|

काठमाडौं : पशुपतिनाथ मन्दिरमा भक्तजनले अबदेखि क्युआर कोडबाट भेटी चढाउन पाउने भएका छन्। बैंक अफ काठमाडौंसँग सहकार्य गरी मन्दिर परिसरको चार स्थानबाट 'क्युआर कोड' बाट भेटी चढाउन सकिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्‍नान घर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्युआर कोड’मार्फत् भेटी दान गर्न सकिने छ।

शुक्रबार विकास कोष र बैंक अफ काठमाडौं लिमिटेडको पशुपतिनाथ मन्दिर क्षेत्रका चार स्थानमा ‘क्युआर कोड’मार्फत् अनलाइनबाट भेटी दान गर्न सकिने प्रणाली स्थापना गर्नेसम्बन्धी सम्झौता भएको हो।

यसका लागि ती स्थानमा यन्त्रसमेत राखिएको छ। ती स्थानमा राखिएका कोड मोबाइल उपयोग गरी अनलाइन ‘पे सिस्टम’ बाट बैंकमा रहेको पशुपति क्षेत्र विकास कोषका खातामा दान गर्न सकिने कोषका निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए।

उनले भने,' भक्तजनले चाहेको रकम सहजै दान गर्न सक्छन। मन्दिरमा भेटी चढाउन छुट्टै पैसा बोक्नुपर्दैन।' बैंक कार्डको सुविधा भएका सबै भक्तजनले सहजै दान गर्न सक्ने उनको भनाई छ।

पशुपति मन्दिर अहिले बेलुका ५ बजेसम्म खोल्ने गरिएको उनले जानकारी दिए। यसअघि कोरोना भाइरसको जोखिम रहेको भन्दै २ बजेसम्म खोलिएको थियो। उनले भने,' आइतबार वा सोमबारदेखि पुरा समयसम्म मन्दिर खुला गरिन्छ।'

कोरोना महामारीका कारण ९ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुस १ गते बुधबार देखि खोलिएको थियो। मन्दिर खोल्नु अघिल्लो दिन क्षमापूजा गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.