुनै ठाउँबाट बजेटको व्यवस्थापन नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर बुढामगरले बताए।
साना विद्यार्थीहरूको भविष्‍य जोडिएको विद्यालय जस्तो संवेदनशील क्षेत्र एक वर्षदेखि अलपत्र पर्नु निकै दुखको कुरा भएको बुढाको भनाइ छ।

बनगाडकुपिण्डे नगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र रावतले विद्यालय भवन मर्मतका लागि बजेट इस्टिमेट गरी विनियोजनको तयारी भइरहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.