को हुन् फिलिप्स?

|

इलाम : नेपालले औपचारिक रुपमा अन्तर्राष्ट्रिय महिला फुटबलमा सहभागिता जनाउन थालेको ३६ वर्षपछि पहिलो पटक विदेशी प्रशिक्षक पाएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको रुपमा पूर्व अष्ट्रेलियन फुटबलर गेरी फिलिप्सलाई नियुक्त गरेसँगै महिला फुटबलमा विदेशी प्रशिक्षकको प्रवेश भएको हो।

२०१९ जुलाईबाट एक वर्षका लागि नेपालमा टेक्निकल डाइरेक्टरको रुपमा नियुक्त फिलिप्सलाई साफ महिला च्याम्पियनसिप र एएफसी वुमन्स एसियन कप क्वालिफायरलाई लक्षित गर्दै प्रशिक्षकको जिम्मेवारी सुम्पिएको एन्फाले जनाएको छ।  टेक्निकल डाइरेक्टरको सम्झौता अवधि सकिनुअघि उनले नेपाली फुटबलसँगको सम्बन्ध लम्ब्याउन चाहेको बताएका थिए।

मुख्य प्रशिक्षक नियुक्त हुनेबित्तिकै फिलिप्सले नेपाली महिला फुटबल टिमको लागि एसियन कप खेल्ने अवसर रहेको बताएका छन्। ‘हामीसँग महिला फुटबल विकासको धेरै अवसर छन्। महिला लिगपछि नयाँ प्रतिभाहरुको उजागर गर्न सहज भएको छ। हामी अहिले एसियाली वरीयतामा सम्भवत: १५ औँ स्थानमा छौँ। १२ टिमले एसिया कप खेल्नेछन्। वरीयता ११-१२-१३-१४-१५-१६ नजिकै छन्। त्यसकारण हामीसंग पहिलो पटक एसिया कपमा छनौट हुने राम्रो अवसर छ’ उनले भने।

नयाँ मानसिकता योजना, लक्ष्यसहित आगामी महिनाबाट क्याम्प सुरु गर्ने योजना रहेको उनले बताए। विभागीय टोलीबाट खेलाडीहरू छनोट गरेर आगामी जुनसम्म २५-२६ जना हुँदै एसियन कपको लागि २३  जना छनोट हुने उनले सुनाए।

अवसर पाएको खण्डमा महिला फुटबलमा नेपालमा धेरै सम्भावना रहेको फिलिप्सले सुनाए।

सावित्रा भण्डारी चोटग्रस्त भएपछि आफू दुखी भएको उनले सुनाए। ‘उनी नेपालमा महिला सेलिब्रेटी हुन् उनले युरोपका मात्र नभई विश्वका धेरै उच्च तहका प्रतियोगिता खेल्न सक्छिन्।’ फिलिप्सले भने,
‘साम्बा चाँडै निको भएर राष्ट्रिय टोलीमा फर्किएको हेर्न मन छ।’

को हुन् फिलिप्स?

अष्ट्रेलियन सुपर लिग क्लब सिडनी ओलम्पिक्स र ब्रिसबेन स्ट्राइकरसका पूर्व-मिडफिल्डर फिलिप्सले नेपाल आउनुअघि विभिन्न ६ वटा क्लब र २ राष्ट्रिय टोली सम्हालेका छन्। सिड्नी ओलम्पिकमा दुई सिजन प्रशिक्षक रहेको बेला सन् २००२ मा अस्ट्रेलियन लिग जिताएका फिलिप्सले क्विन्सल्यान्ड एकेडेमीबाट प्रशिक्षकको करिअर १९९९ मा सुरु गरेका थिए ।

उनले भियतनामको डा नाङ, मलेसियाको सबाह र नेगेरी सेम्बिलन (पिबिएनएस) तथा फिलिपन्सको डाभाओ एगुइलासको टिम पनि लिगमा सम्हालेका थिए । उनले २००१ मा टोंगा राष्ट्रिय टिमको प्रशिक्षक साथै २०१४ देखि ०१५ सम्म पपुवा न्युगिनीको महिला टिमको प्रशिक्षक भएर काम गरिसकेका छन्।

गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा भारतसँग पराजित भएपछि तत्कालीन प्रशिक्षक हरि खड्काले नैतिकताको जिम्मेवारी भन्दै राष्ट्रिय टोलीको प्रशिक्षकबाट राजीनामा दिएपछि नेपाली महिला फुटबल टोली १ वर्षभन्दा लामो समयदेखि प्रशिक्षकविहीन अवस्थामा थियो।

एएफसीबाट तलब पाउने सर्तमा टेक्निकल डाइरेक्टरको रूपमा नेपाल रहँदा नेपाली फुटबलमा धेरै चुनौती सामना गर्नुपर्ने अवस्था रहेको बताएका थिए।

कोरोना संक्रमण र टेक्निकल डाइरेक्टरको सम्झौता अवधि सम्पन्न भएपछि अष्ट्रेलिया फर्किएर त्यहाँको सञ्‍चारमाध्यम एसबिएस अष्ट्रेलियासँग कुरा गर्दै उनले भनेका थिए, ‘यहाँ सीमित पूर्वाधारहरू छन्। किनकि यो पहाडै पहाडको क्षेत्र हो। हामीसँग तीनवटा राष्ट्रिय प्रतिस्पर्धा छ। 'ए' डिभिजन, 'बी' डिभिजन र 'सी' डिभिजन। ती प्रतिस्पर्धाहरु केबल तीन महिना मात्र चल्छन्। सेना र प्रहरीसंग मात्र आफ्नो मैदान छ प्रत्येक खेलहरु अखिल नेपाल फुटबल संघको मैदानमा खेलिन्छ।’

फिलिप्सले नेपालीहरूको फुटबलमा अत्यधिक लगाव रहे पनि आधारभूत सुविधा, व्यावसायिक वातावरण र प्रगतिको अवसरमा लगानी नगरी संघर्ष गरिरहनु तार्किक हिसाबले निरपेक्ष सपना रहेको बताए।

‘बच्चाहरू सडकमा फुटबल खेल्छन् उनीहरू छतमा फुटबल खेल्छन् उनीहरू कहीँ पनि खेल्छन्।’

उनले नेपालको फुटबल ब्राजिल र फ्रान्सको जस्तै भए पनि प्राविधिक रूपमा फिट्नेस, डाइट र खेलकुद चिकित्साको हिसाबले तुलना गर्दा निक्कै पर रहेको बताएका थिए। नेपाली महिला फुटबलमा अत्यधिक सम्भावना रहेको फिलिप्सले बताएका थिए। ‘यदि यहाँ प्रगतिको कुनै सम्भावना छ भने महिलाहरूको खेलसँग हुन सक्छ वा फुटसल खेलसँग। नेपाली महिला फुटबलरहरू धेरै प्रतिभाशाली छन् उनीहरूले केही सफलता पनि हात पारेका छन्।’

फिलिप्सको यो अनुभव नेपाली महिला फुटबलको लागि स्तरवृद्धि गर्ने अवसर पनि हो। 'मेरो प्रमुख लक्ष्य भनेकै महिला टोलीको स्तरवृद्धि गर्नु हो र अर्कै उचाइमा पुर्‍याउने पनि। यो मैले चाहेको काम पनि थियो। आज त्यो अवसर जुरेको छ। यसलाई म निकै जिम्मेवारीपूर्वक निभाउने छु।'

महिला लिगबाट स्तरीय खेलाडीहरू नेपाली फुटबलले पाएको फिलिप्सले बताए। 'महिला लिगमा धेरै युवा र स्तरीय खेलाडी देखिन्थे त्यो नेपाली राष्ट्रिय टोलीको लागि निकै सकारात्मक कुरा हो। सानो उमेरमै फुटबल खेलेपछि खेलाडीहरूले खेल्न सक्ने उमेरसम्म फुटबलबाट टाढा रहनु पर्दैन' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.